Wednesday, August 8, 2012

निकटता




पत्रकारितामा बढि सुनिने शब्दमा प्रोक्सिमिटी अर्थात निकटता पनि एउटा हो । समाचारको महत्व घटना भएको नजिकका मानिसलाई जति बढि हुन्छ त्यति टाढाकोलाई नहुन सक्छ । त्यसैले नजिकका मिडियाले घटनाका बारेमा सके सम्म डिटेलमा भन्छ । लेख्छ । छाप्छ । अनि पाठक, स्रोता, दर्शकलाई पनि त्यो कुराले छुन्छ । असर पार्छ । चासो जगाउँछ । त्यसैले समाचार बनाउँदा निकटताका कुरा हेरिन्छ । यो चलन विश्व भरिनै प्रयोगमा छ । निकटता समाचारमा मात्र सिमित छैन । यो जनजीवनमा पनि छ ।
म मेरो समुदायको मानिसलाई भेटेँ भने जति नजिकका कुरा गर्न सक्छु अर्को समुदायको बारेमा नभन्न सक्छु । वा सोधे पनि के हुदो रहेछ भन्ने जान्नका लागि सोधेको हुन सक्छु । गएको शनिबार मेरो कामको लिस्ट केही थिएन । हुनत अरु बेला पनि मेरो शनिबार पुरै फुर्सदमा बित्ने दिन हो पुरा छुट्टि ।
तामाङ पत्रकारको भेटघाट र छलफल छ । शुक्रवार फोन गरेर साथीले सुनाए । मिले आउनु । केही कुरा बुझिएला । नयाँ कुरा सिकिएला । नयाँ साथीसँग चिनजान होला । हो सुत्नु भन्दा यो बेश । मलाई पनि लाग्यो । निकटताले काम गर्यो ।
कार्यक्रम गर्ने हल झन्डै भरिएको थियो । पचास देखि पचहत्तरजना अड्थ्यो होला हलमा । ओहो कति धेरै काठमाडौ भित्रै काम गर्ने तामाङ पत्रकार । हुन त काठमाडौ भित्र झन्डै तीन दर्जन रेडियो घन्किएका छन् । एक दर्जन पुग नपुग टेलीभिजन छन् । ठूला र झोलामा अफिस भएका पत्रिकाको संख्या झन ठूलो छ । जे भए पनि तामाङ पत्रकार धेरै थिए ।
बुझ्दै जाँदा थाहा भयो । त्यहाँ धेरै ठूला मिडियोका ठूला तामाङ पत्रकार थिएनन् । त्यसो भनेर उपस्थित भएकाहरुको मान मर्दन गर्न खोजेको चाहि होइन । उपस्थित भएका धेरै तन्नेरी थिए । शायद ती पत्रकारिताका उल्टो पिरामिड र फाइभ डब्लु वान एचको प्रक्टिस भर्खर सुरु गर्दै थिए । एबिसीका बारेमा सिक्दै थिए । जेहोस ठूला मिडियाका ठूला तामाङ पत्रकार थिएनन् ।
तीनलाई लागेको हुदो हो । कहाँको म प्रमोशन भैसकेको पत्रकार अनि कहाँको भर्खर न्युज भनेको न्युको बहुवचन वा चारै तिर पुर्ब पश्चिम उतर दक्षिणमा भएका घटनालाई लिएर लेखेने कुरा अर्थात न्युज भन्ने कुरा सिक्दै गरेको तामाङ पत्रकार । कतिले अनुभवकै आधारमा जात नै फरक अनुभव गरेको पनि हुँदो हो । यो कार्यक्रम हेरेपछि मलाई धेरै पहिले सुनेको कथाको याद आयो ।
कुनै जंगलको कथा । जंगलमा बाघको परिवार थियो । के भएर हो कुन्नी बाघनीले बच्चा जन्माउने बितिकै बिछोडिन पुग्यो । कतैबाट चर्दै त्यही ठाउँमा बाख्राका बथान आइपुगे । पहिले त बाघको बच्चा डमरुलाई देखेर ती डराए । फेरी बिचारा डमरु भोक र हतासीले झन्नै सास जाने अबस्था देखेर बाख्राहरुले सहयोग गरे । बिस्तारै डमरु हुर्कियो । उसले शिकार गर्न सिकेन घाँस खान सिक्यो । बाँख्रा जसरी जान्छ खान्छ हिड्छ त्यही सिक्यो । डमरु बाघ बन्दै गए पनि उसले आफु बाँघ हुँ भन्ने बिर्सियो ।
धेरै पछि कतैबाट अर्को हुल बाघ बाख्राको छेउमा आइपुग्यो । बाख्राको बथानमा भएको बाघ पनि बाख्रासँगै भाग्यो । त्यो देखेर बाघहरु छक्क परे । अनि कुनै छिटो दौडिने बाघले उसलाई समात्यो । बाख्रे बाघ डरायो । अतालियो । तर समाउने बाघले उसलाई भन्यो उ बाख्रा होइन बाघ हो । तर बाख्रे बाघलाई यो कुरा पत्यार लागेन । अनि नजिकैको सफा पानीमा लगेर दुबैले अनुहार हेरे । हो ठ्याक्कै अनुहार उस्तै देखियो । बल्ल बाख्रे बाघलाई लाग्यो उ साँच्चैको बाघ हो । अनि उ गर्जियो ।
मुलधारमा पत्रकारिता गर्ने धेरै जनजाति पत्रकारले पनि आफ्नो समुदायका कुरा लेख्न, भन्न र बोल्न अहिले सम्म सिकेका छैनन् । तिनलाई मुलधारको धङघङी छ । जस्तो बाघलाई बाख्रा हुँ भन्नेथ्यो । त्यसैले तिनलाई आफ्नो समुदायका कुरा भन्न पर्यो भने लाज लाग्छ । आफ्नो समुदायका मानिससँग भेट गर्यो भने मान घटेको अनुभव गर्छन् ।
बहुलबादी समाज र पत्रकारिताका कुरा हामीले गरेको धेरै भयो । तर त्यसको स्वाभाबिक प्राक्टिस भएको छैन । अहिले सम्म बिभिन्न बिटका कुरा गरे पनि जनजातिका बिट भर्खर सुरु भएको होला । कतिमा त त्यो छैन पनि होला । भएकामा दिइएका बिटबाट कति समाचार, फिचर, बिचार आउँदो हो ?
दोलखाको तामाङको बारेमा म जति जान्छु अर्को समुदायका मानिसले जान्ने संभावना कम हुन्छ । त्यसैले दोलखाको समुदायका बारेमा मैले जति लेखुला, भनुला, अनुभव गरौला वा खोजौला त्यो अरु समुदायकाले नगर्न सक्छ । त्यसैले यस्तो बिषयमा लेख्न, भन्न, खोज्न पर्यो भने म उपयुक्त हुन सक्छु । त्यसैले आफ्नो जात र जातिका बारेमा लेख्ने, भन्ने, खोज्ने जिम्मा त्यही समुदायका पत्रकारलाई दिए राम्रो हुने पक्का छ । तर अहिले सम्म ठूला मिडियाले त्यसरी जिम्मेवारी दिने आँट पनि गरेका छैनन् । यदि कसैले ब्यतिगत प्रयास नै त्यस्तो प्रयास गर्यो भने पनि त्यो पत्रकार बिग्रियो । त्यो जातिय भयो । त्यसको मान मनितो मुलधारबाट छुट्यिो । अनि पाखे भो । त्यसैले पनि मुलधारका धेरैलाई मनमा केही गरौ भन्ने भएर पनि लेख्ने बोल्ने र भन्ने साहस नभएको हुनु पर्छ ।
हाम्रो समाज धेरै जातजाती, धर्म संस्कृति बोकेको छ भनिन्छ । तर कुनै पनि जनजातिका समाचार फिचर भएर आएको देखिन्न । कतिले लेखे पनि होलान् डेक्सबाट काटिएर पाँच सय शब्द पचासमा झरेको हुनसक्छ । जनजाति पत्रकारले लेख्दा हाति हुने छापिदा, भनिदा, देखाइदा मुसा भएर आउने पनि हुँदो हो । अनि अलि चुस्त दुरुस्त आकर्षक बनाउन नसकिएको पनि हुँदो हो । अरु जातिले नै राम्रो स्टोरी बनाउने भए किन अहिले सम्म आएका छैनन् ? फ्रिमा भोलिन्टियर काम गर्ने यत्रा धेरै पत्रकार मोफेसल र काठमाडौमा छन् । तीनलाई पैसा नदिए पनि हिसाव दिए चित बुझाउँछन् । अनि किन गर्न नसकेको त संस्कृति र संस्कारको साँच्चैको डेप्थ रिपोर्टिङ । किन निस्किन नसकेको इस्यु नै इस्यु भएर पनि कुनै दमदार स्टोरी ?
तामाङ पत्रकारको जमात देखेर मलाई लागेको हो धेरै त खल्तिका पैसाले चिया खाएर रिर्पोटिङ गर्दा हुन् । पेटलाई पेटीले कसेर भोक नलागेको अनुभुति गरेर हिड्दा हुन् । तीनलाई आफ्नो समाजका केही लेख्न, बोल्न, देखाउन मन  हुँदो हो । त्यो गर्ने सिप कति होला ? त्यस्ता सिपलाई तिर्खान जान्ने आफ्ना समुदायका ठूला पत्रकारले केही सिकाए राम्रै गर्दा हुन् । राम्रै स्टोरी बोक्दा हुन् । राम्रै इस्यु बनाउँदा हुन् । त्यसो भए साँच्चैको बहुआयमिक समाजको झल्को देखिदो हो । समाबेशी पत्रकारिता पनि सुरु हुदो हो । अनि मुलधार र फरक धारको सिमाना मेटिदो हो । हिजो सम्म चेलीबेटी मात्रै बेचेर बस्छ भन्ने तामाङ गाउँको डम्फुको कथा आउँदो हो । ताम्वाको जिन्दगीको गतिलो स्टोरी बन्दो हो ।
तर अहिले सम्म भएको छैन । जान्ने तामाङ पत्रकार आफुलाई बाख्रा नै सम्झि बसेका छन् । तर समाज सधै उस्तै पाराको हुदैन । धेरै थोरै त परिवर्तन भैरहेकै हुन्छ । हिजो सम्म बिचारा भनिने समुदाय अहिले हामी बिचारा मात्र होइनौ भन्ने भएका छन् । उदाहरण तामाङ समुदाय आफै हो ।
अहिले तामाङ पत्रकारको संख्या निक्कै छ । संख्यात्मकसंगै गुणात्मक संख्या पनि बढ्ने नै भयो । आफ्नो समुदायका कुरा अरु समुदायमा बुझाउने शैली पनि बिस्तारै बिकास हुन्छ नै । त्यसका लागि सबैले सहयोग र होस्टेमा हैसे गर्नु पर्छ । बिशेष गरेर जो तामाङ समुदायबाट मुलधारे पत्रकारिता गरेका छन् । जस्को लेखाई दमदार छ वर्ड इकोनोमी राम्रो छ । जस्ले अरु समुदायकालाई तामाङ र तामाङ दुनिया बुझाउन सक्छन् । त्यसो गरे सार्थक निकटता पनि देखिदो हो ।

Saturday, July 28, 2012

होच्याउने शैली



हिजो आजका कुरा । कुनै बेलाको चर्चित टेलीभिजन कार्यक्रम । अहिले यो रेटिङमा कता पर्छ थाछैन । जेहोस फेरी सुरु भएको छ । सन्तोष पन्तको निर्देशन रहने यो कार्यक्रम २७ जुन २०१२ मा भएको अंकको बारेमा केही भन्न मन लाग्यो । कार्यक्रमको कथा दुई समुदाय बिचमा हुने अन्तरजातिय बिबाहामा छ ।
शेर्पाको छोरीलाई क्षेत्रीको छोरोले मन पराउँछ । कति भने ज्यान दिन तयार छ । क्षेत्री समाजलाई सहयोग गर्नका लागि केही शेर्पा तयार छन् । त्यसले दुबै परिवार मागी बिबाह गर्ने पक्का भएको छ । कथाको ट्युइस्ट सुरु हुन्छ एउटा शेर्पा केटोबाट । जो केटीको नातामा दाइ हुन्छ । उ स्वपहिचानको कुरा गर्छ । आफ्ना साथीभाईलाई शेर्पाजातिको बारेमा भन्छ । उ क्षेत्रीलाई मन पराउँदैन । त्यो पात्र बिस्तारै गिर्दै जान्छ । उ साइनोमा केटीको दाइ पर्छ । कति सम्म भने शेर्पाको छोरी मनपराउने केटालाई अपहरण गराउँछ ।
अपहरणकारी शेर्पा नै छन् । ती पढ्न नसकेर कुट्न थालेका अर्थात थगुण्डागर्दीमा लागेको भनिन्छ । कथा बढ्दै जाँदा डरलाग्दो गरि हिजोआजको कुरा चल्छ । सिधै उनी भन्छन् तिमीले पैसा बिदेशीको पैसा खाएकोले पहिचानको कुरा गरेका हौ । तिमी शेर्पाहरु बिदेशीको पैसाको लागि त तुरुन्त बिहे गर्छौ हो कि होइन ? कार्यक्रममा अरु शेर्पा पात्र छन् । त्यसको प्रयोग शेर्पालाई नै मुर्ख, अबुझ, स्वाठ भन्नका लागि तयार पारिएको छ । त्यसको अर्थ हुन्छ क्षेत्री बाहुन समुदायका पात्र महान हुन् । ती बुझकी छन् । संसार चिनेका छन् । पढेलेखेका छन् ।
उनको यो कार्यक्रमको उदेश्य के हो त्यो थाहा भएन । तर शायद उनले दुई समुदाय बिचमा सुमधुर समन्धका कुरा देखाउन खोजेका होलान् । उनले जसरी पात्रहरु बनाएका छन् । कथाको उठान जसरी हुन्छ । त्यो आफैमा संकुचित सोचबाट निक्लिएको छ ।
जति सुपात्र राम्रा छन् ति सबै खस क्षेत्री छन् । जति कुपात्र छन् ति सबै शेर्पा छन् । अपहरण गर्छ शेर्पाले । डलर खान्छ शेर्पाले । पढ्न सक्दैन शेर्पाले । हुँदा हुँदा सामाजिक समन्ध खलल पुर्याउँछ शेर्पाले । यस्तो कथा बनाएर पन्तले कस्तो सामाजिक सुसम्बन्धको कुरा गरेका हुन् ? कस्तो सामाजिक सन्देश दिन खोजेका हुन् ? यो कार्यक्रमले सामाजिक समन्ध सुमधुर बनाउँछ कि बिर्गाछ ? नेपालमा बिदेशी पैसा बिना चल्ने संस्था र मान्छे खोज्न दिउसै टुकी बाल्न पर्दो हो । देश नै पुरै अर्काको अनुदानमा चलेको छ । त्यस्ता देशको के क्षेत्री, के बाहुन, के जनजाती ? तंलै पैसा खाइस हेर म चोखो छु भन्नु आफ्नो आङ्को भैसी नदेख्ने शैली हो ।
धेरैलाई थाहा हुन पर्ने हो नेपालमा चल्ने जति संघसंस्था छन् कोही न कोहीले अनुदान दिएका छन् । कस्ले कति लिएको छ त्यो फरक होला । कामको शैली फरक होला नत्र भने सबैले पाएकै छन् । अनि त्यसो भए जनजातीले पैसा ल्याएर पहिचानको कुरा गर्यो भन्नु कहाँ सम्मको बुझाइ हो ।
लामो समय देखि कला क्षेत्रमा भएका पन्तलाई थाहा हुनु पर्ने हो । कुपात्र जति सबै जनजाति अर्थात शेर्पा मात्रै हुदैनन् । बिहेकै कुरा गर्ने हो भने क्षेत्री समाजमा जति संकुचित रुपमा हेरिन्छ शेर्पाकोमा छैन । शेर्पाका छोराछोरी मन मिल्यो भने ल्याउँछन जान्छन् । लभ म्यारिज यो समुदायको लागि नौलो होइन । बरु क्षेत्री बाहुनका छोरीछोरीको लागि यो कम्तिमा पनि शेर्पालाई भन्दा नौलो हो । बिहेको कुरामा जति शेर्पा समुदायमा छुट छ त्यति अहिले पनि क्षेत्री बाहुनमा छैन ।
अर्को कुरा पहिचानको । अहिले सबैले यो बिषयमा छलफल र चर्चा गरेका छन् । तीनले पनि नेपाल बन्द गराएका हुन् । हिजो सम्म आदिबासी जनजाति भन्दा नाक खुम्च्याउनेहरु तरबार बोकेर पहिले कहिल्यै नलाएको दौरासुरुवाल ढल्काएर हिडेकै हुन् । अनि दोचा र बख्खु लगाउनेलाई गाली किन ?
कुपात्र र सुपात्र जुनसुकै सामाजमा छ । हुन्छन् । खाली हेर्ने नजर मात्र राम्रो हुन पर्यो । कि पन्त जीले भन्न सक्नु पर्यो म क्षत्री समाज वा बाहुन समाजको पात्र कलाकार हुँ । अरु समाजको बाल मलाई ।
मलाई लाग्छ पन्त जीलाई धेरै चोटी हङकङ बोलाउने राई थिए होलान् अमेरिका बोलाउने शेर्पा थिए होलान् युरोप बोलाउने मगर थिए होलान् । ती सुपात्र थिए कि सबै कुपात्र ? तीनले गरेको मान मनितो अनि दौडधुप गरेर उठाएको आनासुकी पनि खल्तिमा परेको हुन पर्ने हो ।
नेपालमा नकारात्मक पात्र चाहियो भने थेप्चो नाक, चिम्सो आँखा, गालो अनुहार, गठिलो शरीर चाहिन्छ अर्थात जानजति चाहिन्छ । तर समाजमा हेर्यो भने देखि नकारात्मक काम गर्नेमा लामो नाक, ठूलो आँखा, टन्न दारी जुङ्गा भएको लाम्चो अनुहार भएका पनि कम छैनन् । यदि त्यसो हो भने किन पर्दामा बिभेद त ?
पर्दाकै कुरा सापाट लिने हो भने हो जनजातिले धेरै पढ्न सकेनन् । धेरै निर्देशक बन्न सकेनन् । आफ्ना कुरा भन्न सक्ने ठाउँमा भएनन् । त्यसैले अरुले दिन चियाबिस्कुटमा अभिनय गर्यो आफैलाई गाली गर्यो ।
सभ्य र सुसंस्कार वाला समाज त्यही बेला बन्छ जब सबैले सबैको सम्मान गर्छन । कोही माथी या तल हुदैन । दोचा बख्खु लाए पनि दौरा सुरुवाल लाए पनि सम्मान र इज्जत उस्तै हुन्छ । गनेमानेकै कलाकारमा पर्ने पन्तले झै एउटा समुदायको बेइज्जेत गरेर समाज सुमधुर पक्कै बन्दैन । कम्तिमा यसमा पक्का भए हुन्छ ।

Wednesday, July 25, 2012

काम


कतै सुनेको थिएँ जागिर भनेको जाने र गिरने दुई शब्दबाट बनेको । यसमा केही सत्यता सत्यता छ तर पुरै होइन । खल्तिमा लक्कु अर्थात आनासुकि नभएपछि खानै पर्छ भन्छन् यो । जवानी भएकालाई त केमा जागिर छ भन्ने कुरैले कस्ती कन्या भन्ने सम्म जुराउँछ रे । यो नखाँदा जति सजिलो हुन्छ खाए पछि भने गा¥हो । बाले काठमाडौ छिर्दा सेतो टिका र खादा लगाइदिदै भनेका थिए राम्रा बिषय पढ्नु । म जब गाउँबाट सहर पसे मनमा केही कुरा थिएन जो साँच्चै सहरमा बसेर पुरा गरौ । तर एउटा कुरा भने मलाई सधै लाग्ने गरेको थियो म पत्रकार बन्न पाए । त्यही भएर मिलाएर मैले त्यही बिषयमा भर्ना गरेँ । जब यो कुरा बालाई कसैले सुनाइ दिएका थिए । तिनी रिसाका थिए रे । छोरोले राम्रो केही पढ्ला भनेको त यो नामै नसुनेको पत्रकार । ती छक्क परेछन् । म पत्रकार हुन्छु भन्ने बनाउने काम भने पानसोनिक रेडियोले गरेको थियो । त्यो बेला मेरा गाँउमा बिजुली बति थिएन । नत पत्रपत्रिका । मनोरञ्जनको एकमात्र साधन रेडियो थियो । त्यो पनि रेडियो नेपाल । त्यही रेडियो हो मलाई पत्रकार बन्न हौस्याउने । म कति रडियो सुन्थे भने त्यो रेडियोमा बज्ने सबै कार्यक्रम कुन बेला, कति खेर, कति मिनेटमा बज्छ थाहा पाउँथे । अरु त अरु म कति बज्यो समेत रेडियो सुनेरै भन्दिन्थे । त्यो बेला रेडियोमा खुबै बज्थे नारायण गोपाल ,बच्चु कैलास, प्रेमध्वज प्रधान देखि लालबहादुर खाती , प्रेमराजा महत,बमबहादुर कार्की । ती सबै म पालै पालो जे आयो त्यही सुन्थे । मेरा बा भन्थे लोक गीत र लोक सेलो आए बजाउने नत्र होइन बुझिस । म बाको अघि बुझे भन्थे । तर मलाई आधुनिक ,पप जे भएपनि चल्ने बानी थियो । त्यसैले म बा नभाको बेलामा बजाइदिन्थे जोडले । बाले रेडियो नवजा भन्नुको पनि कारण थियो । एउटा त म बिद्यार्थी । मैले रेडियो मात्र सुने भने बाको छोरोलाई धेरै पढाउने लक्ष्य फेल खान्थ्यो । दोस्रो कारण झन तगडा थियो । हाम्रो घरमा भएको पानासोनिक रेडियोलाई महिनाको एक जोर नयाँ र अर्को जोर पुरानो टाइगर ब्याट्रि चाहिन्थ्यो । त्यो भनेको कम्तिमा महिनामा ३० रुपैया अर्थात एक दिन रेडियो मैले घन्काएँ भने बाको खल्तिको एक रुपैया चिलिम ।  अनि त बाको पारो किन नतातोस । तर मेरा बा सधै घरका घरै बस्न भ्याउदैनथे । अनि पानसोनिक मेरै झै थियो । घन्काउने बजाउने सबै मेरै काम । आमा त मैले बजाएको सुन्नु हुन्थ्यो । मैले धेरै चर्को बजाउदा मात्र झर्किदै भन्नुहुन्थ्यो यसले गरिखादैन काम कुरो एकातिर कुम्लो बोकी ठीमी तिर । रेडियो घरमा आउँदाको कुरो पनि रमाइलो लाग्छ सम्झदा । एक दिन इन्डियाको लाउरेले गज्जवको ठूलो बाकस काँघमा हालेर हाम्रो घर गाउँलाई नै थर्काउँदै आए । हाम्रो घर मुल बाटैमा छ । अनि हजुर बा भेगकै नम्बरी कर्मी । राम्रो काठको केही सामान बनाउन प¥यो कि मानिसहरु हाम्रो घरको आँगनमा आउँथे र भन्थे लौ घ्याङाली बाजे यस्तो खालको कुरा बनाइदिन प¥यो । यति हातको यस्तो बुट्टाको । जस्लाई जस्तो चाहिने हो त्यस्तै खालको सामान । हजुवा तिनका माग अनुसारका सामान बनाउथे । ती बनाउन अराउने मानिस आउँथे हेर्थे र आफूले बनाएको भन्दा पनि राम्रो सामान बनेको देखेर खुशी हुदै भन्थे त्यसै भन्दैन रैछन् है मान्छेले घ्याङाली कर्मी भनेर । ती हजुर बा काठको काममा लागेपछि दुनिया बिर्सिएकी झै लागि रहन्थे । त्यो लाउरे आएको दिन हजुरबाको खासै काम थिएन क्यारै उहाँ त्यतिकै बस्नु भएको थियो । लाउरेले हजुरबाको नाम लिदै हाम्रो घर आयो । हजुरवाले खै केके कुरा गरे कुन्नि ती लाउरे त्यो दिन हाम्रैमा बस्ने भए । बेलुकाको लागि हिमालमा घाम नपुग्दै रातो भाले ढालियो । अनि अरु कुरा धेरै बनाए । मलार्ई पनि खुब रमााइलो लाग्यो । उनले नयाँ कुरा बोकेका थिए । गाउँमा पुजाको जाग्रम बसेर दोहोरी घन्किएझै गीत घन्किन्थ्यो । नाम पनि भने लाहुरेले जापनिज जम्बो क्यासेट । लाउरेले अनेक गीत बजाउँथ्यो । म केही बुझ्दैनथे । शायद हाम्रो घरमा भएका कसैले पनि बुझेनन् । हजुरवाले त भन्नु नै भयो बाबु नेपाली गीत छैनन् ? लाउरेसँग नेपाली गीत पनि रहेछ । उस्ले बजायो लाउरेको रेलिमाई फेसनै राम्रो ....... । घरमा भएका सबै जना खुशी भए । मैले पनि बल्ल गीत बुझे । भाले भोज सकियो । भोलिपल्ट हजुरबाले भाका मिलाएर क्यासेट छोड्नका लागि कुरा गरे । लाउरेले मानेनन् । अर्को पटक बिदामा आउँदा ल्याउने कुरा गरे । हजुवाको भाले भोज बिफल भो । त्यसको एक बर्ष जति पछि होला ति लाउरे फेरी आए । पहिले जस्तो उसँग ठूलो क्यासेट थिएन । सानो लुगाले सिलाएको झोलामा हालेको पानसोनिक थियो । उसले हजुरबालाई दिएको बचन पुरा गरे । हजुरबाको मन अलि खिन्न भएपनि फेरी भाले भोज भो । रेडियोमा समाचार आयो, गीत आयो, अनि अरु के के हो के के । सबै हामीले बुझ्ने भाषामा । मलाई पहिलेको लाहुरेले नदिएको क्यासेट भन्दा यो राम्रो लाग्यो । बोक्न पनि सजिलै सकिने । त्यसपछि सुरु भयो रेडियो र मेरो समन्ध । केही दिन हजुरबाले रेडियो कसैलाई छुन दिनु भएन । म हजुरबा नभएको मौकामा खोल्ने बन्द गर्ने र बोकेर हिड्ने गर्थे । खै के भएर हो हजुर बालाई रेडियोले तानेन । त्यसपछि बाले त्यसको हेरबिचार गर्न कर लाग्यो । अनि त मेरो अधिकारै भो चलाउने । रेडियोको मिटर हुन्थ्यो हातैले घुमाउने । त्यो खै के भएर हो बज्दै जाँदा चल्थ्यो कि के हो स्या आउँथ्यो । त्यसलाई मिलाउने सिप मेराबाको भन्दा मेरो बढि थियो । पहिले पहिले मलाई विस्वास नगरेका बाले आफै मिटर घुमाउथे । उनले धेरै चोटी घुमाउदा पनि स्याका स्या भएपछि तिनले यो काम मलाई अह्राए । मैले मिटर बज्ने ठाँउ कन्ठै गरे । काठमाडौ क्षेत्रियप्रशारण कतिमा ,पोखराको कतिमा, सुर्खेतको कतिमा अनि कति बजे । त्यसपछि बाले रेडियोको जिम्मा मलाई नै दिए । एक दिन बाले रिसको झोकमा भने तँ यसरी नै रेडियोमा झुन्डि रहिस भने के बन्लास खै ? मैले भन्दिए म रेडियोमा काम गर्छु यसरी नै बोल्नेमा । बाले मेरो कुरा पत्याएनन् । गाउँमै थाहा थियो पत्रकारिता पढाइ ग¥यो भने रेडियोमा बोल्न पाइन्छ । पढाइ आरआरमा हुन्छ । पढेको धेरै समय मेरो रेडियोमा बोल्ने सपना सपनानै रह्यो । पत्रकारिताको कुरा हुन्थ्यो । रेडियोको इतिहासको हुन्थ्यो । तर कसरी रेडियोमा बोलिन्छ कसरी रेडियो नेपालमा पुगिन्छ । कुने गेट सजिलो हो कहिल्यै भनेन । तैपनि कुनै न कुनै दिन आउला भनेर मैले हरेसै भने खाइन । त्यस बिचमा रेडियोमा बोल्ने प्रयास नै नगरेको भने होइन । कोठामा रेडियो छैदैथ्यो । मन पर्ने रडियो कर्मीको शैलीमा आफ्नो बोली बनाउने प्रयास भो । कार्यक्रममा बोल्दै गर्दा मेरो पनि उसको झै स्वर मिले जस्तो लाग्थ्यो । तर साथीसँगीलाई सुनाउन भने लाज । बोल्दा पनि मेरो शुद्धाशुद्धि राम्रो थिएन । मेरो रेडियोमा बोल्छु भन्ने सपना झन्डै बिलाउदै गएको । त्यस्तैमा काठमाडौको एउटा एफएममा काम पाइएला जस्तो भो बेतलबी । मेरो भागमा एउटा कार्यक्रम हप्ता भरिमा । बोल्नको लागि सिँहदरबारको स्टिुडियो जानु पर्ने । रेडियोबाट बोल्न पाउने कुराले मात्रै पनि झन्डै हर्टफेल । कार्यक्रम रेर्कडेड थियो ।स्टुडियो गज्जबको थियो । भित्र बोलेको बाहिर नसुनिने अनि बाहिर बोलेको भित्र । हात चलाएको हाँसेको सबै देखिने । बिचमा सिसा राखिएको थियो । त्यही सिसाबाट टेक्निसियनले भित्र बोल्नेले दिएको इसराको गीत बजाउँथे, बिज्ञापन बजाउँथे, रिपार्ट बजाउँथे । म दिएको समय भन्दा अलि अघि पुगेको थिएँ । म भन्दा अघिको कार्यक्रम लाइभ थियो । उनले यसरी नै कार्यक्रम गरे । टेक्निसियन हाँसी हासी कार्यक्रम बजाइ रहेका थिए । लाग्यो मज्जैको मान्छे रहेछन् । लाइभ कार्यक्रम सकियो अनि पालो आयो मेरो । टेक्निसियनले बिभिन्न इसारामा भन्ने तरिका सुझाए । ब्रेकको बेला के भन्ने, गीत बजाउने बेलामा के भन्ने, बिज्ञापनको बेलामा के भन्ने । स्टुडियो छिर्ने बित्तिकै मलाई निक्कै असजिलो भयो । टेक्निे सियनले सिकाए एयरफोन लगाउन लगाए । अनि उनले सुरु भनेर इसरा गरेपछि कसरी बोल्ने भनेर पनि भने । उनी बाहिर निक्लिए । स्टुडियोको ढोका लाग्यो । मैले एयरफोन टाउकोमा राखेँ । त्यसको भारी कति भने मैले तामाकोशीबाट दस पाथी चामाल बोके भन्दा पनि बढि । के बोल्ने भनेर स्क्रिट लेखिएको थियो । पहिलो शब्द नमस्कार स्रोता भन्नु पर्ने । टेक्निसियनले बोल्ने इसारा गरे । मेरो मुखबाट नमस्कार भन्ने शब्द निस्किदै निस्केन । साटोमा स्वास्वा र अँअँअँ मात्रै निस्कियो । टेक्निसियनले सम्झाए । नडाराइ भन । यो लाइभ होइन अलिअलि बिग्रे बनाउन मिल्छ । उनी फेरी स्टुडियो बाहिर निस्किए । अनि फेरी सुरु भन्ने इसारा दिए । स्क्रिटको अक्षर यताउती हल्लेझै पो भोे । अनि डर यसरी बढ्यो कि सासै बन्दै होला झै । नमस्कार नै भन्न नसकेपछि मलाई भाउन्न भो । एसि भएको कोठामा मेरो पसिना पसिना जिउभरी ।  धेरै समयमा पनि भन्न नसकेपछि अघि सम्मको टेक्निसियन डन भए । केहो रेडियोमा बोल्छु भनेर मात्रै हुन्छ । बोली पनि चाहिन्छ नी  । अनि उनले आफ्ना हाकिमलाई गाली गरे कस्ता कस्ता मान्छे पठाउँछन् हाकिमहरु पनि । उनको कुराले सिँहदरबार छिर्दा आफै सिँह झै सम्झेको म अब बिरालो भन्दा पनि तल झरे । दाइ अलि प्राक्टिस पुगेन जस्तो छ । म अलि पढेर फेरी रेकर्ड गरुँ है । उनले ठूलो आँखा तरे । मैले हुन्छ भनेको बुझेँ । सोचे साला कत्रो प्राक्टिसथ्यो कोठामा । कस्तो मज्जाले नमस्कार स्रोता भन्न सक्थे । रेडियो नेपालको एकसय एक नम्बरी कार्यक्रमको नक्कल गर्न सक्थे । अरु त अरु हजुरबाले लाउरेबाट भाले भोजमा उपहार पाएको रेडियो काँधमा झुन्ड्याएर गोठाला जाँदा पनि प्राक्टिस गरिएको थियो । यी सब कुरा सम्झेर आउँदा आफै देखेर वाक्क लाग्यो । अनि यत्रो लामो सपना पुरै हुन लागेर फेरी हराउन लागेकोमा पछुतो पनि । मनमनै सोचे हुन्न केटा यसरी त कम्मर कस्नु पर्छ । रिसाएर डन भएका टेक्निसियनलाई सानो स्वरले सोधे सर बाथरुम कता छ ? अघि दाइ भनेको उनलाई सरमा प्रमोशन गरे तर उनी बोलेनन् । आँखैले इसारा गरे स्टुडियो बाहिर । बाथरुममा पसेर मुख धाएँ । नयाँ जोसले हातमा भएको स्क्रिट पढेँ । खरर गयो । अघि स्टुडियो भित्र यसरी गाको भए । फेरी दोहो¥याएँ । फेरी नअट्की नै खरर गयो । अलि जोस बढ्यो । अनि स्टुडियोमा छिरेँ ।  टेक्निसियनले डाइलग मारे के हो भाइ पिसावै आयो कि के ? मैले केही बोलिन । उनले फेरी स्टुडियोमा छिर्न र बोल्न भने । अनि यदि यसमा बिग्रेमा आफुले केही गर्न नसक्ने कुरा गरे । भित्र छिरेर मैले पनि खरर पढेँ । उनी छक्क परे । आधा घन्टाको कार्यक्रम बोल्न पर्ने जम्मा जम्मी थियो होला दस बाह्रा मिनेट । एक दुई ठाँउमा बिग्रियो । मैले दोहो¥याएँ । भएको हातको स्क्रिप्ट भ्याए पछि बाहिर निक्लिएँ । अघिको डन टेक्निसियन खुशी भएछन् । स्वर त राम्रो रैछनी भाइ बोल्ड । पहिले चाही किन हतासिएको त । पहिले पनि कतै काम गरेका थियौ कि के हो ? त्यसपछि सुरु भएको पत्रकारिताको जागिर अहिले सम्म जारि छ फरक यति हो कहिले कता कहिले कता । अनि गालि गर्ने मानिसहरु फेरिएका छन् कतै सम्पादक कतै प्रेसका साहुजी ।

Monday, July 23, 2012

ठमेल


मस्त मस्त अरु निदाएको बेला
रंगीन रात बिताउदै छ ठमेल । 


होस हराएर केही भुइमा खोजेझै 
हराइरहन्छ धन्टौ मान्छेहरु 
अनि 
काइलीको भट्टीमा 
सुटुक्क कसैलाई सुइको नदिइ
दुई बोतल रित्याएर 
फेरी रेडलेवलको 
एक पेग लिन हुलका हुल साथीलाई सुनाएर  
दिउसो छोराको महिना फि नतिरी सोजिन्छन् ठमेल । 

एक पेग मस्त मातिन्छन् 
अनि बाहना हुन्छ टन्न खाएको 
भुल्छन् काइलीका भट्टीहरु 
भुलाउँछ ठमेलले । 


प्रत्येक इभहरुमा 
भुइमा जवनी छरिन्छ 
टिप्नलाई 
रुपैया,डलर,युरो,भारु, डिनार, रियाल, युयान
येन सब चल्छ सब । 


यहाँ कसरी कमाएको कुरा हुदैन
पसिना बगाए पनि रगत छदाए पनि । 
तिमीसँग छ भने सबथोक छ 
मसाजका तरिका छन् मसाज गर्नेका बिकल्प छन् 
बस्ने कोठा देखि चुठ्ने भाँडा सम्म । 


खानेका तरिका खानाका परिकार
अनेक छन् अनेक 
नबोलिने भाषा छैन
नपाक्ने परिकार पनि
यो ठमेल हो ठमेल । 


अन्त रात पर्दा 
यहाँ उज्यालो हुन्छ
अन्त गर्ने नहुने कुरा यहाँ सजिलै हुन्छ । 


हर गल्लि र कुनामा
नक्कल हुन्छ नक्कल 
छेउमै भएको असन खुइलिएर भत्किनै लागेको बेला
अझ तन्नेरी झै बसिरहेको ठमेल 
फुलेको कपाल ठाडो पारेर 
रिक्की मार्टन शैलीमा 
चाउरिएको छालामा 
जबरजस्त तन्काउने कस्मेटिक दलेर । 


मस्त मस्त अरु निदाएको बेला
रंगीन रात बिताउदै छ ठमेल । 

Wednesday, July 18, 2012

अटो




अटोमा केही लेख्दिन्छौ । दस कक्षाको अन्तिम भएको बेला तिर प्रत्येक दिन साथीहरुले एउटै कुरा दोहोर्याउन थाले । त्यो भन्दा पहिले अटो भन्ने हाम्रो बिद्यालयको लागि नयाँ थियो । एकदम नयाँ । एकाएक सबै जसो साथीले अटो किने बनाए । पैसा भएको साथीहरुले सदरमुकाम जाँदा रेडिमेड अटो किने । त्यसमा फोटो टास्ने ठाँउ हुन्थ्यो । रुचि लेख्ने कुरा हुन्थ्यो । मन पर्ने फिल्म हिरो हिराइन, गीतसंगीत सबै कुरा लेख्न मिल्थ्यो । त्यस्तो अटो किन्न त्यो बेला एक थान गैडा चाहिन्थ्यो । अझ राम्रैमा आँखा पर्यो भने दुईथान गैडा पनि चाहिन सक्थ्यो । त्यसैले यो रेडिमेट अटो धेरै साथीको लागि सजिलो भएन । बिकल्पमा आफैले त्यस्ता अटो तयार गर्ने सजिलो उपाय थियो । त्यो बेला बोक्लो कभर भएको इगलछाप कापी बिस रुपैयामा पाइन्थ्यो । त्यसलाई साथीहरुले फोटो टास्ने ठाउँ बनाए, रुचि र गीतसंगीतका कुरा लेख्ने मिल्ने बनाए । आउनेहरुले गुलाफ, कमल जस्ता फूल फुलाए । हिरो हिराइनका बारेमा लेख्न मिल्ने बनाए । अनि रेडिमेड अटोलाई माथ ख्याउने गरि आफैले सस्तो र सजिलै अटो बनाए ।
अटोमा राजेश हमाल हुन्थे । उनको रामकृष्ण, एक नम्बरको पाखे, अल्लारे, सिमाना र अरु हुन्थे । राजेशलाई साथ दिन जल शाह, करिष्मा मानन्धर, मेलिना मानन्धर, जस्ता हिराइनका ताती हुन्थ्यो । यस्ता हिरो हिराइन एक रुपैयामा किन्न पाइन्थ्यो । जति बढि टास्यो त्यति राम्रो ।
आफैले बनाएको अटो आफ्नो रुची अनुसार बन्यो । रंगीचंगी साइनपेनले अक्षर मिलाएर लेख्यो । कतै रातो कतै हरियो कतै निलो हेर्दै पढ्न मन नभएकालाई पनि पढौ पढौ लाग्ने । लेख्न मन नभएकोलाई पनि लेखौ लेखौ लाग्ने ।
हुँदा हुँदा बिद्यालयको अन्तिम हप्तामा दिनमा एक जनाको भन्दा बढिको अटो भर्ने दिन आयो । तर लेख्ने के भनेर सम्झीदा सम्झिदा एउटै साथीको अटो भर्न एक हप्ता जति लाग्थ्यो । एक दिन अटो दिने साथीसँग भए गरेका कुरा मिलाएर लेख्ने अनि अर्को दिन अलि अलि मुतmक, कबिता कतैबाट साभार गरेरै भए पनि लेख्ने । आफूले भन्दा पहिले लेख्ने साथीका लेखाइ पनि हेर्न पथ्र्यो नै । पहिले लेखेका साथीका माथ खाने गरि लेख्न पर्ने तर काम सजिलो भने थिएन ।
लेख्ने ब्याहोरा भने जस्ले जसरी लेखे पनि एकै झै हुन्थ्यो । कहिले कही कक्षाका मन परेको केटा केटी पर्यो भने चाही थारै डवल मिनिङ लाग्ने सम्बोधन र ब्यहोरा लेख्थे । जस्तो कि प्रिय साथी । धेरै साथीले लेखे मनका कुरा । धेरै काल दिन सम्झने कसम खाए । अरुले लेखेका कुरा पढ््ता लाग्थ्यो बिद्यालय बेकारमा छोड्न लागिएछ । यो एसएलसी पनि कति छिटो आएको । अनि बेला बेलामा परेको झगडा र तुष छ भने पनि सबै कुरा कुनै जादुको छु मन्तरले सकाए जस्तै सकाएकोथ्यो अटोले ।
अटो भर्ने र बोक्ने काम एसएलसी जाँच एक दुई हप्ता अघि सम्म चल्यो । चरिकोट दोलखाको सदरमुकाममा एसएससीको सेन्टर थियो । द्धन्द्धका कारण नेपाल भरिको जाँच सदरमुकाममा हुन्थ्यो । सदरमुकाम भनेको पैसा भए मोज मस्ति र कसैको करकाप नहुने ठाउ थियो । मज्जाको ठाँउ । त्यहाँ दिनदिनै बिद्यालय जानु थिएन । हामीलाई आइरन गेट आइरन गेट भनेर कराउने मास्टर थिएनन् । थियो त मस्ति थियो । बाआमाले टिउसन पढाउन दिएको पैसा थियो । कोठा भाडाको लागि दिएको पैसा त झन हुने नै भयो । मनलाग्यो पढ्यो मन लाग्यो घुम्यो मन लाग्यो साथीको अटो झिक्यो । भाव भाङ्गी मिलाएर वाक्य खर्चियो ।
मेरो कक्षामा ३२ जना बिद्यार्थी थिए । ती मध्ये २० भन्दा बढिको अटो तयार थिए । मेरो अटो बनाउने रहर रहरै भयो । मलाई लाग्थ्यो मेरो अटो फरक हुन पर्छ । त्यसैले म चरिकोटबाटै अटो किनेर ल्याउने सुरमा थिएँ । म नगए पनि बालाई ल्याउन लाउने सुरमा थिएँ ।
नभन्दै एक दिन बा चरिकोट जाने भए । उनलाई अटोको बारेमा के भन्ने । यो पढ्न चाहिने हो भन्ने कि लेख्न । अनि त्यति साह्रो महंगो कपिमा झन राजेश हमाल चप्काएर फूल कबिता, रंगिन अक्षर लेखेको देखे तिनले मलाई के भन्लान् । मैले सिधै उनलाई यो कुरा भन्न सकिने अबस्था भएन ।
अब मैले मेरो सोर्स प्रयोग गरेँ आमा । कति प्रयास गरेर आमालाई अटोको महिमा कण्ठ गराएँ । पहिलो त आमाले राम्ररी अटो भन्न नआएर हैरान । अनि सम्झाउन उनलाई मैले बाक्लो कापी हो त्यसलाई अटो भन्ने कुरा सम्झाएँ । उनी मेरो कुरामा राजी भइन ।
चरिकोटबाट बा फर्किए । म ढुक्क थिएँ आमाले भने पछि नहुने केही थिएन । जाबो बा न थिए । आमाले मेरो लागि अटो भने पछि हुन्न भन्ने हिम्मत कस्को ? त्यसैले म फुरुङ थिएँ । मसँग जस्तो राम्रो अटो अरुको नहुुने भो भन्नेमा । बाले मलाई बोलाए । एक मन त डर भो । स्पष्टिकरण माग्लान कि भनेर । तर अर्को मनले भन्यो जाबो स्पष्टिकरणमा के छ ? शानदार अटोमा पो छ ।
तिनले झोलाबाट झिकेर मेरो हातमा थमाए । त्यो बाक्लो इलग छाप कपि थिएन । न मैले सोचेको अटो नै थियो । तिनले त लामो र बाक्लो लेख्ने कपिपो ल्याएछन् । न रुनु न हास्नु । न लिनु न फाल्दिनु । परेन फसाद । मेरो सपना चकानाचुर भयो । बाले भने होइन केटो चरिकोट भरि खोजियो त्यत्रो दुई सय जाने एउटै कपि त भेटिएन त ।
आमा खोज्दै म गोठैमा पुगेँ । उनी भैसी दुदै थिइन । दुनिया हारेको अनुभव भाको मलाई आमासँग गुनासो थियो । एक सास नबिसाई पोखेँ । उनले भनिन अनि त्यही कपिमा लेख्न । मलाई बिहान तंले भनेको नामनै आएन । त्यसैले दुई सय पर्ने एउटा कपि हुन्छ रे ल्याइदिनु भनेकै थिएँ त । ल्याइदिएनन् ?
बा चरिकोट जानु भन्दा अघिल्लो दिन त्यत्रो अटो महिमा । बेकार भो । उनले सम्झाइन एक महिना पछि तंआफै किन हुदैन । नहुनु के थियो । त्यसपछि मलाई अटो बनाउने रहरै मर्यो । बरु साथीकामा भर्दै लेख्दै आनन्द भो ।
यस्तो अटो भरेको पनि दस बर्ष बितेछ । हामी साथीहरु पनि छुटिएको पनि त्यति नै भो । कहिले कही आक्कल झुक्कल साथीहरु भेटिदा सन्चो बिसन्चोको मात्रै कुरा हुन्छ । अनि कस्ले कति के गर्यो भन्ने पनि । बिद्यालय, अटो त सबैले बिर्से नै होला । समयसँगै । मसँग अटो भएन । तर अटोको सम्झना आलै छ ।
अटो भर्दा सबै भन्दा गार्हो मुक्तक कबिता लेख्नु थियो । अरुले साथीले कता कताबाट लेख्थे थाहा भएन । लेख्न चाही लेख्थे ।
पसलै जानु सुन्तला खानु हातैले उदारी
रातीको लेखाई बतिको छेकाइ पढ्नु है सुधारी ।
आकाशमा उड्ने चरिलाई के थाहा समुन्द्रको गहिराई
धोका दिनेलाई के थाहा मायाको बुझाई ।।
खोला बगे पनि बालुवा रहिरहन्छ
मान्छे टाढा भए पनि सम्झना आइ रहन्छ ।।।

Sunday, July 15, 2012

स्कुलमा ब्याबहारिक शिक्षा



केशव केसी सौलयुवक माध्यमिक बिद्यालय, बुङमतीमा २ कक्षामा पढ्छन् । उनी शिक्षकले भनेका कुरा लामो समय सम्म सम्झन सक्दैनन् । अनि अरु बिद्यार्थी जस्तो छिटो लेख्न र पढ्न पनि सक्दैनन् । त्यसैले बिद्यालयले उनीलाई सके सम्म ब्यबहारिक रुपमा सिकाउने प्रयास गरेको छ । बिद्यालयमा केशव झै मानसिक र शारीरिक अबस्था कमजोर भएका ३८ बिद्यार्थी छन् । सबै बिद्यार्थीलाई रुचि अनुसार खेल्ने र बजाउने सामाग्री दिइन्छ ।
धेरै बिद्यार्थीलाई गीतसंगीत मन पर्छ । कोही बाजा बजाउछन कोही गीत गाउँछन् । यस्ता गाउँदै बजाउदै सिकाउने हो भने उनीहरुले धेरै कुरा सजिलै सिक्छन् । लामो समय सम्म सम्झन्छन् । शारीरिक र मानसिक रुपमा कमजोर भएका बिद्यार्थीलाई पढाउन शिक्षकले बिशेष खालको तालिम लिएका छन् ।
पढाउने बेलामा उनीहरु र सामान्य बिद्यार्थीलाई संगै राखेर पढाए पनि उनीहरुलाई बुझाउन थप सयम लाग्छ । धेरै बर्ष देखि शारीरिक र मानसिक बिद्यार्थीलाई पढाई रहेका दयाराम महर्जनले सुनाए । बाजाकै तालमा कति चोटी कुन बाजा कसरी बजाउने भनेर गन्न सिकाउन सकिन्छ । उनीहरु यस्तो शिक्षण शैलीमा रमाउँछन् । ध्यान दिएर सिक्छन् । त्यसैले पनि हामीलाई सिकाउन सजिलो भएको छ । उनले थपे ।
केशवलाई तबला बजाउन आउँछ । उनले तबला बजाउन थालेको पनि दुई बर्ष भन्दा बढि भैसक्यो । उनी परेको बेलामा बाँसुरी पनि बजाउँछन् । यस्तो काम गर्न उनलाई निक्कै मन पर्छ । मलाई तबला बजाउन आउँछ । धेरै राम्रो चाहि होइन । म केही गीतहरुलाई सुहाउने बजाउन सक्छु । मजस्तै बाजा बजाउन सक्ने साथीहरु अरु पनि छन् । हामी सबै जना मिलेर बजाउँदा बस्दा रमाइलो लाग्छ । उनले अनुभव सुनाए ।
उनीहरु मध्ये गीत गाउन जान्नेमा चाहि रमेश थापा छन् । उनी आँखा देख्दैनन् । साथीहरुले बाजा बजाएपछि मलाई गीत गाउन मन लाग्छ । अनि जब गीत गाउँछु निक्कै आनन्द लाग्छ । गीत झै पढाईका कुरा पनि सम्झन सकिन्छ । त्यसैले पनि मलाई पढाइ र गीत उस्तै लाग्छ । उनले अनुभव सुनाए । पढाईसँगै गीतगाउनमा राम्रो गर्ने उनको रहर छ ।
शारीरिक र मानसिक रुपमा कमजोर बिद्यार्थीका समस्या फरक फरक छन् । उनीहरुलाई सुहाउदो खेल सामाग्री दिइएको छ । यस्ले गर्दा उनीहरुलाई सजिलै समय कटाउन र नयाँ कुरा सिक्न सजिलो भएको छ । स्थानिय सुर्जलक्ष्मी महर्जन उनीहरुले बजाएकोे गाएको सुन्न बेला बेलामा आउँछिन् । उनीहरुले सामान्य मानिसको झै राम्रो त होइन तर आफ्नै स्तरको राम्रो गाउँछन् बजाउँछन् । त्यसैले बेला बेलामा म पनि यसो सयम मिल्दा छिर्छु । उनीहरुसँग कुरा गर्दा पनि रमाइलो हुन्छ । रमाइलो कुरा गर्छन् ।
यस्ता बिद्यार्थीलाई बिद्यालयमै खाने बस्ने ब्यबस्था गरेको छ । त्यसमा लाग्ने खर्च दस जना बिद्यार्थीको सरकारले दिन्छ । अरुको ब्यतिगत रुपमा सहयोग गर्नेहरुबाट चलिरहेको शिक्षक महर्जन बताउँछन् । हामीलाई अझ धेरै बिद्यार्थी राखेर पढाउने मन छ तर समस्या आर्थिक पक्षको पनि हुन्छ । अहिले हामीले यो भन्दा धेरै बिद्यार्थी राख्न सक्ने अबस्था छैन । भबिष्यमा आर्थिक पक्ष सुधार भए हामी अझ बिद्यार्थी राखेर पढाउन सक्छौ । उनले भने ।