Wednesday, July 18, 2012

अटो




अटोमा केही लेख्दिन्छौ । दस कक्षाको अन्तिम भएको बेला तिर प्रत्येक दिन साथीहरुले एउटै कुरा दोहोर्याउन थाले । त्यो भन्दा पहिले अटो भन्ने हाम्रो बिद्यालयको लागि नयाँ थियो । एकदम नयाँ । एकाएक सबै जसो साथीले अटो किने बनाए । पैसा भएको साथीहरुले सदरमुकाम जाँदा रेडिमेड अटो किने । त्यसमा फोटो टास्ने ठाँउ हुन्थ्यो । रुचि लेख्ने कुरा हुन्थ्यो । मन पर्ने फिल्म हिरो हिराइन, गीतसंगीत सबै कुरा लेख्न मिल्थ्यो । त्यस्तो अटो किन्न त्यो बेला एक थान गैडा चाहिन्थ्यो । अझ राम्रैमा आँखा पर्यो भने दुईथान गैडा पनि चाहिन सक्थ्यो । त्यसैले यो रेडिमेट अटो धेरै साथीको लागि सजिलो भएन । बिकल्पमा आफैले त्यस्ता अटो तयार गर्ने सजिलो उपाय थियो । त्यो बेला बोक्लो कभर भएको इगलछाप कापी बिस रुपैयामा पाइन्थ्यो । त्यसलाई साथीहरुले फोटो टास्ने ठाउँ बनाए, रुचि र गीतसंगीतका कुरा लेख्ने मिल्ने बनाए । आउनेहरुले गुलाफ, कमल जस्ता फूल फुलाए । हिरो हिराइनका बारेमा लेख्न मिल्ने बनाए । अनि रेडिमेड अटोलाई माथ ख्याउने गरि आफैले सस्तो र सजिलै अटो बनाए ।
अटोमा राजेश हमाल हुन्थे । उनको रामकृष्ण, एक नम्बरको पाखे, अल्लारे, सिमाना र अरु हुन्थे । राजेशलाई साथ दिन जल शाह, करिष्मा मानन्धर, मेलिना मानन्धर, जस्ता हिराइनका ताती हुन्थ्यो । यस्ता हिरो हिराइन एक रुपैयामा किन्न पाइन्थ्यो । जति बढि टास्यो त्यति राम्रो ।
आफैले बनाएको अटो आफ्नो रुची अनुसार बन्यो । रंगीचंगी साइनपेनले अक्षर मिलाएर लेख्यो । कतै रातो कतै हरियो कतै निलो हेर्दै पढ्न मन नभएकालाई पनि पढौ पढौ लाग्ने । लेख्न मन नभएकोलाई पनि लेखौ लेखौ लाग्ने ।
हुँदा हुँदा बिद्यालयको अन्तिम हप्तामा दिनमा एक जनाको भन्दा बढिको अटो भर्ने दिन आयो । तर लेख्ने के भनेर सम्झीदा सम्झिदा एउटै साथीको अटो भर्न एक हप्ता जति लाग्थ्यो । एक दिन अटो दिने साथीसँग भए गरेका कुरा मिलाएर लेख्ने अनि अर्को दिन अलि अलि मुतmक, कबिता कतैबाट साभार गरेरै भए पनि लेख्ने । आफूले भन्दा पहिले लेख्ने साथीका लेखाइ पनि हेर्न पथ्र्यो नै । पहिले लेखेका साथीका माथ खाने गरि लेख्न पर्ने तर काम सजिलो भने थिएन ।
लेख्ने ब्याहोरा भने जस्ले जसरी लेखे पनि एकै झै हुन्थ्यो । कहिले कही कक्षाका मन परेको केटा केटी पर्यो भने चाही थारै डवल मिनिङ लाग्ने सम्बोधन र ब्यहोरा लेख्थे । जस्तो कि प्रिय साथी । धेरै साथीले लेखे मनका कुरा । धेरै काल दिन सम्झने कसम खाए । अरुले लेखेका कुरा पढ््ता लाग्थ्यो बिद्यालय बेकारमा छोड्न लागिएछ । यो एसएलसी पनि कति छिटो आएको । अनि बेला बेलामा परेको झगडा र तुष छ भने पनि सबै कुरा कुनै जादुको छु मन्तरले सकाए जस्तै सकाएकोथ्यो अटोले ।
अटो भर्ने र बोक्ने काम एसएलसी जाँच एक दुई हप्ता अघि सम्म चल्यो । चरिकोट दोलखाको सदरमुकाममा एसएससीको सेन्टर थियो । द्धन्द्धका कारण नेपाल भरिको जाँच सदरमुकाममा हुन्थ्यो । सदरमुकाम भनेको पैसा भए मोज मस्ति र कसैको करकाप नहुने ठाउ थियो । मज्जाको ठाँउ । त्यहाँ दिनदिनै बिद्यालय जानु थिएन । हामीलाई आइरन गेट आइरन गेट भनेर कराउने मास्टर थिएनन् । थियो त मस्ति थियो । बाआमाले टिउसन पढाउन दिएको पैसा थियो । कोठा भाडाको लागि दिएको पैसा त झन हुने नै भयो । मनलाग्यो पढ्यो मन लाग्यो घुम्यो मन लाग्यो साथीको अटो झिक्यो । भाव भाङ्गी मिलाएर वाक्य खर्चियो ।
मेरो कक्षामा ३२ जना बिद्यार्थी थिए । ती मध्ये २० भन्दा बढिको अटो तयार थिए । मेरो अटो बनाउने रहर रहरै भयो । मलाई लाग्थ्यो मेरो अटो फरक हुन पर्छ । त्यसैले म चरिकोटबाटै अटो किनेर ल्याउने सुरमा थिएँ । म नगए पनि बालाई ल्याउन लाउने सुरमा थिएँ ।
नभन्दै एक दिन बा चरिकोट जाने भए । उनलाई अटोको बारेमा के भन्ने । यो पढ्न चाहिने हो भन्ने कि लेख्न । अनि त्यति साह्रो महंगो कपिमा झन राजेश हमाल चप्काएर फूल कबिता, रंगिन अक्षर लेखेको देखे तिनले मलाई के भन्लान् । मैले सिधै उनलाई यो कुरा भन्न सकिने अबस्था भएन ।
अब मैले मेरो सोर्स प्रयोग गरेँ आमा । कति प्रयास गरेर आमालाई अटोको महिमा कण्ठ गराएँ । पहिलो त आमाले राम्ररी अटो भन्न नआएर हैरान । अनि सम्झाउन उनलाई मैले बाक्लो कापी हो त्यसलाई अटो भन्ने कुरा सम्झाएँ । उनी मेरो कुरामा राजी भइन ।
चरिकोटबाट बा फर्किए । म ढुक्क थिएँ आमाले भने पछि नहुने केही थिएन । जाबो बा न थिए । आमाले मेरो लागि अटो भने पछि हुन्न भन्ने हिम्मत कस्को ? त्यसैले म फुरुङ थिएँ । मसँग जस्तो राम्रो अटो अरुको नहुुने भो भन्नेमा । बाले मलाई बोलाए । एक मन त डर भो । स्पष्टिकरण माग्लान कि भनेर । तर अर्को मनले भन्यो जाबो स्पष्टिकरणमा के छ ? शानदार अटोमा पो छ ।
तिनले झोलाबाट झिकेर मेरो हातमा थमाए । त्यो बाक्लो इलग छाप कपि थिएन । न मैले सोचेको अटो नै थियो । तिनले त लामो र बाक्लो लेख्ने कपिपो ल्याएछन् । न रुनु न हास्नु । न लिनु न फाल्दिनु । परेन फसाद । मेरो सपना चकानाचुर भयो । बाले भने होइन केटो चरिकोट भरि खोजियो त्यत्रो दुई सय जाने एउटै कपि त भेटिएन त ।
आमा खोज्दै म गोठैमा पुगेँ । उनी भैसी दुदै थिइन । दुनिया हारेको अनुभव भाको मलाई आमासँग गुनासो थियो । एक सास नबिसाई पोखेँ । उनले भनिन अनि त्यही कपिमा लेख्न । मलाई बिहान तंले भनेको नामनै आएन । त्यसैले दुई सय पर्ने एउटा कपि हुन्छ रे ल्याइदिनु भनेकै थिएँ त । ल्याइदिएनन् ?
बा चरिकोट जानु भन्दा अघिल्लो दिन त्यत्रो अटो महिमा । बेकार भो । उनले सम्झाइन एक महिना पछि तंआफै किन हुदैन । नहुनु के थियो । त्यसपछि मलाई अटो बनाउने रहरै मर्यो । बरु साथीकामा भर्दै लेख्दै आनन्द भो ।
यस्तो अटो भरेको पनि दस बर्ष बितेछ । हामी साथीहरु पनि छुटिएको पनि त्यति नै भो । कहिले कही आक्कल झुक्कल साथीहरु भेटिदा सन्चो बिसन्चोको मात्रै कुरा हुन्छ । अनि कस्ले कति के गर्यो भन्ने पनि । बिद्यालय, अटो त सबैले बिर्से नै होला । समयसँगै । मसँग अटो भएन । तर अटोको सम्झना आलै छ ।
अटो भर्दा सबै भन्दा गार्हो मुक्तक कबिता लेख्नु थियो । अरुले साथीले कता कताबाट लेख्थे थाहा भएन । लेख्न चाही लेख्थे ।
पसलै जानु सुन्तला खानु हातैले उदारी
रातीको लेखाई बतिको छेकाइ पढ्नु है सुधारी ।
आकाशमा उड्ने चरिलाई के थाहा समुन्द्रको गहिराई
धोका दिनेलाई के थाहा मायाको बुझाई ।।
खोला बगे पनि बालुवा रहिरहन्छ
मान्छे टाढा भए पनि सम्झना आइ रहन्छ ।।।

No comments:

Post a Comment