Showing posts with label gokul dhorje tamang. Show all posts
Showing posts with label gokul dhorje tamang. Show all posts

Wednesday, January 1, 2014

कसम

कसम

कसमको मौसम झै
थरि थरिका भाषा र शैली
यो गर्ने त्यो नगर्ने
यो हुने त्यो नहुने
नयाँ वर्ष नयाँ तरिकाका कसमहरु ।

जोडी, थान, दर्जन
असंख्य कसमहरु
दुःखी नहुन दुःखी नबनाउने शर्तका कसमहरु
कसमका लागि वनेका थप नयाँ कसमहरु ।

पुरा नभएका पोहोरका कसमहरु
खुइलिएर बसेको राजधानीको मुटु घन्टाघर जस्तो
अलि अलि चुनले पोतिएर
नयाँ र बैशालु छु भन्ने भ्रममा परेको धरहरा जस्तो
ढिङ्ग उभिएको छ
जस्ताको तस्तै ।

मनभरि अर्कै कुरा राखेर
खर्चन्छन् तरिका तरिकाका नयाँ कसमका परिकारहरु
थाहा हुदा हुदै सत्य होइन भन्ने
मान्छेलाई लागेको छ रोग
एक छिन कसम खाने
अम्मलीले बेफाइदाको गीत गाउँदै
रित्याएको गिलास झै
खाली बनाएका सिसी झै ।

कसम साट्नका लागि
डिस्कोथेक, चोक, रेष्टुरेन्ट, वार, भट्टी, पार्क वा अन्तै कतै
झोक्किएर वा झोक्रिएर
खर्चिएकै छन् कसमका परिकारहरु
विक्री भएकै छ सबै तिर
मालामाल भएकै छन् कसमवाजहरु ।

ठाउँ र परिवेश न हो फरक
न वर्ग छ न जात
न तल छ न माथी
सबै एकै छन्
खाली भाषा फरक होला
बोली फरक होला ।

जेहोस नयाँ वर्षमा
फेरी कहिल्यै पुरा नहुने
कसम खानेहरुका बिच
म पनि उभिएको छु
अर्को कसम खान
पोहोरको फोहोर कसमलाई विर्सदै
फेरी खाँदैछु नयाँ कसम नयाँ सालमा ।

थोकरवस्ती डेराटोल ।

Friday, September 14, 2012

स्मलकाजी




पाँच कक्षाको परिक्षा जिल्ला स्तरिय हुन्थ्यो । जिल्लाबाटै परिक्षा केन्द्र तोकिन्थ्यो । मेरो स्कुलको परिक्षा केन्द्र झन्डै तीन घन्टाको पैदलमा पुग्नु पेर्ने पवटीको स्कुलमा पर्यो । म कक्षाको तेस्रो थिएँ तर तीन जनामा ।
पढाइमा म त्यति राम्रो थिइन । नेपालीमा लेख्दा म आफ्नो तरिकाले लेख्थे । पाँच कक्षा पास हुनु भनेको अहिलेको एसएलसी जतिकै थियो मेरा लागि । ठूलो मान मनितो र इज्जतको कुरा । मलाई त खासै मतलव थिएन । तर मेरा बाको लागि । मेरो स्कुलको लागि । अनि मेरो शिक्षकको लागि । म पास हुनुले धेरै अर्थ राख्थ्यो ।
तर उनीहरुले गरेको गेसमा म सजिलै पास हुने बिद्यार्थीमा थिइन । मैले पाँच पास गर्न भयंकर कायापलट गरेर पढ्नु थियो । खास समस्या मेरो अग्रेजीको थियो । कति भने म एम र एन उस्तै मान्थे । कुनमा के लेख्ने थाहा पाउँदैनथे । हुँदा हुँदा मलाई आफ्नै नाम अग्रजीमा लेख्दा पनि कहिले आउने कहिले बिर्सिने हुन्थ्यो ।
हामीलाई अंग्रजी पढाउने सर थिए बासुदेव कार्की । उनी बिद्यालयको हेड मास्टर थिए । अनि अग्रेजी पढाउथे । उनले जसो भन्यो त्यस्तै भनेर भाका हालेर गाउनु पथ्र्यो । पाठहरु गीत हुन्थे । गाउन आउने । लेख्न नआउने । त्यो कितापको कुन पेजको, के भनेको थाहा नहुने । पहिलो रोलनम्वर भएको साथीको भने अलि राम्रो अग्रजी थियो । उ अंग्रजीमा आफ्नो नाम सmरर लेख्न सक्थ्यो । अझ वाआमा, स्कुल र हेडमास्टरको नाम लेख्न सक्थ्यो ।
स्कुलले पास हुने आस गरेको कोही थियो भने उही थियो । उ हिसाव बिषयमा पनि राम्रो थियो । जोड घटाउ भाग सबै गर्ने । पक्का पास हुने बिद्यार्थीमा उही थियो । दास्रोमा भएको साथी म जस्तै थियो । तर केही केहीमा अलि राम्रो ।
जाँचको पहिलो दिन वाले मलाई पवटी पुर्याउने भए । जाँच बिहानको ११ वजे देखि थियो । हामी बिहानै सात वजे भात खाएर ओरालो लाग्यौ ।
आज के को जाँच?
नेपाली ।
भोली ?
अग्रजी ।
तंले नेपाली कतिको पढेको छस् ?
अलि अलि ।
अंग्रजी नी ?
अलि अलि ।
हिसावको कहिले हुन्छ नी ।
पर्सी ।
अनि हिसाव तंलाई कस्तो आउँछ नी ?
अलि अलि ।
तंलाई सबै कुरा अलि अलि आउँछ खान चाही किन टन्ने खाको ?
पवटीमा पुग्नु मेरो गाउँबाट ओरालो, ओरालो अनि फेरी ओरालो बाटो झर्नु थियो । बाटोमा बा अघि अघि मेरो इन्टरभ्यु लिदै थिए । म पछि पछि एन्सर दिदै थिएँ । कहिले कही त बाको प्रश्न सुनेर बिचैमा घरतिर फर्केउ कि जस्तो पनि लाग्थ्यो । फेरी त्यो राम्रो समाधान पनि थिएन ।
ठूलो स्कुल धेरै बिद्यार्थी । बल्ल बल्ल परिक्षा कोठा थाहा पाइयो । त्यत्रो संख्यामा बिद्यार्थी । हेर्दै अचम्म । हामी पढ्ने कक्षा कोठामा तीन जना । त्यसमा पनि कहिले कही साथीहरु नआउँदा दुई जना मात्रै । जाँचको कक्षाको बिद्यार्थी त कति हो कति । मलाई लाग्यो यति धेरै बिद्यार्थी पनि रैछन् । मेरो पुरै गाउँमा यति धेरै बिद्यार्थी छैनन् कि ?
यति धेरै बिद्यार्थी । बल्ल बल्ल थाहा पाएको कोठामा पस्ने बित्तिकै केही असजिलो भो । बाले ढोका सम्म छाडेर बाहिर बसे । त्यसो नभएको हुदो हो त म भाग्थे कि ?
 बसेर कहिल्यै जाँच दिएको थिइन । पहिलो दिन अचम्मै लाग्यो । जता हेर्यो त्यतै मान्छे । स्कुल बिल्डिङ नै १२ वटा । म पढेको स्कुलमा एउटा मात्र माटोले बनाएको जस्तापाताले छाएको छाप्रो थियो । बस्नको लागि मेच टेबल थिएन । बिकल्पमा घरैबाट सानो पिर्का बोकेर जानु पथ्र्यो । पछि पछि भने कक्षा कोठाको झ्याललाई ओछ्याएर राम्रो बस्ने ब्यबस्था गर्यो । अझ राम्रो बनाउन दुई छेउमा ढुङ्गाको खुट्टा बनायौ । अनि हाम्रो ब्यबस्थित तरिकाको झ्याले बेन्च बन्यो । तर पवटीमा त्यसतो थिएन । मज्जाको फलामको मेच थियो ।
को काँ बस्ने भन्ने ब्यबस्था पहिले नै भित्तामा कागजमा लेखेर टाँसिएको थियो । मसँग पवटी स्कुल भन्दा पनि अझ तल दियालेखर्कको बिद्यालयको केटी परिन् । पहिलो दिन नेपाली जसो तसो चल्यो । तर मलाई लाग्यो म नजान्ने भनेको म भन्दा पनि नजान्ने त तिनी पो परिछन् । जे कुरा पनि थाहा नभएको सोधि रहने । बल्ल बल्ल जाँच सकियो । बा ढोका अघि नै थिए ।
तिनले सोधे कस्तो भो ?
राम्रो । मेरो एक शब्दको उत्तर ।
राम्रै त लेखिस् ?
बालाई मेरो जवाफमा शंका लागेछ । हो राम्रो भो । सोधेको सबैको उत्तर लेखेको छु ?
भोक लाग्यो ?
बल्ल बाले सही कुरा सोधे झै भो । आफुलाई यत्रो धेरै मान्छेको बिचमा पस्दा पस्दै के भाको भाको जस्तो लागेकोथ्यो । प्रश्न आए पछि थाहा भो भोक लागेको रैछ । अनि यत्रो बेर खेपेर बल्ल निस्किदै गर्दा बाले गरेको कुरा मज्जा लागेर आयो ।
लाग्यो ।
लु हिन उता पसल छ चिउरा खालास् ।
अरु बेला बाले खालास भनेको चिउराको अर्थ अर्कै हुन्थ्यो । आज राम्रै हो । त्यसैले बाको पछि पछि हिडियो । बेलुकी मात्रै घर आइ पुगियो । बिहान हिडेको मान्छे । बेलुकी झन्डै मान्छे नचिन्ने भए पछि मात्रै पुगिने । चिउरा चपाएर लागेको उकालो घरैमा आए पछि मात्रै सकिने । उकालोको उकालै ।
अर्को दिनको हिजो झै । बिहान उठ्यो । पढ्नु चिट बनाउनु त्यस्तै हो । कुद्नुको हतारो छ । खाना खाएर बा अघि अघि लम्किए । म फुच्चे पछि पछि ।
उनि आफ्नो तालमा हिडका छन् । केही नसोधुन भन्ने आफुलाई लागेको छ । आज संसारकै गार्यो बिषय अग्रेजीको जाँच हो । आफुलाई फुट्टो आउँदैन । न हेडमास्टरको नाम लेख्न आउँछ न प्यारेन्टको नाम लेख्न आउँछ । स्कुलको नाम आउने कुरै भएन । हुँदा हुँदा काजी मात्रै लेख्न आउँछ सानो लेख्न आउँदैन ।
पाँच कक्षामा फेल हुनु भन्दा पहिले मेरो नाम सानोकाजी थियो । किन त्यस्तो नाम राखेका हुन् मलाई थाहा भएन । म जे थिएँ त्यही सानोकाजी थिए । सायद काजीको राम्रै हैकम चल्ने भएकोले बाले राखेका हुन् कि ? तर त्यसो नहुनु पर्ने हो ती बा काजीलाई साह्रै मान्दैनथे । सामान्ती भन्थे । त्यसैले म कसरी सानोकाजी भएँ त्यो थाहा भएन । जे हास् म सानो काजी थिएँ ।
मलाई तामाङ अग्रेजीमा लेख्न आउँथ्यो । काजी पनि लेख्न आउँथ्यो । तर सानो लेख्न आउँदैनथ्यो । कसरी लेख्ने लेख्ने ।
तेरो आज केको जाँच रे ?
अग्रेजीको ।
तंलाई कतिको आउँछ ?
..................
भने पछि तंलाई आउँदैन ?
खै अलि अलि आउँछ ।
के आउँछ ?
ए बि सि डि............ जेड ।
अनि अरु ?
ओएनई वान, वान माने एक । टीडब्लुओ टु, टु माने दुई ।
ए राम्रै छ कि के हो ?
मलाई गीत गाउन मात्र आउँथ्यो । लेख्नेमा भुत्तो भाङ्गो नआउने । बाले सम्झेछन् राम्रै रैछ केटोको अग्रेजी ।
जाँच हलमा छिर्न मन थिएन । मलाई थाहा थियो लेख्न आउने कुरा थोरै थियो । अरु त अरु आफ्नै नाम लेख्न नसक्नेलाई अरु के थाहा हुने र ? पस्नु पर्यो । कपि आयो । अरुले के लेखे जेहोस् लेखे । मैले त केही पनि लेखिन । चुपचापै बसि रहेँ । कोइसन आयो । कोइसन पढेको जस्तो गरेँ । आउने केही होइन । के कुन कता लेख्ने पत्तो छैन ।
अघि पछि सबै तिर हेरेँ । छेउमा बस्ने केटीले साधि तिमी कति नम्वरको कोइसन गर्छौ ?
तिमी चाही कतिको गर्छौ नी ? उल्टो प्रश्न पल्टाइदिएँ । अलि हल्का भो । अनि बल्ल नाम लेख्ने प्रयास गरेँ । काजी तामाङ मात्रै आउँछ अरु मरि गए आउँदैन । गर्ने के हो ? काजीको पाजी दिमाग चल्यो । कता कताबाट एउटा कुरा सम्झेँ । हामीले एउटा कथा पढ्नु पथ्र्यो । स्मल हाउस र क्रो भनेर । बासु मास्टरले एसएमएएलएल स्मल, स्मल माने सानो भनेर पढाएको कता कताबाट सम्झिएँ ।
सोचे स्मल माने पनि सानो अनि म यसै उसै सानो । स्मलै लेखे के हुदो हो ? ठीकै हुदो हो स्मलकाजी लेखे त आखिर माने पढ्यो भने त सानो काजी न हो । एक घन्टा जति टाइम लागाएर काइते जुक्ति निक्लियो । मैले गार्हो मानेर लेखे नेम लेखेको ठाउँमा स्मलकाजी । अरु त केही लेखिन ।
छेउकी केटीसँग सोध्ने मन पनि भएन । यो थाहा पाएपछि बाले के गर्ने हुन् डर भो । अनि खाली कपि बोकेर बुझाएँ । बालाई केही सोधेनन् । चिउरा ख्याए । उकालो हिडाए ।
रिजेन्ट आयो फेल भाको । बालाई मदेखेर भन्दा पढाउने मास्ट रिस उठेछ । गएर सोधेछन् केमा फेल भो ? नाम डवल लेखेछ । मास्टरले उत्तर दिएछन् । के लेखेछ ? स्मल काजी ।


Tuesday, September 4, 2012

Bird photos Exhibition in Nepal

नेपालमा अहिले सम्म आठ सय एकहत्तर थरि चरा पाइन्छन् । त्यस मध्ये झन्डै डेढ सय जति चरा खतरामा छन् । यसलाई बचाई राख्नको लागि समयमै जनचेतना बढाउनु पर्छ । यस्तै जनचेतनाको प्रयास भने सुरु भएको छ । यो भिडियो त्यसैको प्रयास मध्ये एउटा हो । 

Wednesday, August 8, 2012

निकटता




पत्रकारितामा बढि सुनिने शब्दमा प्रोक्सिमिटी अर्थात निकटता पनि एउटा हो । समाचारको महत्व घटना भएको नजिकका मानिसलाई जति बढि हुन्छ त्यति टाढाकोलाई नहुन सक्छ । त्यसैले नजिकका मिडियाले घटनाका बारेमा सके सम्म डिटेलमा भन्छ । लेख्छ । छाप्छ । अनि पाठक, स्रोता, दर्शकलाई पनि त्यो कुराले छुन्छ । असर पार्छ । चासो जगाउँछ । त्यसैले समाचार बनाउँदा निकटताका कुरा हेरिन्छ । यो चलन विश्व भरिनै प्रयोगमा छ । निकटता समाचारमा मात्र सिमित छैन । यो जनजीवनमा पनि छ ।
म मेरो समुदायको मानिसलाई भेटेँ भने जति नजिकका कुरा गर्न सक्छु अर्को समुदायको बारेमा नभन्न सक्छु । वा सोधे पनि के हुदो रहेछ भन्ने जान्नका लागि सोधेको हुन सक्छु । गएको शनिबार मेरो कामको लिस्ट केही थिएन । हुनत अरु बेला पनि मेरो शनिबार पुरै फुर्सदमा बित्ने दिन हो पुरा छुट्टि ।
तामाङ पत्रकारको भेटघाट र छलफल छ । शुक्रवार फोन गरेर साथीले सुनाए । मिले आउनु । केही कुरा बुझिएला । नयाँ कुरा सिकिएला । नयाँ साथीसँग चिनजान होला । हो सुत्नु भन्दा यो बेश । मलाई पनि लाग्यो । निकटताले काम गर्यो ।
कार्यक्रम गर्ने हल झन्डै भरिएको थियो । पचास देखि पचहत्तरजना अड्थ्यो होला हलमा । ओहो कति धेरै काठमाडौ भित्रै काम गर्ने तामाङ पत्रकार । हुन त काठमाडौ भित्र झन्डै तीन दर्जन रेडियो घन्किएका छन् । एक दर्जन पुग नपुग टेलीभिजन छन् । ठूला र झोलामा अफिस भएका पत्रिकाको संख्या झन ठूलो छ । जे भए पनि तामाङ पत्रकार धेरै थिए ।
बुझ्दै जाँदा थाहा भयो । त्यहाँ धेरै ठूला मिडियोका ठूला तामाङ पत्रकार थिएनन् । त्यसो भनेर उपस्थित भएकाहरुको मान मर्दन गर्न खोजेको चाहि होइन । उपस्थित भएका धेरै तन्नेरी थिए । शायद ती पत्रकारिताका उल्टो पिरामिड र फाइभ डब्लु वान एचको प्रक्टिस भर्खर सुरु गर्दै थिए । एबिसीका बारेमा सिक्दै थिए । जेहोस ठूला मिडियाका ठूला तामाङ पत्रकार थिएनन् ।
तीनलाई लागेको हुदो हो । कहाँको म प्रमोशन भैसकेको पत्रकार अनि कहाँको भर्खर न्युज भनेको न्युको बहुवचन वा चारै तिर पुर्ब पश्चिम उतर दक्षिणमा भएका घटनालाई लिएर लेखेने कुरा अर्थात न्युज भन्ने कुरा सिक्दै गरेको तामाङ पत्रकार । कतिले अनुभवकै आधारमा जात नै फरक अनुभव गरेको पनि हुँदो हो । यो कार्यक्रम हेरेपछि मलाई धेरै पहिले सुनेको कथाको याद आयो ।
कुनै जंगलको कथा । जंगलमा बाघको परिवार थियो । के भएर हो कुन्नी बाघनीले बच्चा जन्माउने बितिकै बिछोडिन पुग्यो । कतैबाट चर्दै त्यही ठाउँमा बाख्राका बथान आइपुगे । पहिले त बाघको बच्चा डमरुलाई देखेर ती डराए । फेरी बिचारा डमरु भोक र हतासीले झन्नै सास जाने अबस्था देखेर बाख्राहरुले सहयोग गरे । बिस्तारै डमरु हुर्कियो । उसले शिकार गर्न सिकेन घाँस खान सिक्यो । बाँख्रा जसरी जान्छ खान्छ हिड्छ त्यही सिक्यो । डमरु बाघ बन्दै गए पनि उसले आफु बाँघ हुँ भन्ने बिर्सियो ।
धेरै पछि कतैबाट अर्को हुल बाघ बाख्राको छेउमा आइपुग्यो । बाख्राको बथानमा भएको बाघ पनि बाख्रासँगै भाग्यो । त्यो देखेर बाघहरु छक्क परे । अनि कुनै छिटो दौडिने बाघले उसलाई समात्यो । बाख्रे बाघ डरायो । अतालियो । तर समाउने बाघले उसलाई भन्यो उ बाख्रा होइन बाघ हो । तर बाख्रे बाघलाई यो कुरा पत्यार लागेन । अनि नजिकैको सफा पानीमा लगेर दुबैले अनुहार हेरे । हो ठ्याक्कै अनुहार उस्तै देखियो । बल्ल बाख्रे बाघलाई लाग्यो उ साँच्चैको बाघ हो । अनि उ गर्जियो ।
मुलधारमा पत्रकारिता गर्ने धेरै जनजाति पत्रकारले पनि आफ्नो समुदायका कुरा लेख्न, भन्न र बोल्न अहिले सम्म सिकेका छैनन् । तिनलाई मुलधारको धङघङी छ । जस्तो बाघलाई बाख्रा हुँ भन्नेथ्यो । त्यसैले तिनलाई आफ्नो समुदायका कुरा भन्न पर्यो भने लाज लाग्छ । आफ्नो समुदायका मानिससँग भेट गर्यो भने मान घटेको अनुभव गर्छन् ।
बहुलबादी समाज र पत्रकारिताका कुरा हामीले गरेको धेरै भयो । तर त्यसको स्वाभाबिक प्राक्टिस भएको छैन । अहिले सम्म बिभिन्न बिटका कुरा गरे पनि जनजातिका बिट भर्खर सुरु भएको होला । कतिमा त त्यो छैन पनि होला । भएकामा दिइएका बिटबाट कति समाचार, फिचर, बिचार आउँदो हो ?
दोलखाको तामाङको बारेमा म जति जान्छु अर्को समुदायका मानिसले जान्ने संभावना कम हुन्छ । त्यसैले दोलखाको समुदायका बारेमा मैले जति लेखुला, भनुला, अनुभव गरौला वा खोजौला त्यो अरु समुदायकाले नगर्न सक्छ । त्यसैले यस्तो बिषयमा लेख्न, भन्न, खोज्न पर्यो भने म उपयुक्त हुन सक्छु । त्यसैले आफ्नो जात र जातिका बारेमा लेख्ने, भन्ने, खोज्ने जिम्मा त्यही समुदायका पत्रकारलाई दिए राम्रो हुने पक्का छ । तर अहिले सम्म ठूला मिडियाले त्यसरी जिम्मेवारी दिने आँट पनि गरेका छैनन् । यदि कसैले ब्यतिगत प्रयास नै त्यस्तो प्रयास गर्यो भने पनि त्यो पत्रकार बिग्रियो । त्यो जातिय भयो । त्यसको मान मनितो मुलधारबाट छुट्यिो । अनि पाखे भो । त्यसैले पनि मुलधारका धेरैलाई मनमा केही गरौ भन्ने भएर पनि लेख्ने बोल्ने र भन्ने साहस नभएको हुनु पर्छ ।
हाम्रो समाज धेरै जातजाती, धर्म संस्कृति बोकेको छ भनिन्छ । तर कुनै पनि जनजातिका समाचार फिचर भएर आएको देखिन्न । कतिले लेखे पनि होलान् डेक्सबाट काटिएर पाँच सय शब्द पचासमा झरेको हुनसक्छ । जनजाति पत्रकारले लेख्दा हाति हुने छापिदा, भनिदा, देखाइदा मुसा भएर आउने पनि हुँदो हो । अनि अलि चुस्त दुरुस्त आकर्षक बनाउन नसकिएको पनि हुँदो हो । अरु जातिले नै राम्रो स्टोरी बनाउने भए किन अहिले सम्म आएका छैनन् ? फ्रिमा भोलिन्टियर काम गर्ने यत्रा धेरै पत्रकार मोफेसल र काठमाडौमा छन् । तीनलाई पैसा नदिए पनि हिसाव दिए चित बुझाउँछन् । अनि किन गर्न नसकेको त संस्कृति र संस्कारको साँच्चैको डेप्थ रिपोर्टिङ । किन निस्किन नसकेको इस्यु नै इस्यु भएर पनि कुनै दमदार स्टोरी ?
तामाङ पत्रकारको जमात देखेर मलाई लागेको हो धेरै त खल्तिका पैसाले चिया खाएर रिर्पोटिङ गर्दा हुन् । पेटलाई पेटीले कसेर भोक नलागेको अनुभुति गरेर हिड्दा हुन् । तीनलाई आफ्नो समाजका केही लेख्न, बोल्न, देखाउन मन  हुँदो हो । त्यो गर्ने सिप कति होला ? त्यस्ता सिपलाई तिर्खान जान्ने आफ्ना समुदायका ठूला पत्रकारले केही सिकाए राम्रै गर्दा हुन् । राम्रै स्टोरी बोक्दा हुन् । राम्रै इस्यु बनाउँदा हुन् । त्यसो भए साँच्चैको बहुआयमिक समाजको झल्को देखिदो हो । समाबेशी पत्रकारिता पनि सुरु हुदो हो । अनि मुलधार र फरक धारको सिमाना मेटिदो हो । हिजो सम्म चेलीबेटी मात्रै बेचेर बस्छ भन्ने तामाङ गाउँको डम्फुको कथा आउँदो हो । ताम्वाको जिन्दगीको गतिलो स्टोरी बन्दो हो ।
तर अहिले सम्म भएको छैन । जान्ने तामाङ पत्रकार आफुलाई बाख्रा नै सम्झि बसेका छन् । तर समाज सधै उस्तै पाराको हुदैन । धेरै थोरै त परिवर्तन भैरहेकै हुन्छ । हिजो सम्म बिचारा भनिने समुदाय अहिले हामी बिचारा मात्र होइनौ भन्ने भएका छन् । उदाहरण तामाङ समुदाय आफै हो ।
अहिले तामाङ पत्रकारको संख्या निक्कै छ । संख्यात्मकसंगै गुणात्मक संख्या पनि बढ्ने नै भयो । आफ्नो समुदायका कुरा अरु समुदायमा बुझाउने शैली पनि बिस्तारै बिकास हुन्छ नै । त्यसका लागि सबैले सहयोग र होस्टेमा हैसे गर्नु पर्छ । बिशेष गरेर जो तामाङ समुदायबाट मुलधारे पत्रकारिता गरेका छन् । जस्को लेखाई दमदार छ वर्ड इकोनोमी राम्रो छ । जस्ले अरु समुदायकालाई तामाङ र तामाङ दुनिया बुझाउन सक्छन् । त्यसो गरे सार्थक निकटता पनि देखिदो हो ।

Wednesday, July 25, 2012

काम


कतै सुनेको थिएँ जागिर भनेको जाने र गिरने दुई शब्दबाट बनेको । यसमा केही सत्यता सत्यता छ तर पुरै होइन । खल्तिमा लक्कु अर्थात आनासुकि नभएपछि खानै पर्छ भन्छन् यो । जवानी भएकालाई त केमा जागिर छ भन्ने कुरैले कस्ती कन्या भन्ने सम्म जुराउँछ रे । यो नखाँदा जति सजिलो हुन्छ खाए पछि भने गा¥हो । बाले काठमाडौ छिर्दा सेतो टिका र खादा लगाइदिदै भनेका थिए राम्रा बिषय पढ्नु । म जब गाउँबाट सहर पसे मनमा केही कुरा थिएन जो साँच्चै सहरमा बसेर पुरा गरौ । तर एउटा कुरा भने मलाई सधै लाग्ने गरेको थियो म पत्रकार बन्न पाए । त्यही भएर मिलाएर मैले त्यही बिषयमा भर्ना गरेँ । जब यो कुरा बालाई कसैले सुनाइ दिएका थिए । तिनी रिसाका थिए रे । छोरोले राम्रो केही पढ्ला भनेको त यो नामै नसुनेको पत्रकार । ती छक्क परेछन् । म पत्रकार हुन्छु भन्ने बनाउने काम भने पानसोनिक रेडियोले गरेको थियो । त्यो बेला मेरा गाँउमा बिजुली बति थिएन । नत पत्रपत्रिका । मनोरञ्जनको एकमात्र साधन रेडियो थियो । त्यो पनि रेडियो नेपाल । त्यही रेडियो हो मलाई पत्रकार बन्न हौस्याउने । म कति रडियो सुन्थे भने त्यो रेडियोमा बज्ने सबै कार्यक्रम कुन बेला, कति खेर, कति मिनेटमा बज्छ थाहा पाउँथे । अरु त अरु म कति बज्यो समेत रेडियो सुनेरै भन्दिन्थे । त्यो बेला रेडियोमा खुबै बज्थे नारायण गोपाल ,बच्चु कैलास, प्रेमध्वज प्रधान देखि लालबहादुर खाती , प्रेमराजा महत,बमबहादुर कार्की । ती सबै म पालै पालो जे आयो त्यही सुन्थे । मेरा बा भन्थे लोक गीत र लोक सेलो आए बजाउने नत्र होइन बुझिस । म बाको अघि बुझे भन्थे । तर मलाई आधुनिक ,पप जे भएपनि चल्ने बानी थियो । त्यसैले म बा नभाको बेलामा बजाइदिन्थे जोडले । बाले रेडियो नवजा भन्नुको पनि कारण थियो । एउटा त म बिद्यार्थी । मैले रेडियो मात्र सुने भने बाको छोरोलाई धेरै पढाउने लक्ष्य फेल खान्थ्यो । दोस्रो कारण झन तगडा थियो । हाम्रो घरमा भएको पानासोनिक रेडियोलाई महिनाको एक जोर नयाँ र अर्को जोर पुरानो टाइगर ब्याट्रि चाहिन्थ्यो । त्यो भनेको कम्तिमा महिनामा ३० रुपैया अर्थात एक दिन रेडियो मैले घन्काएँ भने बाको खल्तिको एक रुपैया चिलिम ।  अनि त बाको पारो किन नतातोस । तर मेरा बा सधै घरका घरै बस्न भ्याउदैनथे । अनि पानसोनिक मेरै झै थियो । घन्काउने बजाउने सबै मेरै काम । आमा त मैले बजाएको सुन्नु हुन्थ्यो । मैले धेरै चर्को बजाउदा मात्र झर्किदै भन्नुहुन्थ्यो यसले गरिखादैन काम कुरो एकातिर कुम्लो बोकी ठीमी तिर । रेडियो घरमा आउँदाको कुरो पनि रमाइलो लाग्छ सम्झदा । एक दिन इन्डियाको लाउरेले गज्जवको ठूलो बाकस काँघमा हालेर हाम्रो घर गाउँलाई नै थर्काउँदै आए । हाम्रो घर मुल बाटैमा छ । अनि हजुर बा भेगकै नम्बरी कर्मी । राम्रो काठको केही सामान बनाउन प¥यो कि मानिसहरु हाम्रो घरको आँगनमा आउँथे र भन्थे लौ घ्याङाली बाजे यस्तो खालको कुरा बनाइदिन प¥यो । यति हातको यस्तो बुट्टाको । जस्लाई जस्तो चाहिने हो त्यस्तै खालको सामान । हजुवा तिनका माग अनुसारका सामान बनाउथे । ती बनाउन अराउने मानिस आउँथे हेर्थे र आफूले बनाएको भन्दा पनि राम्रो सामान बनेको देखेर खुशी हुदै भन्थे त्यसै भन्दैन रैछन् है मान्छेले घ्याङाली कर्मी भनेर । ती हजुर बा काठको काममा लागेपछि दुनिया बिर्सिएकी झै लागि रहन्थे । त्यो लाउरे आएको दिन हजुरबाको खासै काम थिएन क्यारै उहाँ त्यतिकै बस्नु भएको थियो । लाउरेले हजुरबाको नाम लिदै हाम्रो घर आयो । हजुरवाले खै केके कुरा गरे कुन्नि ती लाउरे त्यो दिन हाम्रैमा बस्ने भए । बेलुकाको लागि हिमालमा घाम नपुग्दै रातो भाले ढालियो । अनि अरु कुरा धेरै बनाए । मलार्ई पनि खुब रमााइलो लाग्यो । उनले नयाँ कुरा बोकेका थिए । गाउँमा पुजाको जाग्रम बसेर दोहोरी घन्किएझै गीत घन्किन्थ्यो । नाम पनि भने लाहुरेले जापनिज जम्बो क्यासेट । लाउरेले अनेक गीत बजाउँथ्यो । म केही बुझ्दैनथे । शायद हाम्रो घरमा भएका कसैले पनि बुझेनन् । हजुरवाले त भन्नु नै भयो बाबु नेपाली गीत छैनन् ? लाउरेसँग नेपाली गीत पनि रहेछ । उस्ले बजायो लाउरेको रेलिमाई फेसनै राम्रो ....... । घरमा भएका सबै जना खुशी भए । मैले पनि बल्ल गीत बुझे । भाले भोज सकियो । भोलिपल्ट हजुरबाले भाका मिलाएर क्यासेट छोड्नका लागि कुरा गरे । लाउरेले मानेनन् । अर्को पटक बिदामा आउँदा ल्याउने कुरा गरे । हजुवाको भाले भोज बिफल भो । त्यसको एक बर्ष जति पछि होला ति लाउरे फेरी आए । पहिले जस्तो उसँग ठूलो क्यासेट थिएन । सानो लुगाले सिलाएको झोलामा हालेको पानसोनिक थियो । उसले हजुरबालाई दिएको बचन पुरा गरे । हजुरबाको मन अलि खिन्न भएपनि फेरी भाले भोज भो । रेडियोमा समाचार आयो, गीत आयो, अनि अरु के के हो के के । सबै हामीले बुझ्ने भाषामा । मलाई पहिलेको लाहुरेले नदिएको क्यासेट भन्दा यो राम्रो लाग्यो । बोक्न पनि सजिलै सकिने । त्यसपछि सुरु भयो रेडियो र मेरो समन्ध । केही दिन हजुरबाले रेडियो कसैलाई छुन दिनु भएन । म हजुरबा नभएको मौकामा खोल्ने बन्द गर्ने र बोकेर हिड्ने गर्थे । खै के भएर हो हजुर बालाई रेडियोले तानेन । त्यसपछि बाले त्यसको हेरबिचार गर्न कर लाग्यो । अनि त मेरो अधिकारै भो चलाउने । रेडियोको मिटर हुन्थ्यो हातैले घुमाउने । त्यो खै के भएर हो बज्दै जाँदा चल्थ्यो कि के हो स्या आउँथ्यो । त्यसलाई मिलाउने सिप मेराबाको भन्दा मेरो बढि थियो । पहिले पहिले मलाई विस्वास नगरेका बाले आफै मिटर घुमाउथे । उनले धेरै चोटी घुमाउदा पनि स्याका स्या भएपछि तिनले यो काम मलाई अह्राए । मैले मिटर बज्ने ठाँउ कन्ठै गरे । काठमाडौ क्षेत्रियप्रशारण कतिमा ,पोखराको कतिमा, सुर्खेतको कतिमा अनि कति बजे । त्यसपछि बाले रेडियोको जिम्मा मलाई नै दिए । एक दिन बाले रिसको झोकमा भने तँ यसरी नै रेडियोमा झुन्डि रहिस भने के बन्लास खै ? मैले भन्दिए म रेडियोमा काम गर्छु यसरी नै बोल्नेमा । बाले मेरो कुरा पत्याएनन् । गाउँमै थाहा थियो पत्रकारिता पढाइ ग¥यो भने रेडियोमा बोल्न पाइन्छ । पढाइ आरआरमा हुन्छ । पढेको धेरै समय मेरो रेडियोमा बोल्ने सपना सपनानै रह्यो । पत्रकारिताको कुरा हुन्थ्यो । रेडियोको इतिहासको हुन्थ्यो । तर कसरी रेडियोमा बोलिन्छ कसरी रेडियो नेपालमा पुगिन्छ । कुने गेट सजिलो हो कहिल्यै भनेन । तैपनि कुनै न कुनै दिन आउला भनेर मैले हरेसै भने खाइन । त्यस बिचमा रेडियोमा बोल्ने प्रयास नै नगरेको भने होइन । कोठामा रेडियो छैदैथ्यो । मन पर्ने रडियो कर्मीको शैलीमा आफ्नो बोली बनाउने प्रयास भो । कार्यक्रममा बोल्दै गर्दा मेरो पनि उसको झै स्वर मिले जस्तो लाग्थ्यो । तर साथीसँगीलाई सुनाउन भने लाज । बोल्दा पनि मेरो शुद्धाशुद्धि राम्रो थिएन । मेरो रेडियोमा बोल्छु भन्ने सपना झन्डै बिलाउदै गएको । त्यस्तैमा काठमाडौको एउटा एफएममा काम पाइएला जस्तो भो बेतलबी । मेरो भागमा एउटा कार्यक्रम हप्ता भरिमा । बोल्नको लागि सिँहदरबारको स्टिुडियो जानु पर्ने । रेडियोबाट बोल्न पाउने कुराले मात्रै पनि झन्डै हर्टफेल । कार्यक्रम रेर्कडेड थियो ।स्टुडियो गज्जबको थियो । भित्र बोलेको बाहिर नसुनिने अनि बाहिर बोलेको भित्र । हात चलाएको हाँसेको सबै देखिने । बिचमा सिसा राखिएको थियो । त्यही सिसाबाट टेक्निसियनले भित्र बोल्नेले दिएको इसराको गीत बजाउँथे, बिज्ञापन बजाउँथे, रिपार्ट बजाउँथे । म दिएको समय भन्दा अलि अघि पुगेको थिएँ । म भन्दा अघिको कार्यक्रम लाइभ थियो । उनले यसरी नै कार्यक्रम गरे । टेक्निसियन हाँसी हासी कार्यक्रम बजाइ रहेका थिए । लाग्यो मज्जैको मान्छे रहेछन् । लाइभ कार्यक्रम सकियो अनि पालो आयो मेरो । टेक्निसियनले बिभिन्न इसारामा भन्ने तरिका सुझाए । ब्रेकको बेला के भन्ने, गीत बजाउने बेलामा के भन्ने, बिज्ञापनको बेलामा के भन्ने । स्टुडियो छिर्ने बित्तिकै मलाई निक्कै असजिलो भयो । टेक्निे सियनले सिकाए एयरफोन लगाउन लगाए । अनि उनले सुरु भनेर इसरा गरेपछि कसरी बोल्ने भनेर पनि भने । उनी बाहिर निक्लिए । स्टुडियोको ढोका लाग्यो । मैले एयरफोन टाउकोमा राखेँ । त्यसको भारी कति भने मैले तामाकोशीबाट दस पाथी चामाल बोके भन्दा पनि बढि । के बोल्ने भनेर स्क्रिट लेखिएको थियो । पहिलो शब्द नमस्कार स्रोता भन्नु पर्ने । टेक्निसियनले बोल्ने इसारा गरे । मेरो मुखबाट नमस्कार भन्ने शब्द निस्किदै निस्केन । साटोमा स्वास्वा र अँअँअँ मात्रै निस्कियो । टेक्निसियनले सम्झाए । नडाराइ भन । यो लाइभ होइन अलिअलि बिग्रे बनाउन मिल्छ । उनी फेरी स्टुडियो बाहिर निस्किए । अनि फेरी सुरु भन्ने इसारा दिए । स्क्रिटको अक्षर यताउती हल्लेझै पो भोे । अनि डर यसरी बढ्यो कि सासै बन्दै होला झै । नमस्कार नै भन्न नसकेपछि मलाई भाउन्न भो । एसि भएको कोठामा मेरो पसिना पसिना जिउभरी ।  धेरै समयमा पनि भन्न नसकेपछि अघि सम्मको टेक्निसियन डन भए । केहो रेडियोमा बोल्छु भनेर मात्रै हुन्छ । बोली पनि चाहिन्छ नी  । अनि उनले आफ्ना हाकिमलाई गाली गरे कस्ता कस्ता मान्छे पठाउँछन् हाकिमहरु पनि । उनको कुराले सिँहदरबार छिर्दा आफै सिँह झै सम्झेको म अब बिरालो भन्दा पनि तल झरे । दाइ अलि प्राक्टिस पुगेन जस्तो छ । म अलि पढेर फेरी रेकर्ड गरुँ है । उनले ठूलो आँखा तरे । मैले हुन्छ भनेको बुझेँ । सोचे साला कत्रो प्राक्टिसथ्यो कोठामा । कस्तो मज्जाले नमस्कार स्रोता भन्न सक्थे । रेडियो नेपालको एकसय एक नम्बरी कार्यक्रमको नक्कल गर्न सक्थे । अरु त अरु हजुरबाले लाउरेबाट भाले भोजमा उपहार पाएको रेडियो काँधमा झुन्ड्याएर गोठाला जाँदा पनि प्राक्टिस गरिएको थियो । यी सब कुरा सम्झेर आउँदा आफै देखेर वाक्क लाग्यो । अनि यत्रो लामो सपना पुरै हुन लागेर फेरी हराउन लागेकोमा पछुतो पनि । मनमनै सोचे हुन्न केटा यसरी त कम्मर कस्नु पर्छ । रिसाएर डन भएका टेक्निसियनलाई सानो स्वरले सोधे सर बाथरुम कता छ ? अघि दाइ भनेको उनलाई सरमा प्रमोशन गरे तर उनी बोलेनन् । आँखैले इसारा गरे स्टुडियो बाहिर । बाथरुममा पसेर मुख धाएँ । नयाँ जोसले हातमा भएको स्क्रिट पढेँ । खरर गयो । अघि स्टुडियो भित्र यसरी गाको भए । फेरी दोहो¥याएँ । फेरी नअट्की नै खरर गयो । अलि जोस बढ्यो । अनि स्टुडियोमा छिरेँ ।  टेक्निसियनले डाइलग मारे के हो भाइ पिसावै आयो कि के ? मैले केही बोलिन । उनले फेरी स्टुडियोमा छिर्न र बोल्न भने । अनि यदि यसमा बिग्रेमा आफुले केही गर्न नसक्ने कुरा गरे । भित्र छिरेर मैले पनि खरर पढेँ । उनी छक्क परे । आधा घन्टाको कार्यक्रम बोल्न पर्ने जम्मा जम्मी थियो होला दस बाह्रा मिनेट । एक दुई ठाँउमा बिग्रियो । मैले दोहो¥याएँ । भएको हातको स्क्रिप्ट भ्याए पछि बाहिर निक्लिएँ । अघिको डन टेक्निसियन खुशी भएछन् । स्वर त राम्रो रैछनी भाइ बोल्ड । पहिले चाही किन हतासिएको त । पहिले पनि कतै काम गरेका थियौ कि के हो ? त्यसपछि सुरु भएको पत्रकारिताको जागिर अहिले सम्म जारि छ फरक यति हो कहिले कता कहिले कता । अनि गालि गर्ने मानिसहरु फेरिएका छन् कतै सम्पादक कतै प्रेसका साहुजी ।