Wednesday, July 27, 2016

बाघ

बाघ

आमा भन्थिन् ‘कहिले पनि बाघ देखेको छैन नभन्नु । त्यसो भने बाघ रिसाउँछ । जंगलको बाटो हिड्दा सिध्याउँछ ।’
साथीभाइ कुरा गर्थे । ‘आज हाम्रो गाउँबाट बाघले कुकुर लग्यो । बाख्रा खायो । लमक्क लम्केर तानेको । कस्तो डरलाग्दो ।’
ओइ केटा तैले बाघ देखेको छस् ? साथीभाइ सोध्थे ।
‘आपत’ ।
‘देखेको छैनस् ?’
‘चुप’ ।
‘त्यत्रो गाउँमा बाघको जगजगी छ तैले बाघ देखेकै छैनस् ।’
स्कुल सकेर घर जाँदा पुरै जंगलै जंगल जानु छ । म जंगलको राजालाई देखेको छैन भन्ने वई फुच्चे आज बाख्रा कुकुर नखाएर तंलाई नै खाइ दिन्छु पो भन्ला कि ?
‘देखेको छु नि पाटेपाटे हुन्छ । नङ्ग्रा हुन्छ । हाम्रो घरको काली कुकुरनी लैजदा देखेको ।’ लौ जा जे पर्यो भन्दिएँ । ज्यान त बचाउनै पर्यो । किताबमा बंगाल टाइगर भनेर पढेको कुरालाई बढाइ चढाइ दिएँ । केटाहरु ट्वा ।
धेरै पछि काठमाडौ आइयो । घुम्ने ठाउँ धेरै । स्वयाम्भु, पशुपति, एयरपार्ट, हनुमानढोका । सबै भन्दा जान मन लागको जाउलाखेलमा सदरचिडियाखाना । जनवार धेरै छन् त्यसमा बाघ पनि छ । किताबमा पढेको । लौ बाघ हेरिने भो । जिन्दगीको एउटा डर सकिने भो । ढुक्कले बाँचिने भो । मनमा रमाइलो भो । टिकट काटेर सरसर बाघ हेर्न गइयो । अग्लो पर्खाल छ । तारबार छ । मान्छेका भिड छन् । बाघले पानी खाने पोखरी छ । सुत्ने मुढो पनि छ । तर बाघ छैन । लौ फसाद यत्रो मान्छे त बाघको दर्शनका लागि पो छन् । एक घन्टा कुरियो बाघ निक्लदैन । दुई घन्टा कुरियो बाघ निक्लदैन । मान्छे आका छन् एक छिन बसेका छन् फेरी अरु जनवार हेर्न गएका छन् । आफू बाघ नहेरी नजाने भनेर बसेको बस्यै छ । साँझै पर्न लाग्यो बाघ निक्लेन । अब फर्कनुको बिकल्प भएन ।
कोठामा दाइले फ्याट्टै सोधे ‘आइ केटा देखिस बाघ ?
‘चुप’ ।
‘देखिनस् ?’
‘चुप ’ ।
‘लौ यो त चिडियाखाना गएर पनि बाघै नदेखि आएछ ।’
दाइले कुरा बुझे । यो पटक पनि बचियो ।
त्यस पछि धेरै समय सहर तिरै बित्यो । पछि मात्र थाहा भो । हाम्रो गाउँमा पाटेबाघ अर्थात बङ्गाल टाइगर नहुने रैछ । हामी लेकाली भएको फाइदा । म स्कुल पढ्ने बेलामा बाख्रा, कुकुर खाने त चितुवा पो रहेछ । बाघै हेर्नको लागि नेपालकै धेरै बाघ भएको बर्दिया निकुञ्ज पनि पुगियो । जंगल घुमाउने साथीको उपनाम नै बर्दिया टाइगर । उनले अरु बेला देखिने ठाउँमा हामीलाई लगे । बाघको हिडेको पाइतालाको छाप देखियो । बाघ देखिएन । साथीले भने ‘तंपाईहरु अनलक्की ।’
फेरी अर्को मौका जुर्यो चितवन निकुञ्ज घुम्ने । नेपालको दोस्रो धेरै बाघ भएको ठाउँ । नाम त जंगल सफारी । त्यत्रो जंगलमा गाडीमा बाघ हेर्न हिडेको । के देखिन्थ्यो ? देखिएन । घुमाउने गाइडले गैडा देखाए । त्यसैमा चित्त बुझाइयो ।
केही समय भयो कोरिया आएको । रमाइलो गर्ने ठाउँ त कति छन् कति । पैसा न चाहियो । छलफल भो । निष्कर्ष निस्कियो इभरल्यान्ड जाने ।  रोलरकास्टर खेल्ने ।
सिटमा बसियो । हिडेको इसारा भो । तेस्रो तेस्रो ठीकैथ्यो । एक्कासी सिधै आकाश तिर चढ्यो । लौ ज्यान धरापमा छ । त्यति सोच्न पाएको थिएन । आकाशमै पुगे झै भयो । रोकिन्छ कि झै गरेर सिधै तल खस्यो । बाँच्नु यति रैछ कि क्या हो । के के न रमाइलो गरौला भनेर आको । खाइस । फेरी उस्तै आकाशमा पुगेको छ । फेरी सिधै तल बजारेको छ । होसहवास छैन । केही कुरा नै देखिन्न । पिलिक्क गर्छ । टाउकोमै ठोकिएला जस्ता काठका बाटो छन् । ठोक्कि पो हाल्यो । ठोक्किदैन । खसिपो हाल्यो । खसिदैन । अब चाही पक्का मरिन्छ भन्ने ठोकुवा गर्ने बेलामा बिस्तारै स्पिड कम भो । रोकियो । अघि माथी पुर्याउँदै फाल्दै गर्दा आफ्नो जीउ र खुट्टा आफैसँग छैन जस्तो लागेकोथ्यो । हेरेको रैछ । बस बाँचियो । जिन्दगीभरको लागि पुग्यो रोलरकोस्टर ।

‘के गर्र्ने ?’
‘केही नगर्ने ।’
‘फर्कने ?’
त्यत्रो पैसा तिरेको कताको एउटा खेल खेलेर फर्कनु ?
हेरेको जुपेटेरिया रे । लौ छिरौ । जे त देखिन्छ ।
मान्छेको लाइन छ । एक छिन बसेर फर्किन खोजेको आफू भन्दा पछि पनि लाइन थपिए । भैगो केही न केही त कसो नदेखिएला । लाइनमा बस्दा चराका स्वर बजेको बज्यै छ । आफूत अघि घुमेको रोलरकोस्टरको धङधङी छदैछ । चराचुरुङी त कसो नदेखिएला । आधा घन्टा जति कुरे पछि टाटेपाटे बाघ जस्तै गाडी आयो ।
जालीले साँघुरो गल्लीबाट गाडी अघि बढ्यो । तारेबारको घेरामा एउटा ढोकामा खुल्यो । गाडी छिर्यो । त्यो ढोका बन्द भो । अर्को ढोकाबाट गाडी दुई मिनेट हिड्यो होला । लमक्क लमक्क लम्कदै गरेको बाघ पो छ । लौ किताबमा पढेको, फिल्म हेरेको कति जोड जबरजस्ती गर्दा पनि नदेखेको बाघ छ । अग्लो । ज्यान मिलेको । टाटेपाटे । विस्वासै लागेन ।
पाँच मिनेट गाडी गुड््यो होला । सिंह पनि देखा पर्यो । जंगलको राजा भनेको सुनेको । मान्छेको बसमा परेपछि के लाग्छ ? भालु त सानो सानो मिठाई जस्तो खानाको लागी दुई हात जोडेर नमस्कार गरे झै पो गर्छ । अगाडी गयो थरी थरीका जनवार छन् । आफ्नै तालका । जे होस आफूलाई भने नेपालमा हेर्न नपाइएको बाघ हेर्न पाइयो । पचासहजार वन खर्च भए पनि एभरल्यान्ड घुमेर पैसा फिर्ता भो । गर्मी बिदामा एक दिन घुम्नु भए हुन्छ तंपाई पनि 

Thursday, February 25, 2016

गाम्बात्ते

गाम्बात्ते
                           
‘गाम्बात्ते’
उसले भर्खरै भनेको शब्द
अर्थ मेहनत गर ।

कति गर्नु ?
मेसिन भन्दा अघि छु ।
एक घन्टामा
चौबिस सय प्लेट ‘रामेन’
नविराई पठाउँछ मेसिन
म नविराई त्यसमा ‘सस’ हाल्छु
दुईटा छ मेसिन
म एक्लै भ्याउँछु
मेसिन भन्दा कम छु र ?

मैले मकै वीउ त्यति हालिन
आलुको दाना त्यति रोपिन
कोदालो त्यति चलाईन
हलोको सियो त्यति गाडिन
जति मैले ‘रामेन’मा ‘सस’ हालेको छु
दुईटा मेसिनलाई हराउँछु
अझै ‘गाम्बात्ते’ ।

दोहोरी नसुनेको पनि धेरै भो
कुन चलेको छ बजारमा
म पहिले कै दोहोरी सम्झन्छु
बोल्न हुदैन यहाँ
तै पनि मनमै गाइदिन्छु
सुरिलो रुख सल्लाई हो
खोजेको तिमीले कल्लाई हो ?
छेउमै बसेको
‘स्याइन’ अर्थात
कम्पनीको कर्मचारी
ठूलो स्वरमा भन्छ ‘गाम्बात्ते ओमाए’
अर्थात मेहनत गर मुर्ख ।

दिनभरि भैसी गोठालो पछि
आमाले मेरो लागि
दूई घान मकै भुट्दिन्थिन
मकै चपाउँदै उतिसे घारी
थर्किने गरि गाइदिन्थे
शैलुङे लेकको शेर्पिनी
माया गरौ भन्दा तर्किनी
आजै छिनो फानो गरिहालौ
माया गर्ने कि नगर्ने ?

यता मेसिनलाई जितेर
थाकेको शरीर
बासी खाना
‘देन्सिरेन्ची’ अर्थात खाना तताउने
मेसिनमा तताएर खानु छ
अनि फेरि सुन्नु छ
‘नान्दे ओसोइ ओमाए गाम्बात्ते अर्थात
किन ढिला मुर्ख मेहनत गर ।

अलिकति काम गरे पछि
ढाड नदुखे पनि दुखेको नाटक गर्थे
आराम गर
मायालु हातले ढाड थिच्दै आमा भन्थिन
आजकाल पनि सोध्छिन्
कस्तो छ भनेर
आरामै आराम छ भन्दिन्छु
किनभने
म पैसा टिप्न आएको मान्छे
अँध्यरो गाउँ छाडेको मान्छे
सुखी भएको प्रमाणका लागि
म महानगर भरिको अग्लो
‘बिल्डिङ’को अघि डराई डराई
किस्ताबन्दीमा लिएको ‘आइफोन’ले
‘सेल्फी’ खिच्छु र राख्दिन्छु फेसबुकमा
शायद मेरो फेसबुक हेर्नेले
आमालाई भन्दिछ कि छोरोले मस्ति गर्दैछ
तर म आमालाई कहिल्यै भन्दिन
मलाई स्याइनले सधै
रातो आँखा लाउँदै भन्छ
‘गाम्बात्ते ओमाए नान्दै ओसाई’
अर्थात मेहनत गर मुर्ख किन ढिला ?