Thursday, May 31, 2012

केही छोटा कबिता


केही छोटा कबिता


आफन्तको अभिनयमा
दख्खल राख्नेहरुसँग
प्रश्न सोध्न मन लाग्छ
शहरले सिकाएको कि 
तिमीले शहरलाई सिकायौ ? 


भाग्यमा
नलेखिएको होइन
यो शहरमा सम्पती
नभएर पो नत्र मेरो भावी मै हुन्थे । 


कुनै इनबक्सको
म्यासेज झै
चाहेर मेटिने भए सम्झना
कसम म डिलिट अल थिचिदिन्थे
नहुने र पो सम्झेको सम्झैकै छु । 



भनेको भए
गरेको भए
हुने भए
भएको भए
मेरा सपनाका संसारसुनाउने वाक्यका क्रियापदहरु । 

Wednesday, May 23, 2012

गजल



गजल 



के रहर हुन्छ र मन मरेको बेला
आफ्ना मुटु अन्तै घर सरको बेला 



कति दुःख बाँकी नै छ यात्रा भरिमा
अध्यारो उज्यालिने जुन झरेको बेला



साथी भाइ साहरा अप्ठ्यारोमा न हो
चाहियो किन लौरो खोला तरेको बेला 



पिडा कति हुन्छ सोचे मात्र पुग्छ
आलो घाउ माथि नुन छरेको बेला



जेष्ठ ७, २०६९, थोकरबस्ती, डेराटोल


Tuesday, May 22, 2012

असजिलो पत्रकारिता




असजिलो पत्रकारिता
गोकुल ध्वर्जे तामाङ

पत्रकारिता आवाज बिहिनको आवाज हो अनि सत्य तथ्य कुरालाई भन्नु, लेख्नु, देखाउनु उसको धर्म र कर्म हो । तर बेला बेलामा यो धर्म र कर्मबाट पत्रकार चिप्लिएको चर्चा हुन्छ । अनि पत्रकारिता आवाज बिहिनको आवाज नभएर केही शिक्षित र दीक्षितको पर्चाकारितामा बद्लिन्छ भनिन्छ ।
पत्रकारको कुनै जात हुदैन । थर हुदैन । न त कुनै धारणा नै हुन्छ । उ जहाँ जान्छ कुनै बिचार बोकेर जादैन । उ त्याहाँ जे भएको हो त्यो सुन्छ, खिच्छ, रेकर्ड गर्छ । कुनै बिबादित कुरा छ भने चेक गर्छ । अनि फेरी डवल चेक गर्छ । भेरिफाई गर्छ । सत्य तथ्य कुरा निकाल्छ । अनि छाप्छ, भन्छ, देखाउँछ । यो थेउरीमा थन्किाएका कुरा भए । नेपालको पत्रकारिताको कुरा गर्ने हो भने यहाँको पत्रकारिता कहिल्यै आवज बिहिनको आवाज हुन सकेन ।
नेपालको पत्रकारिताका बाजे गोरखापत्र नै शासकको जय गान गाउन सुरु गरिएको थियो । त्यो गोरखापत्रे पत्रकारिताको संस्कार देशमा जे जस्तो शासन ब्यबस्था आए पनि परिवर्तन भएन । यो जहिले पनि हुने खाने र राजधानीका कुरा मात्र ठूला ठूला ब्यानरमा छाप्छन् । यो संस्कार अहिले ब्यबसायिक भन्ने सञ्चार माध्यमले बिस देखि उन्नाइस गरे होलान् त्यो भन्दा फरक भएको छैन । हिजो शासकका गुणगान गाउने पत्रकारिताको केही मोडेल परिवर्तन भएर साहुजी ब्यापारीका आदेशमा चल्ने पत्रकारिता भए होलान् ।
अहिले ब्यबसायिक पत्रकारिताका कुरा गर्ने थलो धेरै छन् । पत्रकारका नाममा केही बिदेशी दाताबाट कुम्ल्याउने सक्ने पनि छन् । तर बास्तबिक पत्रकारिता गर्नेहरु अहिले पनि ९० दिनमा महिना नपुगेको अबस्था छ । अनि तिनका मनमा थोरै तलव पाउने लालसा धेरै छ न कि आवाज बिहिनका कुरा सुन्ने र भन्ने ।
धेरै पत्रकारहरु गुण दोष सत्य तथ्य भन्दा पनि आफ्नो कान नछामि दौडिने जमात भएको छ । यसको उदाहरण भरखरै रिपोर्टस क्लवमा मन्चन भयो ।
नेपाल जनजाती महासंघ लगाएतका संस्थाले तीन दिने नेपाल बन्दको आयोजना ग¥यो । पहिलो दिन केही ठाँउमा भन्नेहरु ¬¬¬¬ठाँउठाँउमा पनि भन्छन् पत्रकार माथि दुर्बब्यहार भयो । कतै सवारी साधान तोडियो । त्यही कुरा बुझ्न जनजाति महासंघका महासचिव आङकाजी शेर्पालाई पत्रकारको क्लव डाकिएछ । उनको भन्दिएछन् नेपाल पत्रकार महासंघका धेरै पत्रकार बाहुन, क्षेत्रीका कुरा मात्र भन्छ, लेख्छ, सुनाउँछ । त्यसैले यो संस्था ब्राह्मण पत्रकार महासंघ भयो । रिपोर्टिङमा गएको पत्रकार एक जना रिपोर्टर जुरुक्क उठेर आङकाजी आउट भनेछन् । साथ दिने अरु पनि भए । आङकाजी आउट, इस्यु अफ द डे भयो । कतिले लाइभ गरे । कतिले थपथाप गरेर समाचार बनाए । तर कसैले समाचार संकलन गर्न गएको पत्रकारले बक्ताको बिचार र कुरा मन नपरेरै आउट भन्न मिल्ने कि नमेल्ने कुराको बहस गरेनन् । न त एक शब्द खर्चिए न कुनै पत्रकारिताका पण्डित भन्ठान्नेले नै यो कुराका बारेमा बोले ।
अव प्रश्न उठेको छ पत्रकार आफैले स्टेजमा बोल्ने वक्ता बोलेको आधारमै आउट भन्नु बहिस्कार गर्छु भन्नु कुन खालको पत्रकारिता हो । रिपोर्टिङ गर्ने कुन तरिका हो । यसको बारेमा पनि बहस हुन पर्छ । यदि पत्रकारिता नै गरेका भए ती महानुभावले आङकाजी शेर्पाले यसो भने भनेर उनको संस्थामा गएर लेखे, देखाए, बजाए हुदो हो । पहिले पहिले पनि उनले त्यस्ता खाले बाइट बोलेका भए खोजेर हेरे हुदो हो । अनि त्यस्ता सन्कि जनजाती नेता भनेर भने हुदो हो । यदि जान्ने पत्रकार भए उनले भने जस्तै बाहुनका समाचार मात्रै आएछन् त भनेर कन्टेन्ट एनालाइसिस गरे हुदो हो । रेडियो र टेलीभिजन नसके पनि पत्रिकाको सकिन्थ्यो होला । देशका राष्ट्रिय, लोकप्रिय, धेरै बिक्रि हुने, बिस्वासिलो, दैनिकहरुको एक महिना देखिको बिषय हेरे हुदो हो । तिनमा निस्किाएका लेख रचाना पढे हुदो हो । अनि गुदी कुरा निकालेर आङकाजी सही छन् कि बाहियात भने, लेखे हुदो हो । देखाए हुदो हो । त्यसो भए आउट भन्नु भन्दा पत्रकारको ओज त बडथ्यो नै आङकाजी सत्य असत्य पनि छुटिन्थे । त्यस्तो सम्भव नभए कार्यक्रममै बोलेको बाइट चार चोटी दर्शकलाई वाक्क लागे पनि देखाए हुदो हो । त्यसो गरे पत्रकार महोदयलाई चार महिना रोकिएको तलव एकै पटक पाएको आनन्द आउँदो हो ।
देशको चौथो अंग भन्ने पत्रकारका समस्याका र चुनौतीका बारेमा बोल्ने नेपाल पत्रकार महासंघ छ । महासंघ अरु बेला गुपचुप बस्छ । मानौ पत्रकार कुटिए मारिए मात्र त्यो बोल्छ अरु बेला त्यो कुम्भकर्ण हो । बिउझन पत्रकारको घरपरिवारमा चुल्हो नबोलेको कुराले छुदैन । छोराछोरीको स्कुल फि तिर्न नसकेर स्कुलबाट गलहत्याएको कुराले छुदैन । छुन्छ त कुटेका र मारेका कुराले मात्र छुन्छ । महासंघको सचिव जगत नेपाल एउटा रेडियो अन्तबार्तामा हाम्रा पत्रकारले आठ महिना देखि तलव नपाए पनि रिपोर्टिङ गरेका कुरा गरे । तिनलाई धम्क्याउने, कुट्ने, सवारी साधान तोडफोड गर्ने काम एकदम अक्ष्यम्य अपराध हो । त्यो आङकाजीले सिध्याउने धम्क्यो । उनले थपे ।
सबै पत्रकारको जिम्मा बोकेर हिडेको महासंघलाई थाहा हुन पर्ने हो । आङकाजीले धम्क्याएका मात्र हुन् । तिनले कतिलाई सिध्याउँछन् । उनी तिर क्यामारा तरस्याएर बसे भो । त्यो राम्रो इन्भेस्टिगेटिभ रिपोर्टिङ हुन्छ नै । तर आठ आठ महिना तलव नपाउने पत्रकार बन्नु, जनजातीको दुई चार धकाल धकेल भन्दा चर्को कुरा हो । जावो एक जनाले धम्क्याएकै भरमा बेलुकी पुरै मण्डला थर्काउन सक्ने महासंघ यत्रो महिना तलव नपाउँदा के हेरेर बस्छ ? हक हितका कुरा उठाउनु पर्दैन । खाली आङकाजीका कुरैलाई मात्र चर्को बनाउनु पर्छ ?
कुट्नु, तर्साउनु, धम्क्याउनु आफैमा कुनै कुराको समाधान होइन । त्यस्तो कामको बिरोध गर्नु पर्छ । तर दिनदिनै नयाँ इस्सु र नयाँ एङगोल खोज्ने पत्रकारले आफ्नो आङको भैसी देख्ने बेला अझै आएको छैन ? बोल्नु चाहि आवाज बिहिनका कुरा गर्ने अनि काम चाही ठूलाबडा शासक र साहुजीका मात्रै चाप्लुसी गर्ने पत्रकारिता कहिले सम्म चल्ला ? आमसञ्चारबाटै आफ्नो धारणा बनाउने दर्शक पाठक स्रोताले कस्तो धाराणा बनाउला ? यो चाहि असजिलो उतर बन्दैछ नेपाली पत्रकारिताको लागि ।

Thursday, May 17, 2012

‘शायद’ राम्रो बन्न सकेन


‘शायद’ राम्रो बन्न सकेन

सुरज सुब्बा चल्तिका फिल्म लेखक थिए । फिल्म उद्योग रुपि जाहाजमा उनी पछिल्ला एउटा डिपाटमेन्टमा थिए । त्यसैको आधारमा जाहाज त चल्थ्यो तर कहाँ सम्म के कस्तो स्पिड बनाउन गतिको निर्धारण गर्दैनथे । अर्थात उनी क्याटनसिपको रुपमा चलचित्र रुपि जाहाजको अघिल्ला सिटमा थिएनन् ।
धेरै बर्षको नेपाली चलचित्रको ह्याउ हेरे पछि उनले फिल्मरुपी जहाजको अघिल्लो सिटमा आएर केही राम्रो गर्ने हल्ला गरे । अनि उनले बनाएको फिल्ममा युवाका कथा भन्नका लागि कुनै जमनामा चलेको भनिएका फिल्म क्याप्टन अर्थात निर्देशक र अहिलेका एक टेलीभिजन साहुजीको दालरोटी खाने (पत्रिकामा पढे अनुसार) हाकिमका छोरा संयम पुरीलाई लिए ।
फिल्म रुपी जहाजमा उनले जुन मेहनतका साथ प्रोमो र पोस्टर बनाए त्यो हेर्दा केही नयाँ बनाएछन् भन्ने धेरैलाई लाग्छ । तर उनको जहाज रुपी फिल्म छिर्र्ने हो भने यस्तो लाग्छ यात्रा गर्नु भन्दा पहिले सम्म ढुक्क भएको यात्री जव जहाज भित्र छिर्छ उसको यात्रा अघि जाँदैन भन्ने भान हुन्छ । यात्रा केही अघि बढेपछि त ज्यानकै खतरा हुन्छ । अर्थात यो फिल्म हेर्नेले पैसा र समय दुबै गुमाउँछ नहेर्नेले बचाउँछ ।
फिल्म जव सुरु हुन्छ त्यही देखि नै देखाएका दृश्य के का लागि भनेर लेखक सुब्बा कन्फ्युज छन् । एउटा दर्शक भएर भन्दा फिल्ममा प्रयोग हुने दृश्यले पल्लिा भागका कथालाई जस्फिाइ गर्नका लागि अघिल्ला दृश्य राखिन्छ । सुब्बाको फिल्ममा यस्ता धेरै दृश्य छन जसलाई हटाए फिल्म चुस्त दुस्त हुन्छ ।
निर्माता सुनिल रावल आफै हिरो भएकाले पनि सुब्बालाई गा¥यो भएको हुन सक्छ । उनको साथीको फन्टुसीले कथा कता बगेको हो भन्ने निक्कै कन्फ्युज गराउँछ । मलाई थाहा भए अनुसार ड्रग्स खानेहरु दस बर्ष पहिले चाहि थिएनन भन्ने होइन । उनले अहिलेको पुस्ता खतमै खतम र दस बर्ष अघिका राम्रै राम्रा बनाएका छन् ।
फिल्मीका सबै पात्र स्ट्याबलिस्ट छैनन् न त कुनै ठाउँ नै छ । मुख्य पात्रहरुकै बारेमा आफै बोल्छन् दृश्यमा देखाइदैन । उनले पुरै कलेजको कथा भन्ने फिल्म भरि नाम कतै देखाउदैनन ।
कीर्तिपुरको सेन्टरडिपार्टकै भवनमै खिचिएको भए पनि कुनै बेनामी कलेजको बोर्ड लगाउन सकिन्थ्यो होला । दृश्यहरु यस्ता छन् कि काठमाडौको सैनिक मञ्च देखाएर दोस्रो इनडार सर्ट प्रहरी कोठा देखाइन्छ । प्रहरी थानामा बस्ने कोठाको दुई मिनेट जति एकै फ्रेम राखिन्छ । अनि पात्रहरु आउने जाने गर्छन् शायद टाइमल्याप्स भन्छन क्यारे देखाउन खोजिएको होला अनि यो दृश्य के का लागि ?
बाबु भोगटी र करिष्मा शायदमा किन आए ? छुट्टिमा घुम्न जाँदा प्वाक्क भेट्ने बाबु बर्षो खोज्दा कता थिए । बिद्यालयको उद्घाटन बोलाउने नाचगान गर्ने तर न बिद्यार्थी न बिद्यालय ।
फिल्मको कुनै तयारी थिएन भन्ने फिल्मको लोकेसन हेरे हुन्छ । अधिकांश समय दोलखाको खरिढुङ्गा देखाए पनि अपुग दृश्य नेपाली फिल्मको खुल्ला स्टुडियो चौभारमा खिचिएको छ । ठाउँ फरक भएकोले जबरजस्त जता पायो त्यतै जोड्ने पराम्पराको सेतु यो फिल्म बन्न सक्छ ।
प्रिन्सिपल बनेका युबराज लामा फिल्म भरिनै अनुहार नबिगारी बोल्दैनन् यस्तो लाग्छ उनी एकदमै कारकापमा अभिनय गर्दैछन् । सुब्बालाई ताली कति मन पर्दो रहेछ भने जस्ले जे भने पनि तालि बजाउन लगाउँछन् । पढाउने शिक्षकलाई गाले गरे पनि तालि, कुटाकुट गरे पनि ताली, हुँदा हुँदा मिटिङ बसेको बेलामा पनि राम्रो कुरा गरे ताली ।  फिल्म भरि प्रयोग भएको र्पास्व संगीत र म्युजिक प्रयोग यति धेरै छ कि दर्शक वाक्क हुन्छन् । संयोम पुरीको टीम आयो कि शायद शायद कराउने अनि युवराज लामा आयो कि गुरु ब्र्र्रंम्ह् .... । निर्माला रावल जति ठाउँमा चढ्छन सबै गाडी फरक फरक छ । उनले एक पटक हामी यसो गर्छौ भन्दा बाहेक फिल्म भरि देखिने रावलको त्यति धेरै गाडि छानी छानी चढ्ने न त ब्यतित्व बनाएका छन् न त्यस्तो काम नै । प्रहरीको हातको बन्दुक पड्काएर आत्महत्या गरेका दृश्य झन बिजोग लाग्दो छ । हाम्रो प्रहरीले बोक्ने बन्दुग फिल्ममा देखाए जस्तो सजिलै पट्किदैन । त्यो सामान्य मानिसलाई पनि थाहा हुन पर्ने हो ।
सुब्बाले बनाएको फिल्म हेर्दा कागको कथाको याद आउँछ । कुनै बेला काग राम्ररी आफ्नै तालमा सुरु सुरु हिड्थ्यो । एक दिन उसलाई हाँसको हिडाई मन प¥यो । कागलाई लाग्यो मेरो तालले हिडेर हुदैन म पनि हाँस ढलक ढलक ढल्किएर हिड्नु पर्छ । कागले हाँसको हिडाइ कपि गरे जानेनन् । आफ्नो पनि बिर्सियो । त्यही भएर काग फुत्रुक्क फुत्रुक्क उफ्रिने भयो । सुब्बा साहेवले पनि युवाका कथा लिए । दोस्तको छोरालाई हिरो बनाए । चोक चोकमा केही छ भन्ने पोष्टर डिजाइन गरे । तर उनले हाँसका कुरा देखाउन हाँसको तौर तरिका सिकेनन् । त्यसैले उनको शायद काग बन्यो फुत्रुक्क फुत्रुक्क उफ्रिने ।
पात्रहरु नयाँ र युवा छन् । संयम पुरीलाई निर्माता साहेवले खासै रोल दिएका होइनन् । पुरीले केही ठाउँमा राम्रै अभिनय गरेका छन् । पुराना कलाकार करिष्मा, युवराज, कबिता, बाबु, झरनाको अभिनय दमदार छैन । बरु फिल्म भरि जमेका भने वीलसन राई छन् । उनले पुरै फिल्म धानेका छन् भन्दा फरक पर्दैन । सञ्जय लामाको खिचाइ काम चलाउ छ । स्याडोजको संगीत चर्का छन् । जस्लाई निर्देशकले बिनाप्रसंगै बजाइ दिन्छन् ।
अरु कलाकारलाई नयाँ छन् । राम्रो अभिनय सिक्दै होलान् । एकै स्किनमा एकै फिल दुखीत मुडमा हुन पर्ने भए पनि अरु मुडमै देखिन्छन् । अभिनय मन छुने छैन ।



Tuesday, May 15, 2012

लेख्न डराउँछु

लेख्न डराउँछु 

मन अतालिन्छ
र लेख्नै लागेको कलममा बिर्को लगाउँछु
किनभने लेख्न डराउँछु । 

कलमका निभहरु
कलमका मसिहरु
छापिन खोज्छन
खाली पानामा
नलेखिएको पानामा
धेरै कुरा लेख्न सकिन्छ  ।

कुनै एक पाना
कथाको प्लट नमिलेको झोकमा
कबितामा स्वाद नआएको झोकमा
लेखिएको कुरा नमिलेको झोकमा
धेरै थान अरु पानाहरुमा
गाडिन्छन् निभहरु
च्यातिन्छन निर्दोष पानाहरु
पोखिन्छ मसीहरु ।

जहाँ लेखिन सक्थ्यो
केही थान पे्रम पत्रहरु
निक्लिन सक्थे लैलामजनू
मुनामदन या अरु कोही ।
जहाँ लेखिन सक्थ्यो
केही थान सत्य वचन
र जन्मन सक्थ्यो बुद्ध, क्राइस्ट,अल्लाह या अरु कोही ।

यहाँ मनका कुरा
लेखिन्छन् देखाउका लागि
यहाँ बोल्छन शब्द भन्नका लागि ।

त्यसैले म लेख्न डराउँछु ।

छतालिन्छ शब्दहरु
कोरिन चाहन्छन् अक्षरहरु
बन्न चाहान्छन् वाक्यहरु
बन्न चाहान्छ उएटा सिङगो काब्य
तै पनि म लेख्दिन
यी अक्षरहरुको बेकामे वाहियात भए भने
काम नलाग्दो र भद्दा भए भने
पढ्नेहरुले गाली गरे भने
त्यसैले म लेख्न डराउँछु ।


Saturday, May 12, 2012

सामाजिक सञ्जालमा देशका कुरा

सामाजिक सञ्जालमा देशका कुरा
गोकुल ध्वर्जे तामाङ

फेसबुकमा अचेल निक्कै चल्ने गर्छ संघियताको कुरा । धेरै जस्तो खस र बाहुन साथीहरुले यसको प्रयोग जातिय आधारमा बन्ने भनिएको राज्य पुर्नसंरचनासंग जोडेको देख्छु । उनीहरुले जातिय संघियता माग्नेलाई कतै सुंगुरसँग जोडेका छन् भने कतै बिदेशबाट ल्याएको डलरले कराएको आवाज भनेको छन् । उनीहरुले सके सम्म तल्लो सस्तको शब्द र फोटोलाई प्रयोग गरेका छन् । अनि धेरैले चाही यो देश टुक्राउने अराष्ट्रिय तत्वको रुपमा जोडेका छन् ।
धेरैलाई सचेत नेपालीलाई थाहा हुन पर्ने हो यस्तो कार्य आफैमा बेठीक हो । अनि यसरी बेढंगले बेलज्जा पुर्बक इन्फमेसन सेयर देशको माया देखाउँदैमा अढाइ सय बर्ष भन्दा लामो समय देखि पेलिएको आदिबासी जनजाति, दलित, मधेसीका कुरालाई कम आक्न सकिन्नन । ती पेलिएका थिएनन् भन्ने पनि होइन ।
मलाई आज सम्म कुनै आदिबासी जनजातिले देश टुक्राउछौ भनेको सुनेको छैन । ती धादिङका तामाङ होस या कास्कीको गुरुङ अथवा पुर्बका राई लिम्वु नै किन नहोस । त्यसो नभनेकै अबस्थामा खस र बाहुन साथीहरुलाई कस्ले भन्दो रैछ देश टुक्राउने कुरा ?
इतिहास हेर्ने हो भने आदिबासी जनजातिको इतिहास खस र क्षेत्रीको भन्दा पुरानो छ । धर्ती या देशको माया खस र क्षेत्रीलाई जति लाग्छ त्यो भन्दा कम जनजातिलाई लाग्छ भन्ने मलाई लाग्दैन । के यो देश खस र क्षेत्रीको देश भक्ति भाबले मात्रै नटुक्रिएको हो ? अनि देशको जिम्मा खस क्षेत्री र बाहुनलाई मात्रै छ ? 
देश टुक्राउँछ भन्ने एक तर्फी भनाइले ढोङ्गी देश भक्त आफैले आफैलाई बनाउने भन्दा अरु बनाउदैन । बरु बहस हुन पर्छ हिजो देशको शासन बिरुद्ध बोलेकैले झन्डै अढाइ सय बर्ष पहिले देखि पिपा बन्ने तामाङका अनि कुरा हुन पर्छ जागिर खानैका लागि पुरै आफ्नो परिबेश जात बदल्न बाध्य तामाङ गुरुङका । मधेसमा जन्मेकैले जहिल्यै दोस्रो दर्जाको नागरिक भएर बाँच्न बाध्य मधेसीका । किन उनीहरुलाई पटक पटक दबाइयो ? किन उनीहरु मूलधारमा आएर काम गर्न सकेनन् ? अनि तिनलाई मुलधारमा कसरी ल्याउने ?
जातिय आधारमै बर्गका बिभेद छ । त्यसलाई कम गर्नका लागि बहस, छलफल, अन्तरक्रिया हुन आवश्यक छ । नेपाली  मिडियाको प्रयोग हुन पर्छ । जस्ले जति जानको छ त्यो सिप दिमाग देश बनाउन लगाउने हो कि बिर्गान बेला र मौका आहिले आएको छ । बनाउने हो भने खस बाहुनले हिजो हेपिएका चेपिएकालाई माथि उठाउनु पर्छ । अधिकार माग्नेलाई बिखन्डनकारी , देशघाती भनेर भन्ने होइन । समान अधिकार दिनका लागि सहयोग गर्नु पर्छ । यसरी सहयोग गरे समाजमा अमन चैन हुन्छ । समान समाबशी र दीगो रुपमा स्थायी शान्ति आउँछ ।
जनजातिले भनेका देश टुक्राउने होइन । मूलधारका बाहुन, खस जतिकै हुन भनेको हो । शासन ब्यबस्थामा भाग लिन पाउँ भनेको हो । नेपाली भएकैले जति खस र बाहुन समुदायले पाएका छन् हामी पनि त्यही बराबर हुन चाहान्छौ भनेको हो । यसो भन्दा देश टुक्राउन खोज्दैछ भन्नु कतिको जायज हो ? के जानजाति दलित मधेशी फेरी पनि राणा दरबारिया वा पञ्चायत ब्यबस्थाको बेलामा भए जस्तै शासनमा शासित भएर चुप लागे चाहि देशमा हिन्दू धर्मले मान्ने राम राज्य नै हुन्छ ?
हिजो देखि चलि आएकै चलन हो अधिकार खोज्ने जो कोही शासन सत्तामा बस्नेहरुका आँखामा पापी, अधर्र्मी हुन् । राणा कालमा अधिकार माग्नेलाई देशद्रोह र राजगाथ ताकेको अभियोग लागेकै हो अनि पञ्चायत कालमा अराष्ट्रिय तत्व भएकै हो । अहिले लोकतान्त्रिक गणतन्त्र आएको बेलामा शासन सत्ताका छेउछाउमा बस्नेहरु अधिकार माग्ने जनजातिलाई देश टुक्राउने बिखण्डनकारीका रुपमा देखाउँदैछन् । प्रस्तुत गर्दैछन् ।
देशको उन्नत रेखा कोर्ने काममा एउटै घरको परिवार सबै समान भए घर राम्रो होला कि नराम्रो । सबै मिलेर पिछडी परेका आदिबासी जनजाति, मधेसी, दलितलाई अग्रअधिकार दिएर सबै समान होऔ भनिएको हो । अनि देशको उन्नत भबिष्यका लागि सहकार्य गरौ भनिएको हो ।
हाम्रो देश बहु भाषा संस्कृति र संस्कार बोकेको भनेर भनिए पनि अहिले देश एउटै बनाउनु पर्छ भन्नेहरु एउटै भाषा एउटै भेष भनेर उफ्रिदै छन् । हिजो राजा महेन्द्रका राष्ट्रयता भन्दा चर्को यो राष्ट्रयता आफै कतिको जायज होला ?
खुकुरी, तरबार र भाला प्रर्दशन गरेर देशमा एकता आउँदैन । न त त्यस्ता फोटा अरुलाई टयाग गर्दैमा । त्यो दुनिया सबैलाई जगजाहेर छ । हिजो हिजो भएका देशका क्रान्ति समाजलाई राम्रो बनाउनकै लागि भएका हुन् । अहिले हामी जनताले जनतालाई जनताद्धारा गरिने भनिएको शासन पद्धतीमा छौ । त्यसैले आआफ्नो बेली राख्न पाउनु सबैको अधिकार हो ।
सामाजिक सञ्जाल अहिलेको आफ्नो बिचार पोख्न सकिने एउटा सजिलो माध्यम हो । यसमा जायज तर्क गरेर समाजलाई देशलाई केही राम्रो पनि गर्न सकिन्छ । अनि अरुलाई बिखण्डनकारी भनेर अफै बिखण्डन गर्न पनि सकिन्छ । यो समय हामी मिलेर केही गर्ने बेला हो । त्यो केही गर्न नसके पनि सामाजिक सञ्जाल मार्फत गलत इन्फरमेसन र समाजलाई उत्तेजित पार्न खालको काम नगरेकै राम्रो । होइन भने यो दोहोरो होला ।
अरु कुरा पछिल्ला भेटमा गरौला । तंपाईको असल प्रतिक्रियाको अपेक्षा । जय होस ।

Tuesday, May 1, 2012

लोपउन्मुख जाती सोनाहा



लोपउन्मुख जाती सोनाहा 

प्रशस्त धान फल्ने राजापुरको पाताभारमा छ कमला सोनाहाको घर । अरु मानिसले अन्न भण्डार मान्ने बर्दियामै बसेपनि कमलाको खेतीपाती छैन । आठ जनाको परिवार पाल्न उनी घर छेउबाट बग्ने कर्णाली नदीमा भर पर्छिन ।

कमला सोनाहा
घरमा केही हुदैन । खेती किसानी छैन । एक कठ्ठामा कहाँ पुग्छ खान । आठ परियार ।

कमला जस्तै १२ सय जति मानिसहरुको जीविका खोलाको वालुवामा सुन खोजेरै चल्छ । खोलामा सुन खोज्ने भएकैले उनीहरुलाई सोनाहा भन्ने गरिएको हो । अहिले सोनाहा जाति अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । खोलाको बालुवामा सुन खोज्ने बाहेक माछा मार्नु उनीहरुको परिवार पाल्ने अर्को उपाय हो ।

कुनै समय सोनाहाहरु धेरै माछा र सुन पाइने खोलामा घुम्दै हिंड्थे । अनि खोलाकै छउेछाउ बस्ने ठाँउ बनाउँथे । माछा र सुन पाइने खोला नै उनीहरुको जीवन थियो । तर अहिले समय फेरिएको छ । दिनरात बिना रोकावट हिंडडुल गर्न पाइने ठाँउमा तारबार लागेको छ । खोला र वनक्षेत्र कतै निकुञ्ज बनेको छ, कतै सामुदायिक वन । सबैका आफ्नै सिमाना छन, अनि त्यही अनुसारका नियम बनेका छन् । वन र खोलालाई आफ्नो जीवन ठान्ने सोनाहाहरु अहिले तीनै ठाउँमा छिर्न नपाउने भएका छन । बर्षौ देखि घर ठानेको खोला पराइ भएको छ । साथिजस्तो वनक्षेत्र डरलाग्दो भएको छ ।

कमला सोनाहा ।
पहिले त दिन्थ्यो केही भन्दैनथ्यो । अहिले त निकुञ्ज लागि गयो । गाएर आफूलाई पनि डरलाग्छ ।

महेन्द्र सोनाहा
कोही धम्कि देखाउने कोही हप्काएर पनि गर्न नदिने । कोही अलिकता तरकारी माछा नख्वाए धम्क्याउने । सानो जाति भएपछि हेप्ने गरेका छन् ।
समिती पनि ठूला मान्छे पनि भन्छन् माछा साछा खुवाउ । लागि पछि ख्वाउने हो नलागे पछि । आफू खान सामस्या हुन्छ कहिले कही ।

हुनेखानेका लागि एक छाक माछा नै खुवाएको हो । तर सोनाहाका लागि भने त्यही माछा नै रुपैयाँ हो अन्न हो । यसरी परिवारको जीविकोपार्जन साधन नै सित्तैमा खुवाएर सकिएपछि उनीहरु संकटमा पर्दैछन ।

समयसँगै बनेका नियमले सोनाहाको जीवन फेरिंदैछ । खोलाकिनारमा घुमी हिंड्ने उनीहरु एकै ठाउँमा बसोबास गर्ने भएका छन । तर खानलाउन भने उनीहरु अझै पनि खोलामै निर्भर छन ।

महेन्द्र सोनाहा
हाम्रा पुर्बजहरु नदीको छेउछाउमा हुर्केको हौ । त्यही भएर नदीको छेउछाउ हुन्छौ । हाम्रो खेती नै हो । त्यही भएर हामी त खेतीको छेउछाउमा बस्ने प¥योनी । अरु खेतीबारी त छैन हाम्रो । हाम्रो खेती भनेकै यही हो माछा र सुन । यसैको आधारमा हामी बाँचेका छौ ।

कमला सोेनाहाको घरमा चार जना राम्रैसँग काम गर्ने उमेरका छन् । परिवारै मिलेर तीन दिनभरि वालुवा चाल्दा तीन सय रुपैयाँ बराबरको एकलाल सुन जम्मा हुन्छ । पुरै परिवारले महिना भरि काम गर्दा बढीमा तीन हजार रुपैयाँ सम्म कमाइ हुन्छ । यति पैसाले घरको सबै काम चलाउनु पर्छ ।

घरछउबाट बग्ने कर्णाली भन्दा बढी सुन र माछा पाइने खोला पनि छन् । तर त्यहाँ जान पाईदैन । कहिले काँही पुगी हाले निकुञ्जले समात्छ । गएको बर्ष कमलाको भाइ संरक्षित क्षेत्रको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज भित्र माछा मार्दै गर्दा समातिए । निकुञ्जले उनलाई झन्डै एक महिना थुनामा राख्यो । उनीहरुले अहिले सम्म एकमुष्ट नेदेखेको पाँच हजार रुपैयाँ तिर्नु प¥यो ।

कमला सोनाहा ।
तिनीहरुले त भयङ्कर पैसा तिरे । पाँचहजार हो क्यारे । दुई जानाले पाँचहजार तिरे ।

उनीहरु सुन खोज्दा बालुवा चाल्छन् र त्यही छाडिदिन्छन् । यसरी चालिएको बालुवा केही समय पछि पहिले कै अवस्थामा बस्छ । यसले खोलालाई कुनै क्षति पुर्याउँदैन । तर सोनाहाका यस्ता कुरा निकुञ्ज र सामुदायिक वनले पत्याउँदैन ।

महेन्द्र सोनाहा
वालुवा पनि लाग्दैनौ ढुङ्गा पनि लग्दैनौ लाने त त्यति न हो । अरु त त्यतै छाडि दिने हो ।

सुन खोज्ने कुरामा आपसी झगडा नहोस भनेर सोनाहाहरुले खोलाको बालुवा भएको गाउँ भागबन्डा गरेका छन । सबैले आफ्नो भागको खोलामा मात्र बालुवा चाल्न पाउँछन् । राजापुरमा बस्नेहरुका धान फल्ने मलिला खेत छन तर सोनाहाहरुका भने खेत होइन आफैंले भाग लगाएको खोलाको बगर छ ।

खुमलाल सोनाहा ।
त्यति खेर फिरी थियो । हाम्रो पुर्खाहरुले त्यही निर हामी बसेकै ठाँउमा सानो सानो झुप्रा पारेर बस्थे । गाउँमा नजानेबरु । नजिकै गाउँ भएपनि नदिमै डेरा पारेर बसने । जंगलमा पनि त्यसस्तो कटानी नगर्ने । बगरमा पानीले बगाउर ल्याएको रुखको हाँगा काटेर स्यानो स्यानो झुप्रो बनाउने । सुन चल्ने माछा मार्ने पहिले देखि । खेती तिर त्यति ध्यान दिएनन् । पहिला बासिन्दा पनि कम थियो भन्थे हाम्रा पुर्खाहरु । सबै भन्दा पहिला सोनाहाहरुले नै बस्थे ।

सुन खोजेरै .... बर्ष बिताएकी कमला आफैले भने जम्मा अढाई लालको फूली लगाएकी छिन् । उनले चालेको सुनबाट धेरैले आफ्नो शरीर सजाएका छन । कहिलेकाहीँ उनलाई पनि आफैले निकालेको सुन लाउने रहर लाग्छ ।

कमला सोनाहा ।
रहर लाग्दैन ? सुन बनाउने सुन बनाएपछि त पेटमा के हाल्ने । बच्चा पनि देख्नु प¥यो पेट पनि देख्नु प¥यो ।
मन त हुन्छ नी लाउने । रहर लाग्छ अब आफैले धोएको आफैले लाउने पाए राम्रो हुन्छ । मन त कति लाग्छ कति होइन ।
सुनै हो यो ढाइलाल । कानको होइन ।
पेटै त ठूलो हो । पेट नभरौ भने पेटले मान्दैन । हामी त एक दिन दुई दिन बसि हाल्छौ । बच्चाहरु कहाँ मान्छन् । बच्चा त ल्याउ ल्याउ भनेर भात आभा भन्छन् ।

सधैँ खान लाउनकै समस्या पर्ने सोनाहा थारुहरुसँग मिल्दाजुल्दा छन । उनीहरुको संस्कार र संस्कृति केही नजिक भएपनि सोनाहाहरुको इतिहास थारुको भन्दा पुरानो छ । भाषा र जीवनशैली फरक छ । फरक भाषा, संस्कृति र संस्कार भएकैले उनीहरु छुट्टै जनजातिमा गनिनु पर्ने हो । तर अहिलेसम्म उनीहरुलाई छुट्टै जनजातिको सुचिमा राखिएको छैन । राज्यले उनीहरुलाई बेग्लै पहिचान दिन सकेको छैन ।

खुमलाल सोनाहा ।
हाम्रो जाति पनि सुचिकृत पनि भाको छैन । थारु हो भन्छन् । थारुसँग हाम्रो भाषा मिल्दैन । पेशा मिल्दैन । रहनसहन पनि मिल्दैन । धेरै फरक छ थारुसँग तर थारुमा राख्नु भाछ उहाँहरुले ।

सोनाहामा आदिवासी जनजातिका धेरै गुण छन । त्यही गुण मध्ये एउटा हो, चाडवाडमा रमाइलो गर्ने । अरुबेला मनभरि दुःख बोके पनि चाडवाडमा उनीहरु सके सम्म रमाइलो गर्छन । आज फागु पुर्णिमा हो । यहाँ होलीको तयारी हुदैछ । यस चाडलाई उनीहरु बिशेष रुपले मनाउँछन् । रातभर नाचगान गर्दै गाउँ घुम्छन । यसरी होलीको दिन घरघरमा आउने टोलीलाई सकेको दक्षिणा दिने चलन छ ।

बर्दियाको राजापुर क्षेत्र सोनाहाहरुको बसोबास भएको क्षेत्र हो । यसबाहेक कन्चनपुरमा पनि सोनाहाको सानो बस्ती छ । तर कन्चनपुरका सोनाहा माछा मार्दैनन् र सुन पनि चाल्दैनन् ।

कुनै बेला निर्बाध रुपमा घुम्न पाइने खोला र जंगलमा बनेका नियमले सुन खोज्न र माछा मार्न नपाए पछि सोनाहालाई निक्कै समस्या परेको छ ।

सुदिप जान
बिगत चारपाँच बर्ष देखिको अनुभव सोनाहाहरुसँग हेर्दा चाही निकुञ्जसँगको द्धन्द्ध चाही हामीले बाहिरबाट हेर्दा चाही माछा मार्न दिएन सुन चाल्न दिएन भन्ने मात्रै छ । तर निकुञ्जको सामाजिक प्रभाव यसको ठूलो संस्कृति नै नास हुने एउटा पक्ष निकुञ्जको सामाजिक प्रभाव यसको एउटा पक्ष निकुञ्जको नीति अभ्यास पनि रैछ । किनभने जवजव सोनाहा खोला र सुन चाल्ने पेशा र माछा मार्ने पेशा हराउँदै उहाँहरुको संस्कृति पनि हराउँदै जान्छ । कति इन्डिया जानु पर्ने बाध्यता छ । इन्डिया प्रिपेशा गर्नु पर्ने अबस्था छ । उहाँहरुको पराम्परागत पेशामा रोक लाग्ने बितिक्कै महत्वपूर्ण कुराचाही पराम्परागत ज्ञान र अभ्यास पनि हराउँदैछ । त्यसैले सोनाहामा ठूलो चासो छ किनभने हाम्रो अस्तित्व पहिचान चाही खतारा छ भन्ने कुरा ।

नेपालले २०६४ सालमा आदिवासी जनजातीको हक अधिकारको सुरक्षा गर्ने आइएलओ महासन्धिमा हस्तक्षर गरेको छ । यो महासन्धी कार्यान्वयन गर्नु नेपाल सरकारको दायित्व हो । यसमा परापुर्व कालदेखि जल, जंगल र जमिनमा निर्भर आदिबासीलाई विस्थापित  गर्न नहुने कुरा प्रष्ट रुपमा लेखिएको छ । तर सरकारी नियमकै कारण अहिले सोनाहाहरुले निर्वाध रुपमा माछा मार्न र सुन चाल्न पाएका छैनन् ।

राजकुमार चौधरी
उहाँको जिबिकापार्जनको एउटा मात्र वय भनेको सुन चाल्न र माछा मार्न बाहेक केह िपनि भएको छैन । उहाँहरु भन्नु हुन्छ । हामीले कहिल्यै पनि जंगल फडानी गरेनौ । हाम्रो जिविका पार्जनको एक मात्र यही हो । यसमा हामीले पाउनु पर्छ । भन्ने एक मात्र माग हो । मलाइृ चाही आइएलओ १६९ ले पनि दिनै पर्छ । जस्को उहाँको अग्रधिकार छ । जल जमिन जंगलसँग प्रत्यक्ष सरोकार भएकोलाई बन्चित गर्न पाईदैन ।

हामीलाई यो महासन्धिले यो यो अधिकार दिएको छ भन्दा पनि हामीलाई थाहा छैन भन्ने कुराहरु निकुञ्जका प्रतिनिधिबाट सामुदायिक उपभोक्ताबाट आउँछ । त्यो चाही राम्रो हाइने जस्तो लाग्छ ।
अप्रत्यक्ष रुपमा सबै निकुञ्जकै बिकासको निम्ति वाताबरणको कुरा सामाजिक कुरा हुन्छन् कसरी निकुञ्जलाई फाइदा हुन्छ लागु त्यसरी नै लागु गरेको देखिन्छ । कुनै पनि पुर्बधार बनको छैन ।

आफ्नो जीवन धान्ने पेशामा अवरोध आएपछि सोनाहाहरुले पटकपटक बिरोध गरे । बिरोध साम्य पार्न उनीहरुलाई बिनारोकतोक माछा मार्न र सुन खोज्न दिइने भनियो । तर निकुञ्ज भित्र खोलामा माछा मार्ने लाइसेन्स दिदा भने थुप्रै सर्त राखियो ।

सोनाहालाई माछा मार्ने लाइसेन्स दिएको केही महिनामा निकुञ्जमा गैडा मारियो । गैंडा मारेको अभियोगमा दुई जना सोनाहा पक्राउ परे । त्यसपछि माछा मार्ने सबै लाइसेन्स नबिकरण नै गरिएन ।
खुमलाल सोनाहा ः
यो निकुञ्जले पनि माछा मान देको छैन । २०६४ सालमा लाइसेन्स दियो । बिचमा आएर गैडाको आरोप लगाएर आर्मीहरु पनि थिए मार्ने गिरोहमा । त्यसमा दुईवटा सोनाहा थिए । त्यसैले सबे सोनाहाको लाइसेन्स खोस्दे । त्यसपछि लाइसेन्स देको छैन । एकदम अप्ठ्यारो छ। जाल नाउहरु फुटाइदिन्छ । अनि यता तिर सामुदायिक जंगल पनि छन् । सामुदायिक जंगल पनि सुन चाल्न दिदैनन् ।

खोलासँग जीवन जोडिएका सोनाहाहरुको अस्तित्व संकटमा पर्दैछ । पुस्तौं पुस्ता देखिको सोनाहा र प्रकृतिसँगको समन्ध राज्यले टुटाउँदैछ ।

सुदिप जान
निकुञ्जले माछा मार्न नदिने यो पराम्परागत पेशालाई खोस्दिएको छ । अहिले भर्खर हेर्दा पनि सुन चाल्न पनि निकुञ्जले खोस्दिए । यो जिबिकाको मात्रै कुरा पनि होइन । जिबिका र संस्कृति एकदमै जोडिदिएको छ । सोनाहाको दृष्टिकोणबाट हेर्दा प्रकिति भनेको बाहिर उता निकुञ्ज र यो बाहिर बस्ति भन्ने नै होइन । मैले बुझेको ।
सोनाहाले प्रकृति बुझ्दाखेरी खोला जंगल आफ्नो जिबिका संस्कृति सबै जोडिएर हेर्छ । जीवनशैली रहनसहन उहाँहरुको दृष्टिकोण हेर्दाखेरी संस्कृति र प्रकृति चाही एउटै रैछ कुरा ।

सोनाहाहरु अहिले जीवन धान्ने विकल्पको खोजीमा छन् । आफुले बोल्दा कसैले नसुन्ने र आफ्नो पक्षमा बोलिदिने कोही नहुदा उनीहरु निरास छन् ।

राजकुमार चौधरी
निकुञ्जै भएपनि त्यहाँहरुको पेशाको जर्गेना हुनुपर्छ । हिजो देखि जुन उहाँहरुले परापुर्बक काल देखि जनजिबिकाको बाटो छ त्यसबाट चाही बन्चित गरिनु हुदैन ।

आर्थिक अबस्था निक्कै कमजोर भएका सोनाहाहरुसँग सम्पतीका नाममा टुडी भनिने सुन चाल्ने काठ, वालुवा छान्ने छबना र पानी हाल्ने ओदाना हुन्छ । अनि माछा मार्न चाहिने चौदी भनिने जाल उनीहरुको मुख्य सम्पत्ति हो । अलि धनिमानिसँग भने खोला वारपार गर्न चाहिने काठको लाउ अर्थात डुङ्गा पनि हुन्छ ।
माछा मारेर हाल्ने चोयाको जाडी बोकेर सोनाहाका बालबालिकाहरु खोलामै घुमिरहेका हुन्छन । उनीहरु बिद्यालय भर्ना त भएका छन् तर पढ्न भने जाँदैनन्् । बाबुआमासँगै माछा नमारे उनीहरुले भोकै बस्नुपर्ने हुन्छ ।

घुमीघुमी माछा मार्न र सुन खोज्न नपाउँदा घरछेको कर्णालीमा माछा र सुन दुवै घटिरहेको छ ।

कमला सोनाहा ।
नाउ समाएर लागि हाल्छन् । चौदी समाएर लगि हाल्छन् । नाउ र चौदी लगेपछि कस्मा माछा मार्ने ? सबै भन्दा हाम्रो ठूलो त्यही हो हो कि होइन । हाम्रो सबै भन्दा ठूलो त्यही हो ।

खोलामा पस्नै नपाएपछि उनीहरुको संस्कार मासिंदैछ, पहिचान हराउँदैछ । यस्तै अवस्था रहे केही बर्षमै सोनाहाको संस्कृति मेटिनेछ । अनि सोनाहाहरु पनि लोप हुनेछन् । आफ्नो छुट्टै परम्परा भएको यो जाति नै हराउने छ कहिल्यै नभेटिने गरि  ।

शैलुङको आलु



शैलुङको आलु

बमबहादुर तामाङ ः शैलुङस्वर – २, गोपेडाँडा, दोलखा
२.०० पहिले चाहि अब दुने भन्ने चलन थियो । आलु चाहि दुई मकै धान चाहि थोरै । हेला गरेर चाही भुस भाको धान दिन्थ्यो । अनि अहिले मकै सरी दिन्छन् यहाँ । पर्सी बीउको बेलामा त चामाल पनि लिएर आको हुन्छ । अनि त्यसरी बिक्री हुन्छ । २.३३
दश बर्ष अगिसम्म गोपेडाँडाका बमबहादुर तामाङ भदौ लागेपछि सकी नसकी आलुको भारी बोकेर ओरालो लाग्थे । बम बहादुर मात्रै होइन, दोलखा र रामेछापको शैलुङ क्षेत्रका धेरै किसानहरुलाई आलुसँग अन्न साट्नु पर्ने बाध्यता थियो । आलु लिएर सकी नसकी बेंशी र औलतिर जाँदा उनीहरुले निकै सास्ती भोग्नु पथ्र्यो । जाँदा आलु बोकर लाने अनि साटेर आएको धान मकै जस्ता अन्न बोकेर फर्कने काम निकै गारो थियो । त्यति मात्रै होइन, आलुसँग अन्न साट्न घरघरै धाउँदा सुन्नुपर्ने वचन पनि निकै पेचिलो हुन्थ्यो ।
बमबहादुर तामाङ ः शैलुङस्वर – २, गोपेडाँडा, दोलखा
७.१८ ए आमै ए बाबै आलु साट्नुहुन्छ भनेर सोध्थ्यौ हामी । अनि त्यसरी सोधेपछि साट्दैनौ साट्दैनौ भनेर भनिन्थ्यो । हिँसा गथ्र्यो । ले ले साट्छौ भनयो भने यस्तो कराई झुसी आलु लगेर मुसे धान हाल्दिथ्यो । अनि घरमा ल्याएर भारी आलु लिएर गयो भने देखि पाँचपाथी आउँथ्यो । कुटेर खान दुई छाकलाई पुग्दैनथ्यो । समस्याथ्यो । अहिले आलु ल्याएन भने चिन्ता छ । यही बिक्रि भैहाल्छ किन लानु प¥यो त्यल्लाई । ८.०६
तर अहिले समयले कोल्टो फेरेको छ । पहिला आलु लिएर मानिसहरु बेंशी झर्थे, अब आलु किन्न तलबाट मानिसहरु लेकतिर जान थालेका छन । शैलुङ क्षेत्र आलु धेरै फल्ने ठाउँ हो । यहाँको बारी आलुका लागि ज्यादै मलिलो छ । मकै, धान, कादो जस्ता अन्न बाली यहाँ फल्दै फल्दैन भने पनि हुन्छ ।
दश बर्ष अगिसम्म यहाँको आलुको बजार थिएन । अन्न खाने रहरले यहाँका मानिसहरुले बारीमा थोरै फले पनि मकै र कोदो जस्ता अन्न बाली लगाउन खोज्थे । तर अहिले यातायातको विकाससँगै यहाँको आलुले बजार पाएको छ । अनि आलु बेचेर चामल खान सकिने भएको छ । अब उनीहरुलाई आलु बोकेर बेंशीतिर जानु पनि पर्दैन ।
लेकमा फल्ने भएका कारण यहाँको आलु स्वादिलो छ । त्यसैले शैलुङ क्षेत्रको आलु सबैले मन पराउँछन । यहाँको आलु काठमाडौंको बजारसम्म सजिलै पुग्छ । काठमाडौंमा यो आलु मुडेको आलु का नामले बिक्छ । तर यो आलु मुडे कै चाहिँ होइन ।
बमबहादुर तामाङ ः शैलुङस्वर – २, गोपेडाँडा, दोलखा
६.३३ शैलुङको आलुलाई मुडेको भनेको हो । मुडेको आलु भन्ने चाहि जक्सन भरेको भएर चाहि मुडेको आलु भनिएको आलुचाहि यतैको हो । ६.४६
यहाँका मानिसहरुले घरखेतबाटै आलु बेचेर पैसा लिएको धेरै भएको छैन । केही समय अगिसम्म आलुलाई दुःख दिने बाली भनेर चिनिन्थ्यो । अन्नसँग साँटेर नसकिएको आलु बेच्न एक दिनको बाटो हिंडेर मुडे बजार सम्म पुग्नुपथ्र्यो । तर यही आलु अहिले पैसा कमाउने बाली भएको छ । त्यसैले यहाँका मानिसहरु अहिले अन्न बालीको साटो आलु र तरकारी खेतिमै जोड दिन थालेका छन ।
बमबहादुर तामाङ ः शैलुङस्वर – २, गोपेडाँडा, दोलखा
१.०५ पहिला मकै कोही रोप्थे त्यती फाइदा हुदैनथ्यो । अहिले आलुमा जोड देको चाहि आलुमा अलि फाइदा भएर गरिराखेको हो । सबै जनाले अलिे । अलिे काउलीहरु गजरहरु रोप्छ । यहाँ निर अहिले रोड आयो अहिले थिएन बेच्न पनि सकिन्नथ्यो । मुडे लान पथ्र्यो आलुबेच्नलाई । अहिले चाहि घर गाउँमै आउने भयो । रोड चाहि राम्रो भाको छैन यहाँ निर । १.५०
काठमाडौंबाट सिन्धुपाल्चोकको मुडे हुँदै शैलङ क्षेत्रको भैसे सम्म कच्चि सडक पुगेपछि यहाँको आलु सजिलै काठमाडौ सम्म पुग्यो । बाटो नराम्रो भएपनि यहाँको आलु लिनकै लागि धेरै ठूलासाना गाडि यो बाटोमा दौडिरहेका हुन्छन् ।
बसुन तामाङ ः शैलुङस्वर – १, दोलखा
२०.०० यो रोड आयो । गाडि आयो त्यसैले सजिलो भाये भनौ न । लगेर साट्ने अलिअलि बेच्ने दुःख त्यस्तै हो सबैको । अन्न हुदैनथ्यो घरमा त्यही त हो नी सबैथोका अबश्यक पर्ने । अब ठूलो कुरा अन्न नहुने अब अनि लग्यो ल्योयो त्यो खायो त्यस्तै त हो नी । २०.५१
बसुन तामाङले भर्खरै बारीबाट आलु खनिन । अब उनी यहाँ काउली फलाउने सुरमा छिन ।
शैलुङक्षेत्रका पाँडेखानी, झोरमनगाउँ, निङाले, ढुङ्गे, दुधपोखरीको फलाटे र रामेछापको डडुवा राम्ररी आलु फल्ने गाउँ हुन् । समुद्र सतहबाट दुइहजार मिटर भन्दा माथि बस्ने यहाँका मानिसहरुको जिवन निकै कष्टकर छ । तर अहिले बाटोले यहाँका मानिसलाई थोरै भएपनि राहत दिएको छ । बाटोकै कारण उनीहरुले फलाएको आलु, गाजर, मुला लगाएतका बालीले बजार पाएको छ । अनि उनीहरुको आम्दानी बढाएको छ ।
बमबहादुर तामाङ ः शैलुङस्वर – २, गोपेडाँडा, दोलखा
५.०० एक बर्षमा बढि बेच्ने हरुले दुइलाख तीनलाख सम्मको बेच्छ । आलु बेच्छ तल्लो स्तरको बेच्नेले चाहि ५० ६० हजार ३० ४० हजार ५ दस हजार सम्मको बेच्छ । ५.१५
पहिला आलु बोकरे घरघरै पुग्ने किसानकै घरमा अहिले आलु किन्ने मानिस आएका छन । तरपनि यहाँका किसानले उचित मुल्य भने पाएका छैनन । किसानबाट सस्तोमा किन्ने र व्यापारीले बढी नाफा खानाले यहाँको आलुले भनेजति मुल्य पाएको छैन । भैंसेमा एक धार्नी आलुको मुल्य ३५ रुपैयाँ छ । यही आलु काठमाडौंको बजारमा ८० रुपैयाँ धार्नीमा बिक्छ । त्यसैले किसानले अझै पनि आफ्नो उत्पादनको उचित मुल्य पाएका छैनन ।
डिभी ३
कान्छि तामाङ ः घ्याङसुकाठोकर – ९, कुने, दोलखा
१४.०० ठेगेदार निमुला घइमाघइमा घान्दे चुबेलारी निवाआरे चाहि निबाआरे । १४.१०
१४.२८ खेती बिसान गर्ने मानिसलाई जहिल्यै समस्यै समस्या हुन्छ नी । १४.३७

बिजुली बिनाको एसि स्कुल


बिजुली बिनाको एसि स्कुल

नेपालका धेरै गर्मी हुने ठाँउ मध्येको एउटा शहर, मध्य पश्चिम तराईको नेपालगञ्ज । यहाँ दिउँसोको तापक्रम 10 डिग्री सेल्सियस सम्म पुगेको भेटिएको छ । नेपालगञ्जबाट झन्डै २५ किलोमिटर टाढा छ, बर्दिया जिल्लाको जनतानगर गाउँ । यो गाउँ मुक्त कमैयाहरुको बस्ती भएको ठाउँ हो । यिनै मुक्त कमैयाहरुका बालबच्चाहरु पढ्छन, यहाँको मुक्तकमैया प्राथमिक बिद्यालयमा ।
गर्मीकै कारण तराइका धरै विद्यालयमा बिहान पढाइ हुन्छ । दिन तात्न लागेपछि स्कुल पनि बन्द हुन्छ ।
गर्मी हुने भए पनि तराईका धेरै बिद्यालयमा टिनकै छाना लगाइन्छ । तर जनतानगरको मुक्तकमैया प्राथमिक विद्यालय भवन र यसको छाना फरक छ । जस्तै गर्मीका बेला पनि यो घरभित्र छिर्दा चिसो हुन्छ । अनि चिसोमा भने बाहिर भन्दा न्यानो हुन्छ । त्यसैले यो भवनको नाम नै एसी भवन । एसि भवनमा बस्न विद्यार्थीहरु निकै मन पराउँछन ।
यो भवन गर्मीमा चिसो र ठण्डीमा तातो हुने कारण यसको वनावट हो । यो भवनको छानामा टिन ओडाइएको छैन । यहाँ त घाँस उमारिएको माटोको छानो छ । भवनको पर्खाल माटोले आधा पुरिएको छ । कोठामा हावा छिरोस भनेर छाना भन्दा मुनी एक एक फिटको दुरीमा भ्यान्टिलेसन राखिएको छ ।
यो भवनका कोठाको तापक्रम अन्तका कोठाको भन्दा झन्डै १२ डिग्री सेल्सियस फरक हुन्छ । बर्खामा बाहिरबाट यहाँ छिर्दा चिसो अनुभव हुन्छ । अनि जाडोमा भने बाहिर भन्दा कोठाभित्रको तापक्रम १२ डिग्री सेल्सियसकै हाराहारीमा बढी न्यानो हुन्छ ।
शिक्षक ।
साना साना बालबालिकाहरुलाई विद्यालय आउने बानी बसाउन कक्षा एक र कक्षा दुईका विद्यार्थीलाई यस भवनमा राखिएको छ । घरमा बस्दा गर्मी बढी हुने भएकोले शितलमा बस्नकै लागि केटाकेटीहरु विद्यालय आउने गरेका छन । त्यसैले अहिले कक्षा कोठामा विद्यार्थीको चाप निक्कै छ । गर्मी धेरै हुँदा अरु कक्षाका विद्यार्थी समेत यही भवनमा आइपुग्छन् ।
शिक्षक
यो घर बनाउने तरिका फरक छ । माटो, सिमेन्ट र वालुवा मिसाएर बनाएको इटा यसमा प्रयोग गरिएको छ । यसरी इटा बनाउँदा यसलाई पोल्नु हुँदैन । बरु घाममा सुकाउनु पर्छ । वातावरणीय हिसाबले हेर्ने हो भने यस्तो इटा पोलेर बनाएको इटा भन्दा आठ गुणा बढि स्वच्छ हुन्छ ।
शिक्षिका ।
सरकारले तराईमा एउटा यस्तै स्कुल भवन बनाउन ६ लाख रुपैयाँ खर्च गरिरहेको छ । यो भवन चाहिँ डेनमार्कबाट आएका विद्यार्थिहरुले बनाएका हुन । उनीहरुले यो भवन बनाउन साढे सात लाख रुपैयाँ खर्च गरे ।

जय प्रसाद आचार्य, जिल्ला शिक्षा अधिकारी, बर्दिया
सामान्य भवन भन्दा डेढ लाख बढी खर्च लाग्ने भएपनि यो भवन कम समयमा बनाउन सकिन्छ । यो घर जम्मा २० दिनमा तयार भएको हो ।
जय प्रसाद आचार्य, जिल्ला शिक्षा अधिकारी, बर्दिया ।
तराइका धेरै विद्यालयहरुमा टिनको छाना हुन्छ । त्यसैले बर्खामा कक्षाकोठा तात्छ, अनि जाडोमा त्यही कक्षा कोठा चिसो हुन्छ । छानामा टिन नभएको र पर्खालको आधा भागसम्म माटोले ढाकिएका कारण यो भवनमा भने जमिनको चिसो बसिरहन्छ । त्यसैले पनि तराईमा यो भवन उपयोगी हुन्छ ।
शिक्षक ।
बिजुली बिनाको यो एसि भवन तराइमा चिसो बनाइराख्ने एउटा सरल र प्राकृतिक उपाय हो । माटोले लिपेर घर बनाउने हाम्रो परम्परागत ज्ञानमा थोरै सुधार गरि बनाइएको यो भवन तराइका लागि निकै उपयोगी हुनेछ । अनि गर्मीमा समेत शिक्षक र विद्यार्थिले चिसोमा बसेर पढ्न र पढाउन पाउेछन ।


गाडी सरर  

अहिले मुस्ताङमा वनेको सडक पहिले पयदात्रीका लागि वनेको बाटैबाट बनेको छ । त्यसैले यहाँ पर्यटक घटेकोले नयाँ पैदल बाटो खोज्ने काम भैरहेको छ ।
 
जोड लगाके हैसे 

 कच्चि सडक धेरै गाउँमा वनेका छन् । यस्ता सडक हिउद धुलै धुलो र बर्षामा हिलै हिलो हुन्छ । हिलो सडकमा गुड्ने गाडी कति खेर कहाँ बिग्रने हो र गन्तब्य कहिले पुग्ने हो ठेगान हुदैन । 

मैले बनाउदै गरेको डकुमेन्टरीको केही भाग


मैले बनाउदै गरेको डकुमेन्टरीको केही भाग ।