Thursday, May 21, 2015

घर

बल्ल बल्ल फोन लाग्यो। हतारिएको स्वरमा भनिन् को?
म।
को म?
सधै हेल्लो भन्ने मेरो स्वरमा चिन्ने आमाले मलाई चिनिनन्।
पहिलो भूइँचालो गएको दसौं दिनमा आमासँग दोस्रो पटक कुरा भयो। त्योभन्दा पहिले भूइँचालो जाने बितिक्कै कुरा भएको थियो। पहिलो पटकको फोनमा राम्ररी केही कुरा हुन पाएन। आमाले एकातर्फी सकुसल भएको मात्र सुनाइन्।
बाँकि के भयो सुनिएन। बाँकि दिनमा धेरै पटक ट्राइ गरियो आमा र गाउँ भरिका सम्पर्क नम्बरहरूमा। तर, सबैको फोनमा सुनिने शब्द उस्तै थिए सम्पर्क हुन सकेन। फोन स्विच अफ छ। 
 ‘पुरानो घर लड्यो। नयाँ घरको बार्दली भत्किएर भुईमा झरेको छ। अर्को पटि चर्किएको छ,’ आमाले एकै सासमा सुनाईन्। अनि फेरि थपिन्, ‘हामीले त भकारीको गोठ बनाका छौं। त्यसमा बसेको पनि नौ रात भइसक्यो। पूरानो घरको खाने कुरा पनि सबै खेर गयो। बजारमा गएर एक बोरा चामल उधारोमा ल्याएका छौं। चामालको भाउ बढेर अचम्म छ।’
समस्यै समस्या पहाडमा थिईन आमा। ‘तिमीहरू सबै परदेशमा छौं। हामीलाई यस्तो छ।’ भूँइचालो गएदेखिकै अफ भएको मुड झन अफ भो। तीन दिन पछि फेरि अर्को ठूलो भूँइचालो आयो। अर्को घर पनि लडाएर गयो। घरबार नभएको लाखौं मान्छेमा हामी थपियौं।
पूरानो घर। मेरा बाजेले सायद ५० वर्षअघि तिर बनाएका होलान्। बाजे अर्कै गाउँबाट बसाई सरेका रे। गाउँ भरिका मानिस गाड्ने च्याने डाँडामा। तीन बिसा पैसा र दुई पाथी ध्यूमा बाजेले २० हल गोरूले पनि जोतेर नसक्ने पाखो किने। त्यो बेला बारी किन्दा गोरूले एक दिनमा कति जोत्छ भन्ने अनुमानको भरमा किनबेच हुन्थ्यो। 
बाजेले आँटे। जसरी पनि घर बनाउनु पर्‍यो। त्यति बेलासम्म बाजे एरियाकै नम्बरी सिकर्मी थिए। उनले बनाएका काठका कला सबैले मन पराउँथे। झ्याल ढोकामा थरि थरिका बुट्टा कुद्ने। घरका मान्छेले भने जस्तो बुट्टा भनेको समयमै सकाउने। बाजे एरियाकै फेमस थिए ‘ध्याङाली काइँला’ कर्मी।
नम्बरी कर्मीले हतारको घर ‘कर्मीको घर नराम्रो’ भने झै भो। लम्बाई १७ हातको। चौडाई १२ हातको। त्यो बेला घर बनाउँदा निदालमा बुट्टा भर्ने चलन थियो। बुट्टेदार टुनासी हाल्ने चलनथ्यो। अरुले हेर्दै ‘वा’ भन्ने बनाउने चलनथ्यो। तर नम्बरी कर्मीले बनाएको घरको हालत बिजोग थियो।
 सानो झ्याल। सानै ढोका। न बार्दली छ न टुनासी। घर तीन तले नै थियो। दुई तला ठीकै भए पनि बुइकल भन्नुको मात्रै थियो। होचो न होचो। मान्छे छिर्न मुस्किल थियो। दोस्रो तला एउटा मात्र झ्याल थियो। घर हेर्दा लाग्थ्यो ध्याङाली काँइलाको मुड अफ भएको बेला बनेको घर थियो।
घरको सिंगार पटार दशैका बेला हुन्थ्यो। फूलपाती भन्दा अलि अघि। सेतो चम्किने कमेरो। झ्यालमा ब्याट्रीको कालो। पेटीमा रातो माटो। नमिलेको जस्तो लाग्ने घर पनि दशैंमा चिटिक्क देखिन्थ्यो। दशै सकिए पछि बिस्तारै घर पूरानै तालमा फर्कन्थ्यो। ठूलो, लामो र भद्दा।  
जस्तो भए पनि त्यो घर थियो। म जन्मेको घर। हुर्केको घर। आमा भन्थिन् यो घरको पिँडीमा जन्माएको हुँ तँलाई। हुर्किएको आँगन पनि त्यही थियो। म सानो छँदा मूल ढोकामा उथिन्थेँ। म कता हो कता सानो हुन्थेँ। दुबै हात उचालेर टाउको माथि पार्दा बल्ल भेटिन्थ्यो। मलाई त्यो बेला लाग्थ्यो कत्रो ठूलो ढोका। बिस्तारै म अग्लिएँ। ढोका उस्तै बस्यो। ढोकाबाट छिर्दा निहुँरिनु पर्ने भो। होचो नमिलेको घरमा हाम्रो चार पुस्ता बाँचेको थियो। बाजे, बा, हामी, नाती पुस्ता।
घर घेरै अर्थमा विशेष छ। बास बस्नका लागि, ठेगना जुराउनको लागि। घर कसरी बन्नु पर्ने हो यो भन्न मुस्किल छ। अनि बनिसकेको घरमा कस्ता काठ हालिनु पथ्र्यो? कस्ता ढुङ्गा प्रयोग हुन पथ्र्यो? भूकम्प प्रतिरोधी घर कसरी बनाइन्थ्यो? सबै अहिले चर्चामा छन्। शायद यस्ता छलफलले भोलिका दिनमा काम देला। पचास वर्षअघि बाजेले घर बनाउने बेलामा उनलाई कसैले भूकम्प प्रतिरोधी घर भनेर भन्ने थिएनन्। भलै उनी पेसाले घर बनाउँथे र ९० सालको भुँइचालो पनि देखेभोगेका थिए।
पहाडको गाउँमा बन्ने घर दुई तले ढुङ्गा, माटोको हो। चोटा, कोठा आफ्नै बल बुताले जस्तो भ्याउँछ त्यस्तै बनाउने हो। गाविसमा नक्सा पास गर्नुपर्दैन। कुनै प्राविधिक हुँदैनन्। यो गर त्यो नगर भन्ने। मुल कर्मीलाई जस्तो मुड आउँछ त्यसरी नै बनाइदै आएको छ। यसरी घर बन्न थालेको कहिलेदेखि हो सजिलै सकिने अवस्था छैन।
पूरानो घर होचो भए पछि पाँच वर्ष जति अघि नयाँ घर बनाउने सल्लाह भो। सल्लाह के हुनु बालाई जोस चलेछ। घर मज्जाको बनाउने। जस्ताले छाउने। हिसाब किताब गर्दा झन्डै डेढ लाखमा घर तयार हुने देखियो। ज्याला, पर्मका मान्छे आउँदा १५ हात चौडाईको १९ हात लम्बाईको ठूलो मज्जाको घर बन्ने अनुमान भो। 
आफूसँग जोगाएको केही पैसा र बाँकि ऋणमा घर बन्ने भो। पूरानो घर भत्काएर त्यही ठाउँमा नयाँ घर बनाउने कि छुट्टै नयाँ घर बनाउने? पारिवारिक छलफल चल्यो। ‘बाउबाजेको जेथो हो नभत्काउने।’ बाले भने। ‘लौ त्यसो भए घर भन्दा माथि रोड छ। रोडमै जोडेर नयाँ घर बनाऊँ,’ आमाले भनिन्।
घर बन्न सुरु भो। गाउँ घरमा चलेको चलन। ‘घर बलियो हुन जग बलियो’ चाहिन्छ। ‘ठूलो घर त्यस्सै पनि बलियो हुन पर्‍यो। त्यही माथि रोडसँग जोडिएको छ। त्यसैले जग एक मान्छे गरिरो खन्नु पर्छ।’ मुलकर्मीको अनुभब सुनाए। हुन्न भन्न मिलेन। हामीले त्यसरी नै बनाउन थाल्यौं। पहाडको भिरालो जमिनमा घरको जग खन्ने काम सजिलो रहेनछ। त्यही बेला था’भो। जोसिएर खनेका खेनेकै छौ। बिस जना लाठे।
भनेको जत्रो घर बनाउने गज बन्दै बन्दैन। झन एक मान्छे गहिरो गजले झन समय खायो। एक महिनामा घर बन्ने अनुमानित समय बढेर डेढ महिनामा पुग्यो। 
बाले पहिले ‘स्टमेट’ गरेको टाइम भन्दा घर झन्डै १५ दिन ढिला भो। अगाडि बार्दली, टलक्क टल्कने जस्तापाता। भुँइ तल्ला र दोस्रो तल्लामा अगाडि तीन झ्याल पछाडि पनि तीन झ्याल। अग्लो ढोका। उभिएरै छिर्न मिल्ने। १० वटा भन्दा बढि कोठा।
बुइँगलमा पनि उभिएरै हिड्न मिल्ने। मानौं बाले पूरानो घर बस्दाको पीडालाई कम गर्नकै लागि नयाँ घर बनाएका हुन्। घर तयार हुँदा झन्डै पचास हजार बढी लागत निस्कियो। ‘मज्जाको घर बनाउनु भएछ।’ मुलबाटैमा नयाँ घर देखे पछि धेरैले भन्थे। ढिला र महंगोमा बनेको घरको तारिफ सुनेपछि बाको अनुहारमा खुसीमा भाव देखिन्थ्यो। बा भन्थे ‘मान्छेलाई ऋण लागोस् दिन नलागोस्।’
बाले तीन वर्ष लगाएर घर बनाउँदाको ऋण तिरे। यो वर्ष ऋण नभएर दिन लागेछ। पहिलो भूइँचालोले बाजेको पालामा बनेको घर भत्कायो। दोस्रोले बाले पाँच वर्षअघि बनाको घर भत्कायो। जग जति गहिरो भए पनि ठूलो भूइँचालो धान्न सकेन। ठूलो घर भएका बाआमा भकारी बारेर बस्न पर्ने दिन आयो।
घर बनाउँदा जोखिम कम गर्ने अनेक काइदा होलान्। यस्ता तरिका बेलैमा सिकाउने हो भने क्षति कम हुँदो हो। अहिले फेसबुक तिर घर बनाउने अनेक उपायका फोटो छ्यापछ्याप्ती छ। ती सबै उपाय उपयोगी छन् कि छैनन्। भन्न सकिन्न। अब सरकारले नै कसरी घर बनाउने भनेर एउटा दीर्घकालीन योजना बनाए प्राकृतिक प्रकोपबाट बच्न सकिन्थ्यो। अनि जोखिम रहित बलियो घर बन्नेथ्यो।