Showing posts with label lekh. Show all posts
Showing posts with label lekh. Show all posts

Tuesday, June 12, 2012

आमा बा


आमा बा


ठ्याक्कै कालिङचोकको डाँडोमा घाम हुँदा आमा भन्थिन एक भारी घाँस काट्ने समय छ । तिमीहरु कुखरालाई खोरमा राख म काटेर आइ हाल्छु । हामीले कुखरा खोरमा छोप्न नपाउदै उनी घाँसको भारी बोकेर आउथिन । मलाई लाग्थ्यो आमाले दिउसै काटेर राखिकि थिइन । भारि हालिन, बोकिन र आइन । एक भारि घाँस काटेर आउँदा पनि केही काम नगरेको देखे पछि उनी भन्थिन चुदे नागा चुङ आखाम्वा । तिला कान ख्वासी थान्साई ? जाबो यति कुखरा छोप्न नसक्नेलाई के भात ख्याएर राख्नु ।

मलाई लाग्थ्यो । आमाले झै भारी बोक्न सक्ने भाको भए म घाँस बोक्न जान्थे । अनि आमालाई कुखरा छोप्न लाउँथे ।

कुखरा छोप्ने काम त्यति सजिलै थिएन । काठमाडौमा लोकल भनेर भाँडामा राखेर बोच्ने भन्दा फरक खालका थिए ती कुखरा । दिन भरि छाड्यो पाखा भित्ता कता पुग्ने कता । तिनलाई खोज्न बेलुका भरि लाग्ने । अबस्था यस्तो हुन्थ्यो पहिले कुखरा खोज्ने हिडेका हामी दाजुभाइ दिदी बहिनीको पल्टन कुखरा खोज्दा खोज्दै आफै हराउँथ्यो । अरु नै कुरामा ध्यान जान्थ्यो । कुखराको वाल मतलव ।

हाम्रो घरका ठ्याक्कै अघि नासपातीको रुख छ । त्यो कहिले देखि थियो मलाई थाहा छैन । आमाले काट्ने घाँस बारी नासपातीको रुख तल थियो । जव उनी नासपातीको रुख छेउमा हुन्थिन हामीलाई हाम्रो डिउटी याद हुन्थ्यो । कुखराका याद आउँथ्यो । त्यो बेला पल्टन फेरी डिउटीमा त फर्किन्थ्यो तर समय घर्किसके पछि । आमा त्यसरी नै भन्थिन तिला कान ख्वासी..............।

मेरो गाउँ भन्दा तल पैती भन्ने क्षेत्री गाउँ छ । त्यहाँ मेरी दिदीको मित आमा थिइन । उनी किन मित आमा भएको मलाई थाहा भएन । स्याउको रुख झै मैले जाने देखि नै मित आमा । ती नै मित आमाकोमा आमा गइरहनु हुन्थ्यो ।  आमा पैती जानु भनेको हामीलाई खेल्नका छुट हुनु थियो ।
पैती जाने दिन आमाले घाँस दिउसै ल्याउथिन् । हाम्रो लागि बन्ने खाजा पनि छिट्टै पाक्थ्यो । कालिञ्चोक भन्दा निक्कै तल चरिकोटैमा घाम हुदै आमा ओरालो लाग्थिन । हाम्रो बेलुकीको काम सधै झै उस्तै हुथ्यो एक नासे । अर्थात कुखरा गोठालो ।
कुखराका भाले हामी दाजुभाइ दिदीबहिनीको पल्टन भन्दा निक्कै बलियो थियो । गाउँका मान्छेहरु हाम्रो भालेलाई हेरेर भन्थे लौ कुकुर पो भोटे भनेको सुन्थे भाले पनि रैछ । अनि ति थप्थे यो भालेले स्याललाई उल्टो झम्टेला । गाउँ भरि हाम्रो घरको भाले अजङग भनेर चर्चा थियो । हाम्रो डिउटीमा त्यो भाले पनि पथ्र्यो । दाजुभाइ दिदी बहिनी पल्टनको लागि काम लरोतरो थिएन ।
हामीले छोप्न नसके पछि आमा हामीलाई ठूलो आँखा पारेर हेर्थिन अनि भन्थिन् तिला कान ख्वासी थान्साई ।
मलाई लाग्थ्यो मेरी आमाले गर्न नसक्ने केही छैन । जस्तो कि भात पकाउने, मिठो तरकारी पकाउने, हाम्रो लुगा धुने, अरुको बारीमा नपस्ने गरि भैसी चराउने, बारीमा धेरै मान्छे भन्दा छिटो र राम्रो गरि आलु गोड्ने, मकै गोड्ने, थाङरो राख्ने, भैसे दुहुनी कति हो कति । सम्झेर र भनेर साध्य छैन । बेला बेलामा तिनी गीत पनि गाउँथिन ।
तोरसेला शैलुङ लारिमी
खस्रुक धोङला टारिमी
सिल्वागा सिल्वा लामा खाम
ए पापी खाइखाई दोजिमाले
पाङ आयाङनी सेमला ताम ।
माथी माथी शैलुङ लेकमा,
खस्रुक रुखको फेदमा,
शितल हावा चलि रह्यो,
मनको कुरा भन्नुथ्यो आफ्नै मनमा रहि रह्यो ।

आमाले गर्ने कामको लिस्ट एउटा होइन कति हो कति । कहिले कही रमाइलो गर्न मन लाग्यो भने पन्ध्र पन्ध्र दिनमा लाग्ने फस्कू गोठपानीको हाटमा जान्थिन् ।
गोठपानी हाम्रो गाउँ देखि झन्डै एक घन्टाको टाढाको बाटो पैदल जानु पर्ने ठाउँ थियो । वरीपरि चौतरी बिचमा खाली ठाँउ । गाउँटोलका मान्छेहरु आफूलाई चाहिएको सामान ल्याउथे । अरुलाई दिन्थे । यो हाट एक खालको सामान साटासाट गर्ने थलो थियो ।
आमा हाटमा घरमा केही सामान चाहियो भने जान्थिन् । आमा हाट जानु भनेको हामी पल्टनको लागि मौसम अनुसारको फलफूल खान पाउनु थियो । बर्षाको बेलामा छ भने पदेल भन्ने साना साना दाना भएको फल आउँथ्यो ।  केरा आँप त भन्नै परेन । अनि जाडोको बेलामा भए सुन्तला फल्थे । आमा हाट जानु भनेको हाम्रो लागि साँच्चैको रमाइलो दिन थियो । मलाई आमाले त्यहाँ गएर कसरी ल्याउँथिन थाहा थिएन ।
हाट जाने दिन । बिहानै आमा गोठको काम गर्थिन । अनि नुहाएर नयाँ लुगा लगाउँथिन । हाम्रो नयाँ लुगा राख्ने ठूलो सन्दुक थियो । त्यसमा प्राय साँचो लाग्थ्यो । त्यो खोल्ने बन्द गर्ने अधिकार पनि आमालाई मात्र थियो । उनले सन्दुक खोले पछि बा र उनको पुरानो फोटो हेर्ने र नयाँ लुगाको गन्ध मलाई खुब मज्जा लाग्थयो । त्यसैले म उनलाई जिद्दी गररै पनि सन्दुक खोल्न लगाउँथे । हो त्यही सन्दुक बाट आमा नयाँ लुगा झिकेर लाउँथिन् । उनले अघिल्लो दिनै छुट्याएको आलुको पोको हुन्थ्यो । त्यो भन्दा पहिला हाम्रा लागि के खाने के काम गर्ने ? सबैको लिस्ट उनीसँग हुन्थ्यो । उनी सम्झाउथिन । हामी हुन्न भन्दैनथेउँ । किनभने हाम्रो एक हुन्नले पदेल, केरा, आँप अथवा सुन्तला नआउने हुन सक्थ्यो । भलै हामी काम गर्दैनथ्यौ ।
आमा हाटबाट बेलुकी फर्कनुहुन्थ्यो । आमा आउने समय हामी घाम हेरेरै थाहा पाउँथ्यौ । हाम्रो घरबाट बिस्तारै घाम स्याउको डाँडोमा पुग्थ्यो । अनि हाट लाग्ने गोठपानी, अनि चरिकोट, अनि कालिञ्चोक अनि चाही हिमालमा । त्यस पछि रात पथ्र्यो । आमा हाट गएको बेलाको दिनको घाम धेरै बिस्तारै हिड्थ्यो । अरु बेला मैले यति कम तरिकाले घाम हिडेको याद थिएन ।
बेलुकी फर्के पछि आमालाई कामको चाप उस्तै हुन्थ्यो । हाम्रो पल्टने टोलीको दैनिकी खासै फरक थिएन । हाटको परिकार खायो कुखरो धपायो ।
एक पटक आमासँग मलाई पनि पदेल फल्ने हाट जान मन लाग्यो । मलाई पनि आँप, केरा टिपेर मस्काउने सुर चल्यो । मैले आमालाई भने । उनले नकारिन । बित्ता नाङ तावा आरे तिल्ला हाट नी ? एक बित्ता भएको छैनस किन जाने हाट ?
मेरो पदेललाई मस्काउने प्लान चौपाट भो । मेरो दिमागले भन्यो लो केटो आमालाई नभनि पछि पछि दौडि ।
आमाले हामीसबैलाई अरु बेला झै काम के गर्ने कसरी सबै भनिन् । उनी आलुको सानो पोको बोकेर ओरालो झरिन । उनले स्याउको रुख काटे पछि म पनि नयाँ लुगा लगाएर दौडिएँ । पल्टजनको कप्तानी ठूली दिदीको हुन्थ्यो । उनी हामी भन्दा ठूली भएकीले पनि उनलाई धेरै कुरा थाहा हुन्थ्यो ।
मैले नयाँ लुगा लगाउने बेला सम्म बा घरमा थिएनन । उनी कति खेर घरमा हुन्छन् र कहिले कता गफमा भुल्छन् थाहा थिएन । तिनका लािग चरिकोटको घामको मतलव थिएन । न त गौरीशंकर न कालिञ्चोक नै । उनी गफिए पछि गफिन्थे गफिन्थे । घरमा भने आमाको स्वर सुन्ने बित्तिकै बा चुप हुन्थे । मैले थाहा पाए देखि बाले आमाको कुरा काट्दैनथे । आमाले बालाई घरको काम गर भन्दैनथिन । तिनै बा कतैबाट टुप्लुक्क आइपुगेछन् । मैले स्याउको रुख काट्न पाएको थिइन । तिनले भने पाराङ खाना ? कता माइलो ?
बासँग म दोहोरो कुरा गर्दैनथे । लौ बित्यास यी बा बेसाइतमा कताबाट झुल्किए । म चुपचाप ओरालो झरे । उनले दिदी अर्थात मेरा प्लाटुन कमान्डरलाई आदेश दिए । न्यू यायो । त्यसलाई फर्का ।
दिदी आइन । म झन दौदिए । आमा त्यो बेलासम्म पैतीको मित आमाको घर पुगेकी हुदी हो । दिदी मलाई फर्काउन दोडिइन । म बाटै बाटो नभइ कान्ला कान्ला उफ्रीएँ ।
दिदी पनि उफ्रिइन । एक कान्ला अर्को कान्ला फेरी अर्को । एकै छिनमा मलाई हाटको भन्दा पनि कान्ला उफ्रिदाको रमाइलो बढ्यो । अनि बाटो तिर नदौडिएर कान्ला कान्ला उफ्रिएँ । पहिले पहिलेका कान्ला साना थिए । फुत्त फुत्त फुत्किएँ । एउटा भने निक्कै अग्लो रहेछ ।
मैले दिदी तिर हेरेँ उनी तीन कान्ला माथीबाट म तिर दौडिदै थिइन । म तिन कान्ला मुनि थिएँ । मलाई लाग्यो अरु झै सानो कान्ला हो यो पनि । जम्प ठोकेँ । कान्ला निक्कै अग्लो रहेछ । मेरो ब्यालेन्स बिग्रियो । म मकैको छड्केमा बज्रएँ ।
हाम्रो तिर मकैको ढोड काट्ता खुर्पाले छड्के पारेर फेदमा काट्छन् । त्यो फेदको छड्के निक्कै तिखो हुन्छ । त्यही तिखो छड्केमा ठूलो कान्लाबाट म लडेँ । चसक्क केहीले घोचे झै भयो । लडेकै ठाउँबाट दिदीले दुई कान्ला माथि देखिइन । म जुरुक्क उठ्न खोजेँ अर्को कान्लामा उफ्रिन । कता कता पेटमा दुखे जस्तो भो । केही असजिलो भयो ।
दिदी बेकारमै धेरै कान्ला उफ्रिन परेकोले निक्कै रिसाएकी थिई । उनले बसेको देखेर ठानिछन् यो थाक्यो । उनले सानो तितेपातीको सिरकाना बोकेर रिसाउँदै आइन ।
म भाग्न चाहन्थे उठ्न सकि रहेको थिइन । दिदीले म लडेकै ठाउँमा एक बजाइन । झन्न भो । म दिदीको तितेपाले सिरकना खोस्न चाहथेँ । तर त्यो पनि सकिन । यो सबै यति छिटो भयो कि सायद तीस सेकेन्ड लागेको हुदो हो ।
एक्कासी रिसाएकी दिदी कालो निलो भइन । तिल्ला का ? के को रगत । मैले कम्मर तिर हेरेँ । हात चिसो चिसो भयो । अघि चसक्क भएको ठाउँमा जोडले झड्का आयो । यसो हेरेको रगत आएछ ।
त्यस पछि मात्र मलाई थाहा भयो मेरो कोखा भन्छन क्यारे मृगौला भएको छेउमा ढोडको छड्केले घोचेछ । अघि सम्मको मेरो फुर्ती सेलाउन एक सेकेन्ड लागेन । एक्कसी पिडा यति बढ्यो कि मेरो आँखा ओरीपरि पिलपिल केही नाचे झै देख्न थाले । दिदी रुदै चिच्याइन । मैले दिदीलाई थोरै देखे देखे जस्तो नदेखे नदेखे जस्तो हुदै जान थाल्यो ।
होस खुल्दा म खाटमा सुतेको थिएँ । मलाई आमाले हेरि रहेकी थिइन । अरे हाटमा पदेल किन्न हिडेकी आमा र म आफै हाटमा पदेल टिपेर खान हिडेको मान्छे यस्तो ठाउँमा पो भेट । पेटको देब्रे तिर निक्कै असजिलो भएको थियो ।
दिन बेलुका भएको हुन पर्छ । चरिकाट नजिकै देखिएको थियो । मैले जिन्दगीमा त्यति नजिक चरिकोट देखेको थिइन ।
तिरमिर तिरमिर देखेको दिदी त्यहाँ थिइनन् । बा आँखा तरेर बसेका थिए । आमाको अनुहार ठीट लाग्दो थियो । मैले आँखा खोले पछि भनिन पाराङ सुखाजी । माइला दुख्यो । मलाई दुख्ने भन्दा बढि असजिलो भएको थियो । मैले त्यही भने । आमाको अनुहारमा मेरो भन्दा बढि पिडा थियो ।
डक्टर आए । मलाई फेरी जाँचे । सामान्य घाउ भएको कुरा गरे । यो भाइ आत्तिएर बेहोस भएको हो । खासै चिन्ता गर्नु पर्दैन । अलि कति भित्र छड्के छिरेको भए केटोकाृे मृगौला नै जान्थ्यो । तर अहिले छाला मात्र फाटेको छ केही हुदैन । दुई तीन हप्ता रेष्ट गरे ठीक हुन्छ ।
उनले औषधी दिए । बाले मलाई बिस्तारै खाट बाट ओराले अनि डोकोमा राखे । बाले मलाई बोकेर अघि अघि लागे आमा पछि पछि । त्यो ठाउँबाट हिड्दा घाम कालिञ्चोकमा पुगेको थियो । म घरैमा भएको भए यो बेला आमाले ल्याएको पदेल मस्काउने बेला थियो । अनि सधा झै लोकल कुखराको डिउटी ठोक्ने बेला थियो । तर यो काम मैले आज गर्नु थिएन । कुखरा खोज्दा खोज्दै हामी डफ्फा हराउने खेल खेल्नु पनि थिएन । मलाई त बाले डाकोमा तकिया सहित बोकेर हिडेका छन् । म आमालाई हेर्छु उनले एउटा पाको बर्कोको सहयताले बोकिकी छिन् । अनि मेरो पछि पछि हिडेकी छिन ।
यही आमाले गर्दा त हो नी हुन्छ हिड हाडमा भनेको भए न बाले फर्का भन्थे न कान्लाबाट खसिन्थ्यो । न अहिले पछि पछि हिड्न पथ्र्यो न बाले मलाई यसरी डाकोमा बोक्थे । म बाको ढाडमा बसेर यस्तो सोच्दै थिएँ ।
एक घन्टा जति उकालो लागे पछि बाले भने तं आउन खोजेको गोठपानी यही हो । मैले साचेको गाठपानीमा पदेलका रुख , केरा, अम्वा, आँपका बिरुवा थिए । अनि हाटमा आउने मान्छे अलिकति आलु दिएर मज्जाले टिप्थे । अनि खान्थे खाएर बाँकी चाही घरमा लैजान्थे जस्तो कि हाम्री आमाले हाम्रो लागि ल्याउथिन् । तर त्योस्तो केही थिएन थियो त केवल खाली ठूलो चौर मात्र थियो । दुईवटा चौतरा र यति नै पिपलका रुख । बस त्यति । मेरो दिमागी गाठपानीले हावा खायो । अनि आफूले यही गोठपानीको कारण सास्ती ।
बिस्तारै घामले हिमाल काट्यो अध्यारो बढ्न थाल्यो । अघि सम्म पछि पछि देखिने आमा दखिन छाडिन । बा आमा केही बोल्दैनन् । म जाबो डाकोमा बसेको मान्छे के बोल्नु ? अनि बोल्नु पनि के बोल्नु ? गोठपानी पछि च्यासे, अध्यरी खोला, पैती र हाम्रो गाउँ । बाटो लामो छ भन्ने मलाई पक्का थियो ।
चुपचाप अध्यरी खोलाको भिर कटियो । अनि खोलामा काठको साँघु थियो । बा बाले भने
य चु पटि नै चिउ ङा केमझाङ दोसी याइला । तिमी यतै बस म पारी यसलाई बिसाएर आउँछु ।
आमाले भनिन् ङा स्योङ ध्यामनुन् खाला । म खोलाबाटै आउछु ।
बा मानेननु । बाले मलाई चौतरीमा पु¥याएर राखे । अनि आमालाई लिन गए ।

अध्यारी यति धेरै थियो । मलाई एकाएक डर लाग्यो । अघि बाको ढाडमा बस्दा सम्म मैले केही बिचार गरेको थिइन । अघि सम्म नसुनेको अध्यारी एकाएक झन ठूलो झन ठूलो सुनिन थाल्यो । जता हे¥यो वनझाँक्री र भूत मात्रै । पहिले पहिले बाआमाले सुनाएका भुतका कथा पनि एकै पटक दिमागमा निस्कियो ।
बालाई न रात न दिन । जति खेर पनि बेफ्रिकी घुमी हिड्थे । गाउँका मान्छे भन्थे थेवालाई केहीको डर छैन । एक्लै जता पनि हिड्छ । न भूतको डर न चोरफटाहाको । बा भन्थे मन तगडा भए पछि केही हुन्न । तर ती नै बा एक दिन अलि बिरामी भएर उठे । उनले भने मलाई शेर्पा घर छेउको मानेको भूतले समयो ।
उनी यस्ता कुरा कमै भन्थे । झन हाम्रो डफ्फाले सुन्ने गरि त उनी डर या भुतका कुरा एक दम कम गर्थे । त्यो दिन उनले अघिल्लो रातका कुरा सुनाए ।
म पाडेखानीबाट फर्केदैथे ।
उनले भनेको पाडेखानी हाम्रो गाउँबाट नजिकैको अर्को गाउँ थियो । त्यहाँबाट मेरो घरमा आउनका लागि बिचमा एउटा सानो शेर्पा गाउँ पार गर्नु पथ्र्यो । शेर्पाका घर छेउमा खोला र वन थियो । त्यही वनमा शेर्पाहरु मरे पोल्नका लागि चिहान र सम्झनामा माने बनाएका छन् ।
मेरो पछि कोही थियो । बिस्तारै पतकार बजाएर हिड्ने । उ मेरो पछि पछि थियो । कति खेर कति खेर चाही तामाको भाँडा बोके झै टिङटिङ आवाज पनि आउँथ्यो । धेरै समय यस्तो सुने पछि मैले रोकिएर बोलाएँ । को हो भनेँ तर उतर आएन । यो क्रम दुई तीन चोटी नै चल्यो । म बसे उ आउँदैन । हिडे पतकरमा मान्छे हिडे झै गरि बज्छ चिरिप चिरिप ।
अनि मलाई पक्का भो यो मान्छे होइन । मलाई भुत हुन्छ भन्ने त थाहा थियो तर दिन नलागि त्यसले केही गर्न सक्दैन भन्ने लाग्थ्यो । मलाई लाग्यो आज मेरो दिन सकिएछ कि केहो ? फेरी लाग्यो सास हुन्जेल आस । त्यसैले मारि हाल्यो भने पो नत्र पछि नफर्कि हिड्नु जाति भनेर म हिडेँ । हिँडे के भन्नु कुदेँ । म कति कुदेछु भने एकै सासमा घर आइपुगेछु । त्यही भुतले मेरो यो हालत बनायो ।

आइ पाराङ मेरजीको तिला हो ? आइ माइला निदाइस कि के हो ?
बाले यसो भन्दा बल्ल होस आयो । डरले सबै तिर भुतै भुत देखेको डाँडा पाखा फेरी रुख र हाँगा भए । लौ डरको के कुरा गर्नु । बाले फेरी मलाई अघि झै बोके । आमा पछिल्तिर हिडिन् । आँध्यरो भैसकेकोले अब हामीले उज्यालोको ब्यबस्था गर्नु पर्ने भो ।
उकालोको बिचैमा घट्टे बाजेको घर थियो । उनले घट्ट थापेकैले उनको नाम त्यस्तो राखिएको थियो । ती बाजे छोरा छोरी १२ जना थियो । छोरी ९ छोरा तीन । ती बाजे मेरा बाका साथी थिए । हो हामी तिनै बाजेको घरमा उज्यालो राँको खोज्न जाने भयौ ।
त्यो बेला सम्म ब्यट्रिबाट चल्ने टर्च त्यति चल्तिमा थिएन । अगुल्टो नजिकै भए अगुल्टो हल्लाएर दौडिने चलन थियो । अलि टाढै भए काठको फल्याक चिरेर आगोमा निक्कै सेकाइन्थ्यो । अनि त्यसैमा आगो लगाएर राँको बनाएर हिड्ने चलन थियो । हामीले पनि त्यसै गर्यो । बल्ल बल्ल राँको बालेर घर पुगियो । यस्ता सम्झना धेरै छन् बाआमाका । तंपाई र मेरो, हामी धेरैको मिल्छ होला ।

Saturday, May 12, 2012

सामाजिक सञ्जालमा देशका कुरा

सामाजिक सञ्जालमा देशका कुरा
गोकुल ध्वर्जे तामाङ

फेसबुकमा अचेल निक्कै चल्ने गर्छ संघियताको कुरा । धेरै जस्तो खस र बाहुन साथीहरुले यसको प्रयोग जातिय आधारमा बन्ने भनिएको राज्य पुर्नसंरचनासंग जोडेको देख्छु । उनीहरुले जातिय संघियता माग्नेलाई कतै सुंगुरसँग जोडेका छन् भने कतै बिदेशबाट ल्याएको डलरले कराएको आवाज भनेको छन् । उनीहरुले सके सम्म तल्लो सस्तको शब्द र फोटोलाई प्रयोग गरेका छन् । अनि धेरैले चाही यो देश टुक्राउने अराष्ट्रिय तत्वको रुपमा जोडेका छन् ।
धेरैलाई सचेत नेपालीलाई थाहा हुन पर्ने हो यस्तो कार्य आफैमा बेठीक हो । अनि यसरी बेढंगले बेलज्जा पुर्बक इन्फमेसन सेयर देशको माया देखाउँदैमा अढाइ सय बर्ष भन्दा लामो समय देखि पेलिएको आदिबासी जनजाति, दलित, मधेसीका कुरालाई कम आक्न सकिन्नन । ती पेलिएका थिएनन् भन्ने पनि होइन ।
मलाई आज सम्म कुनै आदिबासी जनजातिले देश टुक्राउछौ भनेको सुनेको छैन । ती धादिङका तामाङ होस या कास्कीको गुरुङ अथवा पुर्बका राई लिम्वु नै किन नहोस । त्यसो नभनेकै अबस्थामा खस र बाहुन साथीहरुलाई कस्ले भन्दो रैछ देश टुक्राउने कुरा ?
इतिहास हेर्ने हो भने आदिबासी जनजातिको इतिहास खस र क्षेत्रीको भन्दा पुरानो छ । धर्ती या देशको माया खस र क्षेत्रीलाई जति लाग्छ त्यो भन्दा कम जनजातिलाई लाग्छ भन्ने मलाई लाग्दैन । के यो देश खस र क्षेत्रीको देश भक्ति भाबले मात्रै नटुक्रिएको हो ? अनि देशको जिम्मा खस क्षेत्री र बाहुनलाई मात्रै छ ? 
देश टुक्राउँछ भन्ने एक तर्फी भनाइले ढोङ्गी देश भक्त आफैले आफैलाई बनाउने भन्दा अरु बनाउदैन । बरु बहस हुन पर्छ हिजो देशको शासन बिरुद्ध बोलेकैले झन्डै अढाइ सय बर्ष पहिले देखि पिपा बन्ने तामाङका अनि कुरा हुन पर्छ जागिर खानैका लागि पुरै आफ्नो परिबेश जात बदल्न बाध्य तामाङ गुरुङका । मधेसमा जन्मेकैले जहिल्यै दोस्रो दर्जाको नागरिक भएर बाँच्न बाध्य मधेसीका । किन उनीहरुलाई पटक पटक दबाइयो ? किन उनीहरु मूलधारमा आएर काम गर्न सकेनन् ? अनि तिनलाई मुलधारमा कसरी ल्याउने ?
जातिय आधारमै बर्गका बिभेद छ । त्यसलाई कम गर्नका लागि बहस, छलफल, अन्तरक्रिया हुन आवश्यक छ । नेपाली  मिडियाको प्रयोग हुन पर्छ । जस्ले जति जानको छ त्यो सिप दिमाग देश बनाउन लगाउने हो कि बिर्गान बेला र मौका आहिले आएको छ । बनाउने हो भने खस बाहुनले हिजो हेपिएका चेपिएकालाई माथि उठाउनु पर्छ । अधिकार माग्नेलाई बिखन्डनकारी , देशघाती भनेर भन्ने होइन । समान अधिकार दिनका लागि सहयोग गर्नु पर्छ । यसरी सहयोग गरे समाजमा अमन चैन हुन्छ । समान समाबशी र दीगो रुपमा स्थायी शान्ति आउँछ ।
जनजातिले भनेका देश टुक्राउने होइन । मूलधारका बाहुन, खस जतिकै हुन भनेको हो । शासन ब्यबस्थामा भाग लिन पाउँ भनेको हो । नेपाली भएकैले जति खस र बाहुन समुदायले पाएका छन् हामी पनि त्यही बराबर हुन चाहान्छौ भनेको हो । यसो भन्दा देश टुक्राउन खोज्दैछ भन्नु कतिको जायज हो ? के जानजाति दलित मधेशी फेरी पनि राणा दरबारिया वा पञ्चायत ब्यबस्थाको बेलामा भए जस्तै शासनमा शासित भएर चुप लागे चाहि देशमा हिन्दू धर्मले मान्ने राम राज्य नै हुन्छ ?
हिजो देखि चलि आएकै चलन हो अधिकार खोज्ने जो कोही शासन सत्तामा बस्नेहरुका आँखामा पापी, अधर्र्मी हुन् । राणा कालमा अधिकार माग्नेलाई देशद्रोह र राजगाथ ताकेको अभियोग लागेकै हो अनि पञ्चायत कालमा अराष्ट्रिय तत्व भएकै हो । अहिले लोकतान्त्रिक गणतन्त्र आएको बेलामा शासन सत्ताका छेउछाउमा बस्नेहरु अधिकार माग्ने जनजातिलाई देश टुक्राउने बिखण्डनकारीका रुपमा देखाउँदैछन् । प्रस्तुत गर्दैछन् ।
देशको उन्नत रेखा कोर्ने काममा एउटै घरको परिवार सबै समान भए घर राम्रो होला कि नराम्रो । सबै मिलेर पिछडी परेका आदिबासी जनजाति, मधेसी, दलितलाई अग्रअधिकार दिएर सबै समान होऔ भनिएको हो । अनि देशको उन्नत भबिष्यका लागि सहकार्य गरौ भनिएको हो ।
हाम्रो देश बहु भाषा संस्कृति र संस्कार बोकेको भनेर भनिए पनि अहिले देश एउटै बनाउनु पर्छ भन्नेहरु एउटै भाषा एउटै भेष भनेर उफ्रिदै छन् । हिजो राजा महेन्द्रका राष्ट्रयता भन्दा चर्को यो राष्ट्रयता आफै कतिको जायज होला ?
खुकुरी, तरबार र भाला प्रर्दशन गरेर देशमा एकता आउँदैन । न त त्यस्ता फोटा अरुलाई टयाग गर्दैमा । त्यो दुनिया सबैलाई जगजाहेर छ । हिजो हिजो भएका देशका क्रान्ति समाजलाई राम्रो बनाउनकै लागि भएका हुन् । अहिले हामी जनताले जनतालाई जनताद्धारा गरिने भनिएको शासन पद्धतीमा छौ । त्यसैले आआफ्नो बेली राख्न पाउनु सबैको अधिकार हो ।
सामाजिक सञ्जाल अहिलेको आफ्नो बिचार पोख्न सकिने एउटा सजिलो माध्यम हो । यसमा जायज तर्क गरेर समाजलाई देशलाई केही राम्रो पनि गर्न सकिन्छ । अनि अरुलाई बिखण्डनकारी भनेर अफै बिखण्डन गर्न पनि सकिन्छ । यो समय हामी मिलेर केही गर्ने बेला हो । त्यो केही गर्न नसके पनि सामाजिक सञ्जाल मार्फत गलत इन्फरमेसन र समाजलाई उत्तेजित पार्न खालको काम नगरेकै राम्रो । होइन भने यो दोहोरो होला ।
अरु कुरा पछिल्ला भेटमा गरौला । तंपाईको असल प्रतिक्रियाको अपेक्षा । जय होस ।