Thursday, July 7, 2011

फेसवुक कुमारी

फेसवुक कुमारी भाग एक


फेसबुकमा रमाउनेमा पर्छु म । मिल्थ्यो भने निन्द्रामा पनि चलाएर निदाउथे कि जस्तो लाग्छ ।
तर केही समय अघि म गाउँतिर घुम्न निस्किएकोले लगअन गर्न नपाएको धेरै दिन नै भएछ । इनबक्स भरी धेरै म्यसेज आएर थन्किएछन् । ट्याग भएर आएका केही फोटा र केही साथीका रमाइला कमेन्टहरु पनि । एक जना साथी छन् संकल्प माइला । उनी बेला बेलामा लेखि रहन्छन् ब्यतिगत भोगाइ । उनको लेख्ने तरिका रमाइलो लाग्छ । उनले पनि एउटा कथा झै लाग्ने भोगाइ पठाएका रहेछन् ।

राम्रो फोटो देखे पछि उनलाई एड रिक्वइस्ट पठाएँ । उनले त्यसलाई तुरुन्तै एसेप्ट गरिन । नाम थियो ज्ञानु माली । उनको इन्फोमा हेरे घर कीर्तिपुर रहेछ । कीर्तिपुर आफैमा ऐतिहासिक शहर । कुनै बेलाका शक्तिशाली राजा पृथ्वीनारायणलाई आच्छु आच्छु पारेको शहर । कुनै बेलाको पक्का नेवारी शहर । अहिले भने अरु जातकै मानिसको बसोबास धेरै भएको ठाउँ । अहिले पनि नेवारी शहरको पुरै अस्तित्व नै हराइ भने सकेको छैन । केही बाकी नै छ ।

अरु कारणले पनि बिशेष छ कीर्तिपुर । कहिल्यै भुइचालो नजाने शहर । अहिले सम्म पनि यहाँका मानिसले भुईचालो जाँदाको अनुभव गरेका छैनन् । अरु त अरु ९० सालको भुइचालोले काठमाडौ तहस नहस बनाउदा पनि यो शहरलाई केही गरेन ।

अनि नेपाली खानाको पर्यबाची बनेको गुन्दु्रक सुरु गरेको शहर । गुन्दु्रकको प्रसंग पृथ्वीनारायणले आक्रमण गर्दा ताकाको रे । त्यो बेलामा यो शहर माथिल्लो थुम्कामा थियो भने थुम्काबाट देखिने सबै भागमा खेती पाती । अहिले बिश्वबिद्यालय रहेको क्षेत्र , तीनथाना नैकाप र भत्केपटी सबै तिर खेती । शहर भएको ठाउँबाट जता हेरेपनि रमाइलो ।

कतै धान फलेर पहेलपुर त कतै तरकारी साग सब्जीले हरियो खेत । हरिया सागपात चाहियो कि खेतमा गयो टिप्यो ल्यायो पकायो । समस्या केही थिएन । जव पहिलो पटक गोर्खेली युद्ध गर्ने आए । खेतमा भएको धेरै कुरा नासियो । धेरै कुराको समस्या भएपनि सबै भन्दा समस्या तरकारीको प¥यो । खेतका खेत भएका हरिया सागसब्जी यता र उताका फौजले कच्याककुच्युक पारे । कुदेर गएर टिपेर खानु पर्ने तरकारी नभएपछि सबैलाई समस्या भो । यु्द्धमा गोर्खलीले हारे । कीर्तिपुरबासीले फेरी युद्ध हुने छनक पाए । त्यसैले खेतका सबै सागलाई ल्याएर कुच्याउदै गाड्ने र सुकाउने गर्ने थाले । कहिल्यै यसरी नराखिएको सागको स्वाद निक्कै अनौठौ लाग्यो । तेस्रो पटकको प्रयासमा गोर्खालीले कीर्तिपुरलाई जित्यो । गोर्खालीले पनि गुन्दु्रकको स्वाद चाखे अनि नेपाल भरि पु¥याए । हो त्यही कीर्तिपुरकी थिइ ज्ञानु माली ।

नेवारनी भएर पनि नेवार जस्तो नलाग्ने अनुहार । म त्यसैमा झुक्किएको थिएँ शायद अरु पनि झुक्किदा हुन ।
एक अर्कामा एड भएको झण्डै एक महिना हामीले केही कुरा गरेनौ । म बेला बेलामा उनको प्रोफाइल अपडेड भने हेर्थे । अरुका कमेन्ट पनि ।

बाँकी अर्को भेटमा ...................

1 comment:

  1. liked it so much and eagerly waiting for next part...........post it soon

    ReplyDelete