Showing posts with label article of community radio. Show all posts
Showing posts with label article of community radio. Show all posts

Sunday, November 27, 2011

यो देखाउने रेडियो हो

यो देखाउने रेडियो हो

गोकुल ध्वर्जे तामाङ

यो रेडियो लोकतन्त्र हो । अनि हामी धादिङबेसीबाट बोलिरहेका छौ । यसरी मैले बोलेको पनि झन्डै चार बर्ष नाघेछ । यस बीचमा थोपल र आँखु खोलामा धेरै पानी बगिसक्यो । अनि धेरै कुरामा परिवर्तन आए ।
यस बीचमा धादिङबेसीमा अरु रेडियो पनि थपिएका छन् । अरु कुराको धेरै विकास नभएपनि नेपालको पत्रकारितामा रेडियोले दक्षिण एसियामै राम्रो फड्को मारिसकेको छ भनिन्छ । तर यस्को ब्याबसायिकताको कुरा गर्ने हो भने हामीले धेरै पटक सोच्नु पर्छ हाम्रो रेडियोको अबस्था कस्तो छ ?

रेडियोमा काम गर्दा ताका रेडियोकै लागि स्वर भएकोमा स्थानिय शर्मीला थापा थिइन । भर्खरको युवा ( हुन त म पनि खासै उमेर ढल्केर कपाल पाकेको त होइन) तैपनि म भन्दा कमकी । धेरै पछि उनीसँग फोनमा कुरा गर्न पाइयो उनले भनिन् मैले रेडियो छाडिदिएँ अरु नै काम गर्र्र्दैछु ।

अर्का सम्भावना बोकेका बिमलराज ढकाल थिए । उनमा प्रतिभा नै भन्दा पनि केही गरौ भन्ने जोस थियो । त्यसले सजिलै भन्न सकिन्थ्यो उनी काम गर्न र खटिन सक्ने मानिस थिए । उनको बारेमा पछि बुझ्दा थाहा भयो उनी त्यो रडियो छाडेर बिदेश गएछन् ।

यी दुबै प्रतिनिधी मात्रै हुन् जो रेडियोमा धेरै टिक्न सकेनन् । कारण सजिलो छ हाम्रो उदाहरणिय भनिएको धेरै रेडियोले खटेर काम गर्नेलाई बाँच्न सक्ने गरी केही गर्न सक्ने अबस्था छैन । अनि रेडियोमा काम गर्नेहरुमा पहिलेका केही महिनाको जोश जाँगर सकिन्छ अनि सुरु हुन्छ मनमा तनाव । अनि भोको पेटको रडियोकारिता कहिले सम्म चल्न सक्छ ? यो रेडियो लोकतन्त्रको मात्रै कुरा होइन । नेपालमा भएका चार सय भन्दा माथि रेडियो मध्ये ८० प्रतिशत रेडियोको साझा समस्या हो ।

रेडियो स्याङजाका स्टेशन म्यानेजर रमेश गोदार काठमाडौमा एउटा कार्यक्रममा भेट भए । पहिले देखि कै चिनजान भएको कुरा गर्दै जाँदा रेडियोको कुरा भयो । उनले अरु भन्दा बढि समस्या रेडियोकर्मीलाई टिकाउन भएको कुरा गरे । उनले भने के ढाट्नु हामी पैसा दिन सक्दैनौ । हाम्रामा सिक्छन् पोखरामा पैसामै काम गर्छन । नजा भन्न सक्ने अबस्था छैन ।

धादिङको बाटोमा अरु कुनै जिल्ला जाँदा म सधै रेडियो सुन्ने जमर्कोमा हुन्छु । त्यसमा रेडियो लोकतन्त्र पनि पर्छ । तर यो बिचमा मैले कहिलेकही स्याइसुइ गरेर सुनेको बाहेक बाटोमा दौडिदा कहिल्यै सुन्न पाइन । म रेडियोमा हुदा राजमार्ग छेउका धेरै गाउँले त्यो रेडियो सुन्न सक्थे ।

शायद यो बर्षको बैसाख तिर हुन पर्छ लोकतन्त्रमा काम गर्ने लक्ष्मी भुजेलसँग भेट भयो । गफगाफ पछि भनिन् म त हप्ताको एक पटक मात्रै कार्यक्रम चलाउँछु । त्यो पनि रेडियोको माया लाग्छ र पो । अहिले त खै रडियोको पावर पनि कम गरेर चलाको रे । त्यही धादिङबेसीमै सुनाउन पनि गारो ।

चार बर्ष अघि उतm रेडियो पाँचसय वाट क्षमतामा चल्थ्यो ।

पत्रकारिताका गुरु पी खरेल भनिरहन्छन् अव रेडियोको छाँटकाट हुने दिन आउँदैछ । साच्चैको जस्ले समुदायका कुरा भनेर यो चाँही मेरो रेडियो हो भन्ने बनाउन सक्दैनन् त्यस्ता रेडियो बन्द हुन्छ । त्यसैले स्थानिय रेडियोले काठमाडौमा डलर झार्न हामीले यति धेरै रडियोसँग नेटवर्क गरेको छौ भनेर धाक लाउने काठमाडौका ठूला ठान्ने रेडियोको लिस्टमा एउटा रेडियो जोडिने भन्दा स्थानिय मानिसका सरोकारका कुरालाई प्रभावकारी रुपमा कसरी भन्ने बारेमा चिन्ता गर्न सक्नु पर्छ । अनि रेडियोमा काम गर्नेले रेडियोमै काम गरेर कसरी बाँच्छ भन्ने कुराको ग्यारेन्टी पनि गर्न सक्नु पर्छ ।

नत्र भने भात होटेल जस्तो उद्घाटन गरेकै दिन देखि सामुदायिक रेडियोका शेयर होल्डर बनेका समुदायका साउजीहरुको जोशमा थपघट हुने बित्तिकै रेडियोको प्रशारण हुने क्षमता पनि तलमाथि भैरहन्छ । अरु ब्यापारबाट फाइदा भयो पाँचसय वाट बनायो घाटा लाग्यो ५० वाटमा झा¥यो ।

रेडियोको विकाससँगै ब्यबसायिकता भयो भने नेपालका धेरै रेडियो लोकतन्त्रहरुका दिन होला नत्र भने झन ५० वाट पछि बन्द गर्नुको बिकल्प हुदैन । अनि त्यसबेला रेडियो खोलेर ठूलो साहुजी, ठूलो पार्टी वा धेरै नाफा कमाउँछु भनेर देखाउनको लागि रेडियोको “र”थाहा नै नपाई खोल्नेहरुले पैसाको नास र स्थानिय जनशक्तिको श्रमशोषण भन्दा केही गर्ने छैनन् । रिसानी माफ ।