Tuesday, April 29, 2014

आमा र मोवाइल


मेरी आमाले चलाउने सबै भन्दा लेटेस्ट टेक्नोलोजी भनेको मोवाइल होला । आमा मोवाइलको अंक चिन्दिनन् । अक्षर चिन्ने कुरै भएन ।

खाली फोन उठायो कुरा गर्यो । कसैको फोन आएन भने त्यतिकै राख्यो । फोन गर्न मनलाग्यो अक्षर चिन्नेलाई गुहार्नु पर्ने । जान्नेकोमा धाउनु पर्ने । चिठ्ठीपत्रको जमनामा चिठ्ठी वोकेर ठूलावडाको धाए जसरी ।

आमालाई जंग चलेछ । म आफै फोन गर्न सक्ने वन्छु । अनि त्यो बेलामा सम्म उनलाई रिसिभकलको कि मात्रै थाहा थियोे । त्यस पछि उनले डायल कि चिनिन । फोन उठाउन मन लागेन भने नउठाउने फान व्यस्त छ भन्ने कि पनि चिनिन । लामो लामो नम्वर सिक्न भने असजिलो भयो ।

हामीले उपाय निकाल्यौ । मोवाइलमा भएको सेम्वोल चित्रहरु राखेर नम्वर सेभ गर्ने । अनि त कुरै सकियो ।
हामीले मिलाएर नम्वर सेभ गरिदियौ । जेठो छोरा अलि पुड्के छ नम्वर भकुन्डो । माइला कता जान्छ के गर्छ आमालाई थाहा छैन त्यसैले पात । साइला अलि फटाहा छ सर्प । कान्छा अलि कुरा दोहोरो गर्छ दोहोरो धर्का । दिदीको नम्वर पनि सेभ गर्नु पर्यो । दिदी विवाहित त्यसैले भिनाजुको समेत गरि दुईटा टाउको । मामा, हजुआमा सबै गरि झन्डै १५ जना भन्दा बढिको नम्वर सेभ भो ।

अव जस्ले फोन गर पनि चित्र आए पछि चिन्थिन लौ फलनाको फोन आयो । आमालाई दुःख दिन मिसकल मार्छौ । आमा थाहा पाउनु हुन्छ । ग्याद आरे ? काम छैन केटा ?

अव अर्को उपाय पनि सिकिन फोन गर्ने । हामीले उपाय निकाल्यौ एउटै मात्र अंक हानेर फोन गर्ने । स्पिड डायल भन्छ क्यारे । आठ जनाको स्पिड डायलले धान्यो । अर्को उपाय पनि सिकायौ । नम्वर सेभ भएको चित्र हेर्ने अनि डायल गर्ने । त्यो पनि उनले सिकिन् ।

जहाँ इच्छा त्यहाँ उपाय भनेको त्यस्सै होइन रहेछ । । अव आमाले सजिलै थाहा पाउँछिन दुई टाउका आयो भने दिदीको फोन । पात आयो भने माइला ।

आमाको मुख हेर्ने औशी । विहानै उठेर फोन गरेँ । परदेशी भैखाको छोरोले गर्ने त्यति न होला ? फोन उठेन । शायद आमा काली भैसीको दूध दुदै थिइन कि ?

एक पछि गरुला भनेर फोन दोहोर्याइन । के के काममा व्यस्त भएर आमालाई फोन गर्न विर्सेछु । खाना खाने बेलामा फोन आयो ।
तिला लावन मुला? के गर्दैछस ?
घइमा खावा घिम्री ? घर कहिले आउँछस् ?

म सनै छदा आमा मलाई सधै पढ भन्नु हुन्थ्यो । दाजुभाइ दिदी वहिनी मिलेर पढ्थ्यौ । पढ्नु के थियो गीत गाउँथ्यो । आमा अक्षर नचिन्ने तर कखराको गीत भन्न सक्ने । आमाले भन्थिन । हामी कपिमा अक्षर हेर्थ्यौ । क हामी सबैको आँखा क मा हुन्थ्यो । ख हामी सबैको आँखा ख मा ।

हामी विस्तारै अरु धेरै कुरा सिक्यो । पढ्नका लागि सदरमुकाम हुदै राजधानी छिर्यौ । दिदीको विहे भो । अरु दाइभाइको कथा मेरो भन्दा फरक छैन । हामी आफैमा व्यस्त भै टपल्यौ । अव हामीले चिन्ने अक्षर धेरै भयो । नेपाली मात्रै होइन अंग्रजी पनि चिन्ने भयौ । छोराछोरी बढे पछि आमाले कसैलाई कखराको गीत सुनाउन परेन । आजकाल विर्सिइन जस्तो छ ।

हामी सहर छिरेर केके सिक्यौ । कम्प्युटर, फोटोग्राफी, भिडियोग्राफी के के हो के के ? सिक्नु पनि त्यस्तै छ । आमाको जिन्दगीमा धेरै फेरवदल छैन । जति सन्तानको छ । अँ सँच्ची मेरो त फेसवुक पनि छ । मेरी आमा फेसवुक चलाउने त कुरै भएन । आमालाई सम्झिएर फोटो अपलोड गर्ने कति भए कति । तर स्टाटस लेख्ने पनि धेरै भए । जति घन्टा फेसवुकमा आमालाई सम्झेर विताइयो । त्यति घन्टा आमालाई कुनै कुरा सम्झाइएको छैन होला ।

जे होस आमाहरु आफूलाई नआए पनि सन्तानलाई सिकाउँछन् । सन्तानले जानेको कुरा आमालाई सिकाउने फुर्सत थोरैसँग मात्रै छ । म अपवाद होइन । जेहोस आमाले कुनै बेला अक्षर नजानीकनै  गीतको शैलीमा सिकाको कखरा नै अहिले म कम्प्युटरमा टाइप गरिरहेछु ।

No comments:

Post a Comment