Thursday, May 9, 2013

आमा


आमा

बर्षाको बेलामा चर्केर घाम लागे दर्केर पानी पर्छ । आमा भन्थिन् । कहिले कही गोठालो जाने मलाई उनी सल्लाह दिन्थिन् सके घुम लैजा, नभए छाता लैजा नभए पनि प्लास्टिक लैजा । मलाई घाम लागेको बेला यस्तो कुरा बोक भन्ने उनको कुरामा दम देख्दैनथेँ । दिउँसो एक छिनमै बादल आकाशमा देखा पथ्र्यो, अनि पानी दर्किन्थ्यो । पानीले भिजाउनै लाग्दा आमा घुम ओडेर हातमा छाता बोकेर आउँथिन् स्यास्या गर्दै । छाता पुयो बिमा अन्यान्वा । चु नाखी । छाता बोक भन्दा नबोक्ने । कुकुर । मेरो भन्नु केही थिएन । लाग्थ्यो कसरी मिल्यो आमाको कुरा ?

बर्खाको बेला भरपर्दो ओडान घुम हुन्थ्यो । घुम गाउँमै बनाउन सकिन्थ्यो । सालको पात र चोयाबाट । हाम्रो गाउँमा सालको रुख थिएनन् । छैनन् । सालको पात टिप्न बेसीमा झर्नुपथ्र्यो । बा बेसीमा पुगेर पात टिपेर ल्याउथे । पातलाई मिलाएर चोयामा राखिन्थ्यो । अनि तयार हुन्थ्यो पानी छेक्ने घुम ।
घुम ओड्नका लागि भरपर्दो भए पनि बोक्नको लागि भने झन्झटिलो हुन्थ्यो । एक त निक्कै भारी हुने घुम । अर्को सानो फुच्चे म । बोक्नका लागि त्यति सजिलो हुदैनथ्यो ।
छाता अलि सजिलो थियो । ओड्नका लागि घुम जति भरपर्दो नभए पनि । तर यो घुम जस्तो सजिलै हाम्रा गाउँमै तयार हुदैनथ्यो । छाता किन्नका लागि एक दिन हिडेर तामाकोशीबजार या मुडेबजार पुग्नु पथ्र्यो । अनि गतिलै पैसा पनि तिर्न पथ्र्यो । अनि यति महंगो छाता बिग्रिएमा बाको गाली पाइने डर हुन्थ्यो । त्यसैले पनि मलाई छाता गतिलो लाग्दैनथ्यो । भनौ मन भएर पनि मन लाग्दैनथ्यो ।
त्यस्मा पनि दुई पटक छाता बिगार्नेमा पर्थे म । बाले भरखरै बजारबाट किनेर छाता ल्याउनु भएको थियो  । कालो रंगको १६ वटा करंग भाको । ठूलो र महंगो छाता बा भन्दा अरुलाई बोक्ने अनुमति थिएन । बा पानी नपरे पनि छातालाई ढाडमा बोक्थे । इस्टकोटमा झुन्ड्याएर ।
एक दिन के परे कुन्नी बाले छाता बोकेनछन् । मेरो पालो पर्यो भैसी चराउने । सधै झै आमाले पानी पर्दा ओड्ने केही लिन भने पछि मैले बाको स्टकोटमा झुन्डिने छाता बोकेँ । आमाले नाइ भनिनन् ।
दिउँसो घाम लाग्यो । बोकेको छाता के गर्नु ? खोले । ठूलो थियो । एक छिन ओड्दा शितल भो । अनि एसो घुमाको रमाइलो लाग्यो । फेरी घुमाएँ झन रमाइलो लाग्यो । अनि त मेरो काम भैसी चराउनु होइन छाता घुमाउनु मात्रै भयो । दिन भरि छाता घुमाए पछि बेलुकी घर फर्किने बेलामा छाता बन्द गर्न खोजेको बन्द हुदैन् । जति बल लायो बन्द हुदै हुदैन । भए जतिको बल लाउँदा छाता त बन्द भयो भएको १६ करङले बाहिरको छाताको कपडालाई च्यद्दै निस्कियो । अव मसँग भएको बिकल्प भनेको रुनु मात्र हो । राएँ ।
आमा ढिलासम्म भैसी गोठमा नआएकोले खोज्दै आउदै रैछिन् । झन म रोएको सुनेर डराउदै आइछिन् । आइ तिला ताजी ? के भयो ?
मैले कही भनिन । छाता देखाएँ । त्यति महंगो छाता च्यतिदा भक्कु गाली अझ बढि थप्पर पनि पाइने हो कि भन्नेथ्यो । आमाले भनिन् लु लु आक्राउ । छार बालानी । ल ल नरो । नयाँ आउछ नी । ल अघिसम्म त्यत्रो मनमा डर बोकेर बसेको म आमाले एक पटक त्यति भन्ने बितिक्कै खुशीले बुरुक्क उफ्रिएँ । बेलुकी घरमा बाआए पछि आमाले मिलाएर भनिन् । दिन्छे चु मुइ च्याबारी निबाथ्यो । पाप्चिम । ढंग आरेवा । दिउसो यो भैसी चराउँदा कस्सेर लडेछ । ढंग नै छैन । अनि थपिन । मिलाएर छाता खुस्किएको कुरा सुनाइन ।
बाले अरु बेला भए के भन्थे आमाले भाती मिलाएर भने पछि केही भनेनन् । अर्को पटक पनि छाता भाँचेको छु ।

प्लास्टिक बोक्न सजिलो तर ओड्यो ओडे जस्तै नहुने । ठूलो सानो सानो काँडाले पनि प्वाल पारि हाल्ने । त्यसैले पनि मलाई प्लास्टिक मन पर्दैनथ्यो ।
गोठमा दुई बेत भैसी सधै हुन्थ्यो । लइनो र बकेर्नो । यसो हुँदा घरमा दुध दही सधै हुने । गाउँ भरिका सबैका गोरु हुने । त्यसैले हाम्रो घरमा एक हल गोरु थिए । भैसीको पाडा पाडी गरि सात आठ ओटा गाईभैसी हेर्ने जिम्मा गोठालो जानेको हुन्थ्यो ।
म स्कुल जाने बेला आमाले यी सबै गाईभैसी चराउने, घाँस काट्न, हामी खुवाउने, पाहुनापात मिलाउने, मेलापात गर्ने सबै भ्याउँथिन । उनी भन्थिन खुट्टा उमारी दिने मात्र हाम्रो काम हो । उम्रपछि त कता पुग्छन् कता ।
आमाको दिन उस्तै छ । जस्तो म गाउँमा हुदा हुन्थ्यो । आमाको मुख हेर्ने औशीका दिन आज बिहानै ८ बजे उठेर फोन गर्दा आमाले हामीले भैङसीघारी भन्ने उत्तेसीघारीमा घाँसको भारी पु¥याएको कुरा सुनाउँदै थिइन ।
आमालाई केही कुराको गुनासो छैन । जन्माइन, हुकाइन, बढाइन, पढाइन । त्यसैले त आमा ।


No comments:

Post a Comment