Sunday, April 1, 2012

हिसाव र शैलुङे

हिसाव र शैलुङे

हन भाइहरु म चाही शान्ता राई हो क्या । पढ्न त पढियौ हौ उतै क्या झापा तिरै । अन्त तिमीहरुलाई पढाउन आको कि । उनी कक्षामा पस्ने बितिक्कै यस्तै कुरा सुनाउँथिन् । गोरीगोरी, थेप्चो नाक, चिम्सा आँखा, होचा कदकी शान्ता म्याम ।
म्याम मेरा लागि इङलिसे गुरु गोपाल राईले भर्खरै बिहे गरेर ल्याएकी नयाँ दुलही म्याम थिइन । अनि पछि मात्रै हामीलाई गा¥हो लाग्ने बिषय पढाउन आएकी शिक्षिका ।
उनी आएको पहिलो दिन गोपाल गुरुले दुलही ल्याए रे भन्ने खुव चर्चा भयो । बिद्यालय भरी एक खालको हल्ला र तरंग फैलियो । नयाँ शिक्षक आउँदा जहिल्यै पनि हामी कस्तो आउँला भनेर सोच्थ्यौ । उनी हामी स्कुल पुग्नु पहिले नै अफिसमा छिरिछिन् । हामी मास्टर बस्ने कोठालाई अफिस कोठा भन्थिउँ । अफिस कोठाको झ्याल अग्लो थियो । अनि केही भित्र हेर्न परेमा झ्यालमा चढ्नु पथ्र्यो ।
पहिले कहिल्यै नआइकी गोपाल गुरुको दुलहीलाई हेर्न मन नलाग्ने कुरा भएन । त्यसैले कक्षा आउनु भन्दा पहिले नै अफिसमा हेर्ने भयौ । हुन त बिद्यार्थी बेलामा जे मा पनि उत्सुक्ता हुन्छ । झन नयाँ मान्छे आयो भने त मास्टरसाहेबहरुलाई अफिसको सानो प्वाल र झ्यालबाट झुम्मिने बिद्यार्थीलाई धपाउँदैमा बित्छ ।
म पनि अफिसको झ्यालमा झुन्डिएँ । भित्रकी नयाँ दुलही म्याम हेर्नको लागि । भित्र एक सुरले हेर्न मात्र लागेको थिएँ । त्यही बेला एउटा मास्टरले मलाई पक्डिए । अनि एक थप्पर लगाएर छाडे । झ्यालबाट दुलही म्याम त देखिएन नै बेकारको झाप्पु खाइयो । पहिलो गाँसमै ढुङगा । यस्तो कुटाइ खाइखाइ जावो दुलही म्याम । म हारेको अनुहार लगाएर गएँ कक्षा कोठामा ।
एकै छिनमा उनी चक र डस्टर बोकेर हाम्रै कक्षामा आइन । थुक्क एकै छिनमा देखिने रैछ बेकारमा झाप्पुको लागि झुन्डियो । उनले हामीलाई हिसाव बढाउने भइन । यो बिषय मेरा लागि कहिल्यै प्यारो रहेन । मलाई अहिले सम्म पनि केही गा¥हो लाग्छ भने यही हिसाव हो । केटाहरुले थेगो नै बनाएका थिए हिसाव भन्यो कि डरले पिसाव आउँछ । हो यही बिषय पढाउने भइन उनले । हामी सात कक्षामा थियौ ।
पहिले पहिले हामी सानो कक्षामा एक देखि सय सम्म भन्न सिक्यौ । अनि मलाई हिसावको सानो कक्षामा हुदाँ दुनोट खुब रमाइलो लाग्थ्यो । दुनोट भन्दा चाही सबैले एकै स्वरमा दुइ एकाने दुइ दुइ दुना चार दुइ तिया छ भनेर गीत गाउँथे । यस्तो बेलामा जति चर्को स्वरमा कराए पनि पाउने । त्यसैले निक्कै रमाइलो लाग्थ्यो ।
हिसाव जान्नु केही थिएन । सुत्र माथि अर्को सुत्र । त्यो कताबाट कसरी आयो पत्ता नहुने । कताको होल स्क्वायर कताको क्यू । कताको ब्राकेट कताको ट्रयाङ्गल । मलाई केही शुद्धि नआउने । प्रत्येक दिन केही न केही सुत्र पढनै पर्ने । ओहो मलाई अरु पिरियडमा कुनै चिन्ता थिएन तर हिसाव भने पछि त्यस्सै उकुस मुकुस हुन्थ्यो ।
मलाई लाग्थ्यो सुत्र बिनाको हिसाव जान्ने मास्टर आए पो । यी शान्त म्याडमले पनि उस्तै हिसावका सुत्र कन्ठ गर्नु भन्छन् । आफूलाई अरु धेरै कुरा बुझे पनि जिन्दगीभर नबुझेकै कन्ठ गर्नु हो । मलाई कन्ठ गर्ने फुर्सद पनि हुदैन । बेलुकी घर फर्किनु । बिहान बिद्यालय आउनु । लामो बाटोको बिद्यार्थीको मर्का आफ्नै थियो ।
सुत्र कन्ठ नगरे पहिले पहिलेका मास्टरले कुट्थे । वनमाराको सिरकना कति भाचिन्थे भाचिन्थे । आफ्नै हातमा सिरकना भाँच्न आफै वनमारा भाच्न जानु पथ्र्यो । तर अव यी शान्ता म्यामको भने हातमा सिरकनाको डाम होइन कार्वही गर्ने चाला फरक थियो । भन्न जानेनन् भने उनी कि त चुट्किला, कि गीत, कि कबिता जे भने पनि हुने । भन्न चाही भन्ने पर्ने । त्यसैले पनि मलाई सजिलो भयो । त्यो बेला मेरा बाले रेडियो ल्याएका थिए । अनि म रेडियोमा गीत सुन्थे । कुन्ती मोक्तान, नारायण गोपाल, नातिकाजी, प्रमध्वज प्रधान, अरुणा लामा अनि अरु धेरैका । मलाई आउने गीत भनेको कुन्ती मोक्तानको माथि माथि शैलुङेमा चौरी डुलाउनेलाई मात्र थियो । अरु गीत सुन्यो बिर्सन्थे । यो गीत आफ्नै गाउँ शैलुङेको भएकोले पनि अलि सम्झन्थे । अनि सुत्र आएन कि म गीत गाउँछु म्याम भन्थे ।
उनी स्विकृतिको लागि टाउको हल्लाउँथिन । म मेरै तालमा माथि माथि शैलुङे भनिदिन्थे । एक दुइ र पटक पटक शैलुङे दोहिरोन थाल्यो । अनि कन्ठको कुरा आयो उनी म तिर हेरेर भन्थिन ।
हन यो केटाले के गर्छ हौ ? अरु गीत त सुनेकै पो छैन कि के हो ? सधै शैलुङे शैलुङे ।
धेरै पटक शैलुङे गाए पछि मैले जानिन भने पनि उनी भन्थिन भो हो भो यो केटाले गाउने त्यही त होला शैलुङे । लु भो हौ बस । शैलुङे जसरी पढेको भापो हुन्थ्यो हो ।

अव मैले गीत पनि गाउन नपर्ने भो । मनमा रमाइलो लाग्यो । अनि मलाई लाग्यो साँच्चै यो शैलुङे कन्ठ भए झै हिसावका होलस्क्वायर र क्यू कन्ठ भए ।

उनले त्यस पछि हामीलाई पढाइनन् । म जसो तसो त्यो बर्ष हिसावमा पास भएँ । जे ग¥यो शैलुङेले ग¥यो । त्यस पछि पनि फेलै त भइन तर मेरो हिसावसँगको दुस्मनी भने कायमै रह्यो ।

No comments:

Post a Comment