शुन्य सहर
तिमी नभएको शुन्य सहर
होहल्ला कोलाहालको बीचमा पनि ।
हुलका हुल सधै हतारका मान्छेहरु
हजारौ संख्याको मोटरगाडीको कराइ
अझ छन् केही हजार थान कलकारखाना
जहाँ सधै बजिरहन्छ खताराका साइरानहरु ।
बेपत्ताको कचमन्न रात झै
ठिङ्ग उभिएको यो सहर
जिस्क्याउदै मेरो शुन्यतालाई ।
चर्को अग्रेजी गीतको स्वरमा
छिल्लिदै कराउने डान्सबारका डान्सरहरु
दोहोरी गजल वा अन्य केही रेष्टुरेन्टका आवाजहरु
बेलाबेलामा सवारी र बिषेश बेलामा दिने तोपका स्वर
सबै सबै निक्कै सानो छ मेरा लागि ।
म सोच्छु सहर किन यति साह्रो शान्ति छ
मुर्दा शान्ति साँच्चै मुर्दा शान्ति ।
तिमी नभएको सहर शुन्य सहर
यो कोलाहलको वीचमा पनि ।