Wednesday, June 8, 2011

बालबालिकाको पुस्तकालय

बालबालिकाको पुस्तकालय
स साना चकटी र सानै टेवुल भएको यो कोठा साना बिद्यार्थीका लागि तयार भएको पुस्तकालय हो । मिलाएर राखिएका किताब साना बिद्यार्थीलाई मनपर्ने कथा, कविता र अन्य रमाइला बालपुस्तक हुन् । यहाँ पुस्तक भन्दा बढि खेल्दाखेल्दै सिकिने शैक्षिक सामाग्रीहरु छन् । नवलपरासी जिल्लाको निक्कै पिछडिएको कोल्हुवा गाउँमा छ यो पुस्तकालय । ब्रम्ह प्राबिको बालपुस्तकालय । नयाँ नयाँ पुस्तक पढ्ने पाइने र खेल्दै धेरै कुरा सिकिने भएपछि बिद्यार्थीको संख्या बढेको छ ।
यहाँ बोटे माझी,मुसहर र थारुको बाक्लो बस्ति छ । आर्थिक अबस्था निक्कै कमजोर भएका उनीहरु बालबालिकालाई बिद्यालय पठाउने भन्दा पनि घरकै काम बढि लगाउन मनपराउँथे । बालबालिकाहरु पनि पढाईमा भन्दा घरकै काममा जोड दिन्थे ,धेरथोर सहयोग गर्थे ।
बिद्यालयमा केही बर्ष अघि सम्म बिद्यार्थीको अभाब थियो । यहाँका शिक्षकहरुले गाउँका सबै बालबालिकालाई बिद्यालय पठाउनका लागि भन्थे । तैपनि बिद्यालयमा बिद्यार्थीको संख्या भने जस्तो हुदैनथ्यो । बालबालिका बिद्यालय आउँदैनथे । अहिले अबस्थामा निक्कै परिवर्तन आएको छ । गाउँमा पहिले जस्ता बिद्यार्थी डाक्न जानुपरेको छैन । तैपनि झन्डै गाउँ भरिकै बालबालिका बिद्यालय आउँछन् । अहिले यहाँ दुई सयको हाराहारीमा बिद्यार्थी छन् ।
यसरी बिद्यालय आउनुको कारण बिद्यार्थीको लागि तयार भएको पुस्तकालय हो । यो पुस्तकालय गाउँ भरिका बालबालिकाको लागि समय कटाउने ठाँउ भएको छ । राम्रा राम्रा पुस्तक सजिलै पढ्न पाइने भएकोले गाउँका बालबालिका बिद्यालय आएर पढ्न थालेका हुन् ।

पुस्तकालयमा बिद्यार्थीले सकेसम्म धेरै कुरा सिकुन भनेर दिनको एक धन्टा पुस्तकालयमा बस्न पाउने नियम छ । अनि कुनै दिन कक्षा नभएपनि उनीहरु पुस्तकालयमा बस्न पाउँछन् । बिद्यार्थीले आफ्नो रुची अनुसार किताब पढ्न सक्छन् अनि रुचि अनुसार खेल्न पनि पाइन्छ । खेल सामाग्रीले बिद्यार्थीलाई पढाइमा सहयोग गर्ने किसिमको छ । बिद्यालयमा पुस्तकालयलाई ब्यबस्थित गर्न शिक्षकहरुले नै पालो पालो गरेर हेर्ने नियम छ ।
पुस्तकालय बिद्यालय आफैले बनाएको होइन । नवलपरासी डन्डाबजारको अग्यौली सामुदायिक पुस्तकालयको सहयोगमा बनेको हो । सामुदायिक पुस्तकालयलाई भने यसरी गाउँमा बिद्यालय पुस्तकालय बनाउन रिड नेपालले सहयोग गरेको हो ।

नवलपरासीकै अर्को बिकट ठाँउ बाघखोरको दुर्गा भवानी पनि चिटक्क परेको बाल पुस्तकालय छ । कक्षा पाँचकी मुना महतोलाई पुस्तकालयमा भएको कथाका कितावहरु पढ्न निक्कै मन पर्छ । पुस्तकालयबाट खेल्ने समाग्री लान नपाए पनि पढ्ने किताव भने घर लान पाइन्छ ।

यहाँका धेरै बालबालिकाको अबस्था पनि कोल्हुवाको भन्दा खासै फरक थिएन ।
पुस्तकालयमा समय बिताउन थालेका बिद्यार्थीले धेरै नयाँनयाँ कुरा थाहा पाएका छन् । धेरै बिदेशी भाषाका कथाहरु अग्रेजी र नेपाली भाषामा छन् ।

यस्तै पुस्तकालय सिहनाथ प्राबि बरौलीमा पनि छ । यहाँ पनि बिद्यार्थीका लागि राम्रा पुस्तक छन् अनि बालबालिकालाई आकर्षत गर्ने सक्ने खेलौना पनि । यो भेगमा भने थारु जातिको बाहुल्यता छ । बिद्यार्थीलाई पढाउनुपर्छ भन्ने ठान्दैनथे ।
अहिले पनि नेपालका धेरै बालबालिका बिद्यालय जान सकेका छैनन् । उनीहरुलाई बिद्यालय सम्म पु¥याउनको लागि धेरै खर्च र मेहनत चाहिदैन । यस्तै बालबालिकाको लागि पुस्तकालय बनाएर पढ्ने बानी मात्रै पर्न सके धेरै फाइलमा मात्र भएको शैक्षिक प्रगति सँच्चैको हुनसक्थ्यो ।

No comments:

Post a Comment