Tuesday, July 3, 2012

सवारी



थापाथलीबाट हतारिदै रत्नपार्क जाँदै थिएँ । मुलसडक सुनसान थियो । लाग्यो थापाथली इन्जिनियरङका बिद्यार्थीले आन्दोलन गरे होलान् । पढाई र आन्दोलन कुन बढि हुन्छ क्याम्पसमा भने आन्दोलन भन्ने जवाफ आउने पढाई पराम्पारा छ हाम्रो । तर्क दिनेले नेपाली माटो सुहाउने पढाई शैली पनि भन्लान् । अनि कपि राइट हाम्र्रै भन्लान ।
गाडिमा जाने हो भने थापाथलीबाट रत्नपार्क पुग्न मुस्किलले दस मिनेट लाग्छ । त्यसो हुनु एउटा शर्त छ, गाडि जाम पर्नु भएन । पैदलै जाने हो भने पनि आधा घन्टामा रत्नपार्क पुगिन्छ । त्यसैले म आधा घन्टा पहिले नै निस्किएँ ।
गाडि नभए पछि हिड्नुको बिकल्प थिएन । त्यसैले एकसुरले थापाथली चोकबाट त्रिपुरेश्वर तिर लम्किनै लागेको बेला झप्प पछिल्तिरबाट कसैले तान्यो । तनाई मज्जाकै थियो । उसको तनाईले म झन्डै लडेको । कुन चाहि चिनेको होला रोक्न यसो गरेको होला भनेर पछिल्तिर फर्कन्छु त शशस्त्रको हल्दार साहेव पो मलाई तानिरहेका रहेछन् ।
ओइ केटा आँखा गोजीमा हालेर हिडेको छस् ?
सडकैमा हेरेर हिडेको छु त । के भयो ।
आँखा सडकमा भएको भए देखेनस हामीलाई ।
किन नदेख्नु देखेको हो । अरु बेला पनि बस्थ्यौ आज पनि बसेछौ अनि फरक के भो र ?
होइन आज फरक छ ।
के फरक छ?
आज राष्ट्रिपति महोदयको सवारी छ । त्यसैले अहिले जान मनाही छ ।
यसो पारी हेरेको मान्छे हिडिराखेका छन् । औलो पारी तिर पार्दै मैले अघि तानेको रिस फेर्दै झर्किएँ ।
हो त पारीको पारी हिड्ने वारीको वारी । बाटो तर्न मनाही छ ।
होइन म जानु पर्छ ।
तिमीले जिद्दी गरेर हुन्छ जान पाउदैनौ ।

उनले मलाई यसरी हेरे मानौ मेरो हातमा बम छ र म उनैलाई ताकेर हानिहाल्छु । पुग्न त पारी नै हो । उता साथी मलाई रत्नपार्कमा पुग्नु छ । मलाई सधै आरोप लाग्छ बेलामा आउँदैनस् । समयको महत्व थाहा नभएको मानिस । जान खोज्यो हल्दार महोदय मज्जाले अठ्याएर भन्छ तैले पर्खनुपर्छ । रिसको पारो चढ्यो । गर्नु के ? फेरी चुप लागेर बस्नुको बिकल्प भएन । ती भुडे हल्दारसँग तर्क गर्नु भन्दा चुपचाप बस्नु उत्तम झै लाग्यो । हुनत त ती भुडे हल्दारको पनि दोष थिएन । उनलाई माथिबाट आदेश आयो । बाटो रोक भने । उनले त्यसै गरे । उनीसँग के रिसाउनु ।

सडकमा हेर्यो खाली छ । कति खेर ती राष्ट्रपति कति खेर हुइकिने हुन् कुनै पत्तो छैन । बिस्तारै बस्दा बस्दै मान्छेका हुल धेरै भए । सबैले सडक पार गर्न माग राखे । हुदैन भन्नलाई प्रहरी माथि प्रहरी थपिए । यति गरुन्जेल पाँच मिनेट जति बितेको हुदो हो ।

माग माथी माग आए पछि पाखा लागेर बसेका असइ खुइया गर्दै आए । उनको वाकीटकीमा के भने । अनि हामीलाई सडक पार गर्न दिए । हिड्दा हिड्दै कसैले भने यस्तै गर्छन र त बम हान्नु पर्ने । अरु कसैले भने राजा गएर के भो अर्को राजा आएछन त ।
पैदलै रत्नपार्क पुग्न लाग्दा पनि राष्ट्रपति महोदय आएका थिएनन् । थापाथलीबाट रत्नपार्क पुग्नु भनेको कम्तिमा आधा धन्टा होला । अनि मलाई लाग्यो राष्ट्रपति पहोदयले शितलनिबासमा सुरुवालको इजार कस्दै गर्दा तिनका भरौटे कुरौटेले काठमाडौको बाटो खाली गराउने रहेछन् । महोदयले दौराको तुना कस्दै गर्दा कति सडकमा म जस्तै मनुवालाई त्यसरीनै घिर्सादा हुन् । कति सवारी साधानको आइसीमा तिरेर आधा दिन लाइनमा बसेर हालेको इन्धन सकिदो हो ? हुन त यस्तो कुराको हिसाव किताव गर्ने न सरकारले गर्छ न राष्ट्रपतिले । तिनलाई आफू हिड्ने सडक खुल्ला भए भयो अरुका बाल मतलब ।

कुनै दिन कतै मैले सुनेको थिएँ राष्ट्रपतिका अमृत बाणी । उनले भनेका थिए । म किसानको छोरो । मैले सानो हुँदा भैसी चढेको हुँ चराएको हुँ । मलाई सबै नेपालीको जीवनशैली थाहा छ । यदि त्यसो भए उनले किन त्यात्रो समय काठमाडौका यत्रा धेरैलाई सास्ती दिएका होलान् । हुन त ती हिजो जनता थिए अब राजा भए भनौ शासक भए । शासक र शासितको फरक नै त्यही होला कि ?

No comments:

Post a Comment