Wednesday, July 25, 2012

काम


कतै सुनेको थिएँ जागिर भनेको जाने र गिरने दुई शब्दबाट बनेको । यसमा केही सत्यता सत्यता छ तर पुरै होइन । खल्तिमा लक्कु अर्थात आनासुकि नभएपछि खानै पर्छ भन्छन् यो । जवानी भएकालाई त केमा जागिर छ भन्ने कुरैले कस्ती कन्या भन्ने सम्म जुराउँछ रे । यो नखाँदा जति सजिलो हुन्छ खाए पछि भने गा¥हो । बाले काठमाडौ छिर्दा सेतो टिका र खादा लगाइदिदै भनेका थिए राम्रा बिषय पढ्नु । म जब गाउँबाट सहर पसे मनमा केही कुरा थिएन जो साँच्चै सहरमा बसेर पुरा गरौ । तर एउटा कुरा भने मलाई सधै लाग्ने गरेको थियो म पत्रकार बन्न पाए । त्यही भएर मिलाएर मैले त्यही बिषयमा भर्ना गरेँ । जब यो कुरा बालाई कसैले सुनाइ दिएका थिए । तिनी रिसाका थिए रे । छोरोले राम्रो केही पढ्ला भनेको त यो नामै नसुनेको पत्रकार । ती छक्क परेछन् । म पत्रकार हुन्छु भन्ने बनाउने काम भने पानसोनिक रेडियोले गरेको थियो । त्यो बेला मेरा गाँउमा बिजुली बति थिएन । नत पत्रपत्रिका । मनोरञ्जनको एकमात्र साधन रेडियो थियो । त्यो पनि रेडियो नेपाल । त्यही रेडियो हो मलाई पत्रकार बन्न हौस्याउने । म कति रडियो सुन्थे भने त्यो रेडियोमा बज्ने सबै कार्यक्रम कुन बेला, कति खेर, कति मिनेटमा बज्छ थाहा पाउँथे । अरु त अरु म कति बज्यो समेत रेडियो सुनेरै भन्दिन्थे । त्यो बेला रेडियोमा खुबै बज्थे नारायण गोपाल ,बच्चु कैलास, प्रेमध्वज प्रधान देखि लालबहादुर खाती , प्रेमराजा महत,बमबहादुर कार्की । ती सबै म पालै पालो जे आयो त्यही सुन्थे । मेरा बा भन्थे लोक गीत र लोक सेलो आए बजाउने नत्र होइन बुझिस । म बाको अघि बुझे भन्थे । तर मलाई आधुनिक ,पप जे भएपनि चल्ने बानी थियो । त्यसैले म बा नभाको बेलामा बजाइदिन्थे जोडले । बाले रेडियो नवजा भन्नुको पनि कारण थियो । एउटा त म बिद्यार्थी । मैले रेडियो मात्र सुने भने बाको छोरोलाई धेरै पढाउने लक्ष्य फेल खान्थ्यो । दोस्रो कारण झन तगडा थियो । हाम्रो घरमा भएको पानासोनिक रेडियोलाई महिनाको एक जोर नयाँ र अर्को जोर पुरानो टाइगर ब्याट्रि चाहिन्थ्यो । त्यो भनेको कम्तिमा महिनामा ३० रुपैया अर्थात एक दिन रेडियो मैले घन्काएँ भने बाको खल्तिको एक रुपैया चिलिम ।  अनि त बाको पारो किन नतातोस । तर मेरा बा सधै घरका घरै बस्न भ्याउदैनथे । अनि पानसोनिक मेरै झै थियो । घन्काउने बजाउने सबै मेरै काम । आमा त मैले बजाएको सुन्नु हुन्थ्यो । मैले धेरै चर्को बजाउदा मात्र झर्किदै भन्नुहुन्थ्यो यसले गरिखादैन काम कुरो एकातिर कुम्लो बोकी ठीमी तिर । रेडियो घरमा आउँदाको कुरो पनि रमाइलो लाग्छ सम्झदा । एक दिन इन्डियाको लाउरेले गज्जवको ठूलो बाकस काँघमा हालेर हाम्रो घर गाउँलाई नै थर्काउँदै आए । हाम्रो घर मुल बाटैमा छ । अनि हजुर बा भेगकै नम्बरी कर्मी । राम्रो काठको केही सामान बनाउन प¥यो कि मानिसहरु हाम्रो घरको आँगनमा आउँथे र भन्थे लौ घ्याङाली बाजे यस्तो खालको कुरा बनाइदिन प¥यो । यति हातको यस्तो बुट्टाको । जस्लाई जस्तो चाहिने हो त्यस्तै खालको सामान । हजुवा तिनका माग अनुसारका सामान बनाउथे । ती बनाउन अराउने मानिस आउँथे हेर्थे र आफूले बनाएको भन्दा पनि राम्रो सामान बनेको देखेर खुशी हुदै भन्थे त्यसै भन्दैन रैछन् है मान्छेले घ्याङाली कर्मी भनेर । ती हजुर बा काठको काममा लागेपछि दुनिया बिर्सिएकी झै लागि रहन्थे । त्यो लाउरे आएको दिन हजुरबाको खासै काम थिएन क्यारै उहाँ त्यतिकै बस्नु भएको थियो । लाउरेले हजुरबाको नाम लिदै हाम्रो घर आयो । हजुरवाले खै केके कुरा गरे कुन्नि ती लाउरे त्यो दिन हाम्रैमा बस्ने भए । बेलुकाको लागि हिमालमा घाम नपुग्दै रातो भाले ढालियो । अनि अरु कुरा धेरै बनाए । मलार्ई पनि खुब रमााइलो लाग्यो । उनले नयाँ कुरा बोकेका थिए । गाउँमा पुजाको जाग्रम बसेर दोहोरी घन्किएझै गीत घन्किन्थ्यो । नाम पनि भने लाहुरेले जापनिज जम्बो क्यासेट । लाउरेले अनेक गीत बजाउँथ्यो । म केही बुझ्दैनथे । शायद हाम्रो घरमा भएका कसैले पनि बुझेनन् । हजुरवाले त भन्नु नै भयो बाबु नेपाली गीत छैनन् ? लाउरेसँग नेपाली गीत पनि रहेछ । उस्ले बजायो लाउरेको रेलिमाई फेसनै राम्रो ....... । घरमा भएका सबै जना खुशी भए । मैले पनि बल्ल गीत बुझे । भाले भोज सकियो । भोलिपल्ट हजुरबाले भाका मिलाएर क्यासेट छोड्नका लागि कुरा गरे । लाउरेले मानेनन् । अर्को पटक बिदामा आउँदा ल्याउने कुरा गरे । हजुवाको भाले भोज बिफल भो । त्यसको एक बर्ष जति पछि होला ति लाउरे फेरी आए । पहिले जस्तो उसँग ठूलो क्यासेट थिएन । सानो लुगाले सिलाएको झोलामा हालेको पानसोनिक थियो । उसले हजुरबालाई दिएको बचन पुरा गरे । हजुरबाको मन अलि खिन्न भएपनि फेरी भाले भोज भो । रेडियोमा समाचार आयो, गीत आयो, अनि अरु के के हो के के । सबै हामीले बुझ्ने भाषामा । मलाई पहिलेको लाहुरेले नदिएको क्यासेट भन्दा यो राम्रो लाग्यो । बोक्न पनि सजिलै सकिने । त्यसपछि सुरु भयो रेडियो र मेरो समन्ध । केही दिन हजुरबाले रेडियो कसैलाई छुन दिनु भएन । म हजुरबा नभएको मौकामा खोल्ने बन्द गर्ने र बोकेर हिड्ने गर्थे । खै के भएर हो हजुर बालाई रेडियोले तानेन । त्यसपछि बाले त्यसको हेरबिचार गर्न कर लाग्यो । अनि त मेरो अधिकारै भो चलाउने । रेडियोको मिटर हुन्थ्यो हातैले घुमाउने । त्यो खै के भएर हो बज्दै जाँदा चल्थ्यो कि के हो स्या आउँथ्यो । त्यसलाई मिलाउने सिप मेराबाको भन्दा मेरो बढि थियो । पहिले पहिले मलाई विस्वास नगरेका बाले आफै मिटर घुमाउथे । उनले धेरै चोटी घुमाउदा पनि स्याका स्या भएपछि तिनले यो काम मलाई अह्राए । मैले मिटर बज्ने ठाँउ कन्ठै गरे । काठमाडौ क्षेत्रियप्रशारण कतिमा ,पोखराको कतिमा, सुर्खेतको कतिमा अनि कति बजे । त्यसपछि बाले रेडियोको जिम्मा मलाई नै दिए । एक दिन बाले रिसको झोकमा भने तँ यसरी नै रेडियोमा झुन्डि रहिस भने के बन्लास खै ? मैले भन्दिए म रेडियोमा काम गर्छु यसरी नै बोल्नेमा । बाले मेरो कुरा पत्याएनन् । गाउँमै थाहा थियो पत्रकारिता पढाइ ग¥यो भने रेडियोमा बोल्न पाइन्छ । पढाइ आरआरमा हुन्छ । पढेको धेरै समय मेरो रेडियोमा बोल्ने सपना सपनानै रह्यो । पत्रकारिताको कुरा हुन्थ्यो । रेडियोको इतिहासको हुन्थ्यो । तर कसरी रेडियोमा बोलिन्छ कसरी रेडियो नेपालमा पुगिन्छ । कुने गेट सजिलो हो कहिल्यै भनेन । तैपनि कुनै न कुनै दिन आउला भनेर मैले हरेसै भने खाइन । त्यस बिचमा रेडियोमा बोल्ने प्रयास नै नगरेको भने होइन । कोठामा रेडियो छैदैथ्यो । मन पर्ने रडियो कर्मीको शैलीमा आफ्नो बोली बनाउने प्रयास भो । कार्यक्रममा बोल्दै गर्दा मेरो पनि उसको झै स्वर मिले जस्तो लाग्थ्यो । तर साथीसँगीलाई सुनाउन भने लाज । बोल्दा पनि मेरो शुद्धाशुद्धि राम्रो थिएन । मेरो रेडियोमा बोल्छु भन्ने सपना झन्डै बिलाउदै गएको । त्यस्तैमा काठमाडौको एउटा एफएममा काम पाइएला जस्तो भो बेतलबी । मेरो भागमा एउटा कार्यक्रम हप्ता भरिमा । बोल्नको लागि सिँहदरबारको स्टिुडियो जानु पर्ने । रेडियोबाट बोल्न पाउने कुराले मात्रै पनि झन्डै हर्टफेल । कार्यक्रम रेर्कडेड थियो ।स्टुडियो गज्जबको थियो । भित्र बोलेको बाहिर नसुनिने अनि बाहिर बोलेको भित्र । हात चलाएको हाँसेको सबै देखिने । बिचमा सिसा राखिएको थियो । त्यही सिसाबाट टेक्निसियनले भित्र बोल्नेले दिएको इसराको गीत बजाउँथे, बिज्ञापन बजाउँथे, रिपार्ट बजाउँथे । म दिएको समय भन्दा अलि अघि पुगेको थिएँ । म भन्दा अघिको कार्यक्रम लाइभ थियो । उनले यसरी नै कार्यक्रम गरे । टेक्निसियन हाँसी हासी कार्यक्रम बजाइ रहेका थिए । लाग्यो मज्जैको मान्छे रहेछन् । लाइभ कार्यक्रम सकियो अनि पालो आयो मेरो । टेक्निसियनले बिभिन्न इसारामा भन्ने तरिका सुझाए । ब्रेकको बेला के भन्ने, गीत बजाउने बेलामा के भन्ने, बिज्ञापनको बेलामा के भन्ने । स्टुडियो छिर्ने बित्तिकै मलाई निक्कै असजिलो भयो । टेक्निे सियनले सिकाए एयरफोन लगाउन लगाए । अनि उनले सुरु भनेर इसरा गरेपछि कसरी बोल्ने भनेर पनि भने । उनी बाहिर निक्लिए । स्टुडियोको ढोका लाग्यो । मैले एयरफोन टाउकोमा राखेँ । त्यसको भारी कति भने मैले तामाकोशीबाट दस पाथी चामाल बोके भन्दा पनि बढि । के बोल्ने भनेर स्क्रिट लेखिएको थियो । पहिलो शब्द नमस्कार स्रोता भन्नु पर्ने । टेक्निसियनले बोल्ने इसारा गरे । मेरो मुखबाट नमस्कार भन्ने शब्द निस्किदै निस्केन । साटोमा स्वास्वा र अँअँअँ मात्रै निस्कियो । टेक्निसियनले सम्झाए । नडाराइ भन । यो लाइभ होइन अलिअलि बिग्रे बनाउन मिल्छ । उनी फेरी स्टुडियो बाहिर निस्किए । अनि फेरी सुरु भन्ने इसारा दिए । स्क्रिटको अक्षर यताउती हल्लेझै पो भोे । अनि डर यसरी बढ्यो कि सासै बन्दै होला झै । नमस्कार नै भन्न नसकेपछि मलाई भाउन्न भो । एसि भएको कोठामा मेरो पसिना पसिना जिउभरी ।  धेरै समयमा पनि भन्न नसकेपछि अघि सम्मको टेक्निसियन डन भए । केहो रेडियोमा बोल्छु भनेर मात्रै हुन्छ । बोली पनि चाहिन्छ नी  । अनि उनले आफ्ना हाकिमलाई गाली गरे कस्ता कस्ता मान्छे पठाउँछन् हाकिमहरु पनि । उनको कुराले सिँहदरबार छिर्दा आफै सिँह झै सम्झेको म अब बिरालो भन्दा पनि तल झरे । दाइ अलि प्राक्टिस पुगेन जस्तो छ । म अलि पढेर फेरी रेकर्ड गरुँ है । उनले ठूलो आँखा तरे । मैले हुन्छ भनेको बुझेँ । सोचे साला कत्रो प्राक्टिसथ्यो कोठामा । कस्तो मज्जाले नमस्कार स्रोता भन्न सक्थे । रेडियो नेपालको एकसय एक नम्बरी कार्यक्रमको नक्कल गर्न सक्थे । अरु त अरु हजुरबाले लाउरेबाट भाले भोजमा उपहार पाएको रेडियो काँधमा झुन्ड्याएर गोठाला जाँदा पनि प्राक्टिस गरिएको थियो । यी सब कुरा सम्झेर आउँदा आफै देखेर वाक्क लाग्यो । अनि यत्रो लामो सपना पुरै हुन लागेर फेरी हराउन लागेकोमा पछुतो पनि । मनमनै सोचे हुन्न केटा यसरी त कम्मर कस्नु पर्छ । रिसाएर डन भएका टेक्निसियनलाई सानो स्वरले सोधे सर बाथरुम कता छ ? अघि दाइ भनेको उनलाई सरमा प्रमोशन गरे तर उनी बोलेनन् । आँखैले इसारा गरे स्टुडियो बाहिर । बाथरुममा पसेर मुख धाएँ । नयाँ जोसले हातमा भएको स्क्रिट पढेँ । खरर गयो । अघि स्टुडियो भित्र यसरी गाको भए । फेरी दोहो¥याएँ । फेरी नअट्की नै खरर गयो । अलि जोस बढ्यो । अनि स्टुडियोमा छिरेँ ।  टेक्निसियनले डाइलग मारे के हो भाइ पिसावै आयो कि के ? मैले केही बोलिन । उनले फेरी स्टुडियोमा छिर्न र बोल्न भने । अनि यदि यसमा बिग्रेमा आफुले केही गर्न नसक्ने कुरा गरे । भित्र छिरेर मैले पनि खरर पढेँ । उनी छक्क परे । आधा घन्टाको कार्यक्रम बोल्न पर्ने जम्मा जम्मी थियो होला दस बाह्रा मिनेट । एक दुई ठाँउमा बिग्रियो । मैले दोहो¥याएँ । भएको हातको स्क्रिप्ट भ्याए पछि बाहिर निक्लिएँ । अघिको डन टेक्निसियन खुशी भएछन् । स्वर त राम्रो रैछनी भाइ बोल्ड । पहिले चाही किन हतासिएको त । पहिले पनि कतै काम गरेका थियौ कि के हो ? त्यसपछि सुरु भएको पत्रकारिताको जागिर अहिले सम्म जारि छ फरक यति हो कहिले कता कहिले कता । अनि गालि गर्ने मानिसहरु फेरिएका छन् कतै सम्पादक कतै प्रेसका साहुजी ।

No comments:

Post a Comment