Saturday, July 28, 2012

होच्याउने शैली



हिजो आजका कुरा । कुनै बेलाको चर्चित टेलीभिजन कार्यक्रम । अहिले यो रेटिङमा कता पर्छ थाछैन । जेहोस फेरी सुरु भएको छ । सन्तोष पन्तको निर्देशन रहने यो कार्यक्रम २७ जुन २०१२ मा भएको अंकको बारेमा केही भन्न मन लाग्यो । कार्यक्रमको कथा दुई समुदाय बिचमा हुने अन्तरजातिय बिबाहामा छ ।
शेर्पाको छोरीलाई क्षेत्रीको छोरोले मन पराउँछ । कति भने ज्यान दिन तयार छ । क्षेत्री समाजलाई सहयोग गर्नका लागि केही शेर्पा तयार छन् । त्यसले दुबै परिवार मागी बिबाह गर्ने पक्का भएको छ । कथाको ट्युइस्ट सुरु हुन्छ एउटा शेर्पा केटोबाट । जो केटीको नातामा दाइ हुन्छ । उ स्वपहिचानको कुरा गर्छ । आफ्ना साथीभाईलाई शेर्पाजातिको बारेमा भन्छ । उ क्षेत्रीलाई मन पराउँदैन । त्यो पात्र बिस्तारै गिर्दै जान्छ । उ साइनोमा केटीको दाइ पर्छ । कति सम्म भने शेर्पाको छोरी मनपराउने केटालाई अपहरण गराउँछ ।
अपहरणकारी शेर्पा नै छन् । ती पढ्न नसकेर कुट्न थालेका अर्थात थगुण्डागर्दीमा लागेको भनिन्छ । कथा बढ्दै जाँदा डरलाग्दो गरि हिजोआजको कुरा चल्छ । सिधै उनी भन्छन् तिमीले पैसा बिदेशीको पैसा खाएकोले पहिचानको कुरा गरेका हौ । तिमी शेर्पाहरु बिदेशीको पैसाको लागि त तुरुन्त बिहे गर्छौ हो कि होइन ? कार्यक्रममा अरु शेर्पा पात्र छन् । त्यसको प्रयोग शेर्पालाई नै मुर्ख, अबुझ, स्वाठ भन्नका लागि तयार पारिएको छ । त्यसको अर्थ हुन्छ क्षेत्री बाहुन समुदायका पात्र महान हुन् । ती बुझकी छन् । संसार चिनेका छन् । पढेलेखेका छन् ।
उनको यो कार्यक्रमको उदेश्य के हो त्यो थाहा भएन । तर शायद उनले दुई समुदाय बिचमा सुमधुर समन्धका कुरा देखाउन खोजेका होलान् । उनले जसरी पात्रहरु बनाएका छन् । कथाको उठान जसरी हुन्छ । त्यो आफैमा संकुचित सोचबाट निक्लिएको छ ।
जति सुपात्र राम्रा छन् ति सबै खस क्षेत्री छन् । जति कुपात्र छन् ति सबै शेर्पा छन् । अपहरण गर्छ शेर्पाले । डलर खान्छ शेर्पाले । पढ्न सक्दैन शेर्पाले । हुँदा हुँदा सामाजिक समन्ध खलल पुर्याउँछ शेर्पाले । यस्तो कथा बनाएर पन्तले कस्तो सामाजिक सुसम्बन्धको कुरा गरेका हुन् ? कस्तो सामाजिक सन्देश दिन खोजेका हुन् ? यो कार्यक्रमले सामाजिक समन्ध सुमधुर बनाउँछ कि बिर्गाछ ? नेपालमा बिदेशी पैसा बिना चल्ने संस्था र मान्छे खोज्न दिउसै टुकी बाल्न पर्दो हो । देश नै पुरै अर्काको अनुदानमा चलेको छ । त्यस्ता देशको के क्षेत्री, के बाहुन, के जनजाती ? तंलै पैसा खाइस हेर म चोखो छु भन्नु आफ्नो आङ्को भैसी नदेख्ने शैली हो ।
धेरैलाई थाहा हुन पर्ने हो नेपालमा चल्ने जति संघसंस्था छन् कोही न कोहीले अनुदान दिएका छन् । कस्ले कति लिएको छ त्यो फरक होला । कामको शैली फरक होला नत्र भने सबैले पाएकै छन् । अनि त्यसो भए जनजातीले पैसा ल्याएर पहिचानको कुरा गर्यो भन्नु कहाँ सम्मको बुझाइ हो ।
लामो समय देखि कला क्षेत्रमा भएका पन्तलाई थाहा हुनु पर्ने हो । कुपात्र जति सबै जनजाति अर्थात शेर्पा मात्रै हुदैनन् । बिहेकै कुरा गर्ने हो भने क्षेत्री समाजमा जति संकुचित रुपमा हेरिन्छ शेर्पाकोमा छैन । शेर्पाका छोराछोरी मन मिल्यो भने ल्याउँछन जान्छन् । लभ म्यारिज यो समुदायको लागि नौलो होइन । बरु क्षेत्री बाहुनका छोरीछोरीको लागि यो कम्तिमा पनि शेर्पालाई भन्दा नौलो हो । बिहेको कुरामा जति शेर्पा समुदायमा छुट छ त्यति अहिले पनि क्षेत्री बाहुनमा छैन ।
अर्को कुरा पहिचानको । अहिले सबैले यो बिषयमा छलफल र चर्चा गरेका छन् । तीनले पनि नेपाल बन्द गराएका हुन् । हिजो सम्म आदिबासी जनजाति भन्दा नाक खुम्च्याउनेहरु तरबार बोकेर पहिले कहिल्यै नलाएको दौरासुरुवाल ढल्काएर हिडेकै हुन् । अनि दोचा र बख्खु लगाउनेलाई गाली किन ?
कुपात्र र सुपात्र जुनसुकै सामाजमा छ । हुन्छन् । खाली हेर्ने नजर मात्र राम्रो हुन पर्यो । कि पन्त जीले भन्न सक्नु पर्यो म क्षत्री समाज वा बाहुन समाजको पात्र कलाकार हुँ । अरु समाजको बाल मलाई ।
मलाई लाग्छ पन्त जीलाई धेरै चोटी हङकङ बोलाउने राई थिए होलान् अमेरिका बोलाउने शेर्पा थिए होलान् युरोप बोलाउने मगर थिए होलान् । ती सुपात्र थिए कि सबै कुपात्र ? तीनले गरेको मान मनितो अनि दौडधुप गरेर उठाएको आनासुकी पनि खल्तिमा परेको हुन पर्ने हो ।
नेपालमा नकारात्मक पात्र चाहियो भने थेप्चो नाक, चिम्सो आँखा, गालो अनुहार, गठिलो शरीर चाहिन्छ अर्थात जानजति चाहिन्छ । तर समाजमा हेर्यो भने देखि नकारात्मक काम गर्नेमा लामो नाक, ठूलो आँखा, टन्न दारी जुङ्गा भएको लाम्चो अनुहार भएका पनि कम छैनन् । यदि त्यसो हो भने किन पर्दामा बिभेद त ?
पर्दाकै कुरा सापाट लिने हो भने हो जनजातिले धेरै पढ्न सकेनन् । धेरै निर्देशक बन्न सकेनन् । आफ्ना कुरा भन्न सक्ने ठाउँमा भएनन् । त्यसैले अरुले दिन चियाबिस्कुटमा अभिनय गर्यो आफैलाई गाली गर्यो ।
सभ्य र सुसंस्कार वाला समाज त्यही बेला बन्छ जब सबैले सबैको सम्मान गर्छन । कोही माथी या तल हुदैन । दोचा बख्खु लाए पनि दौरा सुरुवाल लाए पनि सम्मान र इज्जत उस्तै हुन्छ । गनेमानेकै कलाकारमा पर्ने पन्तले झै एउटा समुदायको बेइज्जेत गरेर समाज सुमधुर पक्कै बन्दैन । कम्तिमा यसमा पक्का भए हुन्छ ।

No comments:

Post a Comment