Sunday, June 3, 2012

Thursday, May 31, 2012

केही छोटा कबिता


केही छोटा कबिता


आफन्तको अभिनयमा
दख्खल राख्नेहरुसँग
प्रश्न सोध्न मन लाग्छ
शहरले सिकाएको कि 
तिमीले शहरलाई सिकायौ ? 


भाग्यमा
नलेखिएको होइन
यो शहरमा सम्पती
नभएर पो नत्र मेरो भावी मै हुन्थे । 


कुनै इनबक्सको
म्यासेज झै
चाहेर मेटिने भए सम्झना
कसम म डिलिट अल थिचिदिन्थे
नहुने र पो सम्झेको सम्झैकै छु । 



भनेको भए
गरेको भए
हुने भए
भएको भए
मेरा सपनाका संसारसुनाउने वाक्यका क्रियापदहरु । 

Wednesday, May 23, 2012

गजल



गजल 



के रहर हुन्छ र मन मरेको बेला
आफ्ना मुटु अन्तै घर सरको बेला 



कति दुःख बाँकी नै छ यात्रा भरिमा
अध्यारो उज्यालिने जुन झरेको बेला



साथी भाइ साहरा अप्ठ्यारोमा न हो
चाहियो किन लौरो खोला तरेको बेला 



पिडा कति हुन्छ सोचे मात्र पुग्छ
आलो घाउ माथि नुन छरेको बेला



जेष्ठ ७, २०६९, थोकरबस्ती, डेराटोल


Tuesday, May 22, 2012

असजिलो पत्रकारिता




असजिलो पत्रकारिता
गोकुल ध्वर्जे तामाङ

पत्रकारिता आवाज बिहिनको आवाज हो अनि सत्य तथ्य कुरालाई भन्नु, लेख्नु, देखाउनु उसको धर्म र कर्म हो । तर बेला बेलामा यो धर्म र कर्मबाट पत्रकार चिप्लिएको चर्चा हुन्छ । अनि पत्रकारिता आवाज बिहिनको आवाज नभएर केही शिक्षित र दीक्षितको पर्चाकारितामा बद्लिन्छ भनिन्छ ।
पत्रकारको कुनै जात हुदैन । थर हुदैन । न त कुनै धारणा नै हुन्छ । उ जहाँ जान्छ कुनै बिचार बोकेर जादैन । उ त्याहाँ जे भएको हो त्यो सुन्छ, खिच्छ, रेकर्ड गर्छ । कुनै बिबादित कुरा छ भने चेक गर्छ । अनि फेरी डवल चेक गर्छ । भेरिफाई गर्छ । सत्य तथ्य कुरा निकाल्छ । अनि छाप्छ, भन्छ, देखाउँछ । यो थेउरीमा थन्किाएका कुरा भए । नेपालको पत्रकारिताको कुरा गर्ने हो भने यहाँको पत्रकारिता कहिल्यै आवज बिहिनको आवाज हुन सकेन ।
नेपालको पत्रकारिताका बाजे गोरखापत्र नै शासकको जय गान गाउन सुरु गरिएको थियो । त्यो गोरखापत्रे पत्रकारिताको संस्कार देशमा जे जस्तो शासन ब्यबस्था आए पनि परिवर्तन भएन । यो जहिले पनि हुने खाने र राजधानीका कुरा मात्र ठूला ठूला ब्यानरमा छाप्छन् । यो संस्कार अहिले ब्यबसायिक भन्ने सञ्चार माध्यमले बिस देखि उन्नाइस गरे होलान् त्यो भन्दा फरक भएको छैन । हिजो शासकका गुणगान गाउने पत्रकारिताको केही मोडेल परिवर्तन भएर साहुजी ब्यापारीका आदेशमा चल्ने पत्रकारिता भए होलान् ।
अहिले ब्यबसायिक पत्रकारिताका कुरा गर्ने थलो धेरै छन् । पत्रकारका नाममा केही बिदेशी दाताबाट कुम्ल्याउने सक्ने पनि छन् । तर बास्तबिक पत्रकारिता गर्नेहरु अहिले पनि ९० दिनमा महिना नपुगेको अबस्था छ । अनि तिनका मनमा थोरै तलव पाउने लालसा धेरै छ न कि आवाज बिहिनका कुरा सुन्ने र भन्ने ।
धेरै पत्रकारहरु गुण दोष सत्य तथ्य भन्दा पनि आफ्नो कान नछामि दौडिने जमात भएको छ । यसको उदाहरण भरखरै रिपोर्टस क्लवमा मन्चन भयो ।
नेपाल जनजाती महासंघ लगाएतका संस्थाले तीन दिने नेपाल बन्दको आयोजना ग¥यो । पहिलो दिन केही ठाँउमा भन्नेहरु ¬¬¬¬ठाँउठाँउमा पनि भन्छन् पत्रकार माथि दुर्बब्यहार भयो । कतै सवारी साधान तोडियो । त्यही कुरा बुझ्न जनजाति महासंघका महासचिव आङकाजी शेर्पालाई पत्रकारको क्लव डाकिएछ । उनको भन्दिएछन् नेपाल पत्रकार महासंघका धेरै पत्रकार बाहुन, क्षेत्रीका कुरा मात्र भन्छ, लेख्छ, सुनाउँछ । त्यसैले यो संस्था ब्राह्मण पत्रकार महासंघ भयो । रिपोर्टिङमा गएको पत्रकार एक जना रिपोर्टर जुरुक्क उठेर आङकाजी आउट भनेछन् । साथ दिने अरु पनि भए । आङकाजी आउट, इस्यु अफ द डे भयो । कतिले लाइभ गरे । कतिले थपथाप गरेर समाचार बनाए । तर कसैले समाचार संकलन गर्न गएको पत्रकारले बक्ताको बिचार र कुरा मन नपरेरै आउट भन्न मिल्ने कि नमेल्ने कुराको बहस गरेनन् । न त एक शब्द खर्चिए न कुनै पत्रकारिताका पण्डित भन्ठान्नेले नै यो कुराका बारेमा बोले ।
अव प्रश्न उठेको छ पत्रकार आफैले स्टेजमा बोल्ने वक्ता बोलेको आधारमै आउट भन्नु बहिस्कार गर्छु भन्नु कुन खालको पत्रकारिता हो । रिपोर्टिङ गर्ने कुन तरिका हो । यसको बारेमा पनि बहस हुन पर्छ । यदि पत्रकारिता नै गरेका भए ती महानुभावले आङकाजी शेर्पाले यसो भने भनेर उनको संस्थामा गएर लेखे, देखाए, बजाए हुदो हो । पहिले पहिले पनि उनले त्यस्ता खाले बाइट बोलेका भए खोजेर हेरे हुदो हो । अनि त्यस्ता सन्कि जनजाती नेता भनेर भने हुदो हो । यदि जान्ने पत्रकार भए उनले भने जस्तै बाहुनका समाचार मात्रै आएछन् त भनेर कन्टेन्ट एनालाइसिस गरे हुदो हो । रेडियो र टेलीभिजन नसके पनि पत्रिकाको सकिन्थ्यो होला । देशका राष्ट्रिय, लोकप्रिय, धेरै बिक्रि हुने, बिस्वासिलो, दैनिकहरुको एक महिना देखिको बिषय हेरे हुदो हो । तिनमा निस्किाएका लेख रचाना पढे हुदो हो । अनि गुदी कुरा निकालेर आङकाजी सही छन् कि बाहियात भने, लेखे हुदो हो । देखाए हुदो हो । त्यसो भए आउट भन्नु भन्दा पत्रकारको ओज त बडथ्यो नै आङकाजी सत्य असत्य पनि छुटिन्थे । त्यस्तो सम्भव नभए कार्यक्रममै बोलेको बाइट चार चोटी दर्शकलाई वाक्क लागे पनि देखाए हुदो हो । त्यसो गरे पत्रकार महोदयलाई चार महिना रोकिएको तलव एकै पटक पाएको आनन्द आउँदो हो ।
देशको चौथो अंग भन्ने पत्रकारका समस्याका र चुनौतीका बारेमा बोल्ने नेपाल पत्रकार महासंघ छ । महासंघ अरु बेला गुपचुप बस्छ । मानौ पत्रकार कुटिए मारिए मात्र त्यो बोल्छ अरु बेला त्यो कुम्भकर्ण हो । बिउझन पत्रकारको घरपरिवारमा चुल्हो नबोलेको कुराले छुदैन । छोराछोरीको स्कुल फि तिर्न नसकेर स्कुलबाट गलहत्याएको कुराले छुदैन । छुन्छ त कुटेका र मारेका कुराले मात्र छुन्छ । महासंघको सचिव जगत नेपाल एउटा रेडियो अन्तबार्तामा हाम्रा पत्रकारले आठ महिना देखि तलव नपाए पनि रिपोर्टिङ गरेका कुरा गरे । तिनलाई धम्क्याउने, कुट्ने, सवारी साधान तोडफोड गर्ने काम एकदम अक्ष्यम्य अपराध हो । त्यो आङकाजीले सिध्याउने धम्क्यो । उनले थपे ।
सबै पत्रकारको जिम्मा बोकेर हिडेको महासंघलाई थाहा हुन पर्ने हो । आङकाजीले धम्क्याएका मात्र हुन् । तिनले कतिलाई सिध्याउँछन् । उनी तिर क्यामारा तरस्याएर बसे भो । त्यो राम्रो इन्भेस्टिगेटिभ रिपोर्टिङ हुन्छ नै । तर आठ आठ महिना तलव नपाउने पत्रकार बन्नु, जनजातीको दुई चार धकाल धकेल भन्दा चर्को कुरा हो । जावो एक जनाले धम्क्याएकै भरमा बेलुकी पुरै मण्डला थर्काउन सक्ने महासंघ यत्रो महिना तलव नपाउँदा के हेरेर बस्छ ? हक हितका कुरा उठाउनु पर्दैन । खाली आङकाजीका कुरैलाई मात्र चर्को बनाउनु पर्छ ?
कुट्नु, तर्साउनु, धम्क्याउनु आफैमा कुनै कुराको समाधान होइन । त्यस्तो कामको बिरोध गर्नु पर्छ । तर दिनदिनै नयाँ इस्सु र नयाँ एङगोल खोज्ने पत्रकारले आफ्नो आङको भैसी देख्ने बेला अझै आएको छैन ? बोल्नु चाहि आवाज बिहिनका कुरा गर्ने अनि काम चाही ठूलाबडा शासक र साहुजीका मात्रै चाप्लुसी गर्ने पत्रकारिता कहिले सम्म चल्ला ? आमसञ्चारबाटै आफ्नो धारणा बनाउने दर्शक पाठक स्रोताले कस्तो धाराणा बनाउला ? यो चाहि असजिलो उतर बन्दैछ नेपाली पत्रकारिताको लागि ।

Thursday, May 17, 2012

‘शायद’ राम्रो बन्न सकेन


‘शायद’ राम्रो बन्न सकेन

सुरज सुब्बा चल्तिका फिल्म लेखक थिए । फिल्म उद्योग रुपि जाहाजमा उनी पछिल्ला एउटा डिपाटमेन्टमा थिए । त्यसैको आधारमा जाहाज त चल्थ्यो तर कहाँ सम्म के कस्तो स्पिड बनाउन गतिको निर्धारण गर्दैनथे । अर्थात उनी क्याटनसिपको रुपमा चलचित्र रुपि जाहाजको अघिल्ला सिटमा थिएनन् ।
धेरै बर्षको नेपाली चलचित्रको ह्याउ हेरे पछि उनले फिल्मरुपी जहाजको अघिल्लो सिटमा आएर केही राम्रो गर्ने हल्ला गरे । अनि उनले बनाएको फिल्ममा युवाका कथा भन्नका लागि कुनै जमनामा चलेको भनिएका फिल्म क्याप्टन अर्थात निर्देशक र अहिलेका एक टेलीभिजन साहुजीको दालरोटी खाने (पत्रिकामा पढे अनुसार) हाकिमका छोरा संयम पुरीलाई लिए ।
फिल्म रुपी जहाजमा उनले जुन मेहनतका साथ प्रोमो र पोस्टर बनाए त्यो हेर्दा केही नयाँ बनाएछन् भन्ने धेरैलाई लाग्छ । तर उनको जहाज रुपी फिल्म छिर्र्ने हो भने यस्तो लाग्छ यात्रा गर्नु भन्दा पहिले सम्म ढुक्क भएको यात्री जव जहाज भित्र छिर्छ उसको यात्रा अघि जाँदैन भन्ने भान हुन्छ । यात्रा केही अघि बढेपछि त ज्यानकै खतरा हुन्छ । अर्थात यो फिल्म हेर्नेले पैसा र समय दुबै गुमाउँछ नहेर्नेले बचाउँछ ।
फिल्म जव सुरु हुन्छ त्यही देखि नै देखाएका दृश्य के का लागि भनेर लेखक सुब्बा कन्फ्युज छन् । एउटा दर्शक भएर भन्दा फिल्ममा प्रयोग हुने दृश्यले पल्लिा भागका कथालाई जस्फिाइ गर्नका लागि अघिल्ला दृश्य राखिन्छ । सुब्बाको फिल्ममा यस्ता धेरै दृश्य छन जसलाई हटाए फिल्म चुस्त दुस्त हुन्छ ।
निर्माता सुनिल रावल आफै हिरो भएकाले पनि सुब्बालाई गा¥यो भएको हुन सक्छ । उनको साथीको फन्टुसीले कथा कता बगेको हो भन्ने निक्कै कन्फ्युज गराउँछ । मलाई थाहा भए अनुसार ड्रग्स खानेहरु दस बर्ष पहिले चाहि थिएनन भन्ने होइन । उनले अहिलेको पुस्ता खतमै खतम र दस बर्ष अघिका राम्रै राम्रा बनाएका छन् ।
फिल्मीका सबै पात्र स्ट्याबलिस्ट छैनन् न त कुनै ठाउँ नै छ । मुख्य पात्रहरुकै बारेमा आफै बोल्छन् दृश्यमा देखाइदैन । उनले पुरै कलेजको कथा भन्ने फिल्म भरि नाम कतै देखाउदैनन ।
कीर्तिपुरको सेन्टरडिपार्टकै भवनमै खिचिएको भए पनि कुनै बेनामी कलेजको बोर्ड लगाउन सकिन्थ्यो होला । दृश्यहरु यस्ता छन् कि काठमाडौको सैनिक मञ्च देखाएर दोस्रो इनडार सर्ट प्रहरी कोठा देखाइन्छ । प्रहरी थानामा बस्ने कोठाको दुई मिनेट जति एकै फ्रेम राखिन्छ । अनि पात्रहरु आउने जाने गर्छन् शायद टाइमल्याप्स भन्छन क्यारे देखाउन खोजिएको होला अनि यो दृश्य के का लागि ?
बाबु भोगटी र करिष्मा शायदमा किन आए ? छुट्टिमा घुम्न जाँदा प्वाक्क भेट्ने बाबु बर्षो खोज्दा कता थिए । बिद्यालयको उद्घाटन बोलाउने नाचगान गर्ने तर न बिद्यार्थी न बिद्यालय ।
फिल्मको कुनै तयारी थिएन भन्ने फिल्मको लोकेसन हेरे हुन्छ । अधिकांश समय दोलखाको खरिढुङ्गा देखाए पनि अपुग दृश्य नेपाली फिल्मको खुल्ला स्टुडियो चौभारमा खिचिएको छ । ठाउँ फरक भएकोले जबरजस्त जता पायो त्यतै जोड्ने पराम्पराको सेतु यो फिल्म बन्न सक्छ ।
प्रिन्सिपल बनेका युबराज लामा फिल्म भरिनै अनुहार नबिगारी बोल्दैनन् यस्तो लाग्छ उनी एकदमै कारकापमा अभिनय गर्दैछन् । सुब्बालाई ताली कति मन पर्दो रहेछ भने जस्ले जे भने पनि तालि बजाउन लगाउँछन् । पढाउने शिक्षकलाई गाले गरे पनि तालि, कुटाकुट गरे पनि ताली, हुँदा हुँदा मिटिङ बसेको बेलामा पनि राम्रो कुरा गरे ताली ।  फिल्म भरि प्रयोग भएको र्पास्व संगीत र म्युजिक प्रयोग यति धेरै छ कि दर्शक वाक्क हुन्छन् । संयोम पुरीको टीम आयो कि शायद शायद कराउने अनि युवराज लामा आयो कि गुरु ब्र्र्रंम्ह् .... । निर्माला रावल जति ठाउँमा चढ्छन सबै गाडी फरक फरक छ । उनले एक पटक हामी यसो गर्छौ भन्दा बाहेक फिल्म भरि देखिने रावलको त्यति धेरै गाडि छानी छानी चढ्ने न त ब्यतित्व बनाएका छन् न त्यस्तो काम नै । प्रहरीको हातको बन्दुक पड्काएर आत्महत्या गरेका दृश्य झन बिजोग लाग्दो छ । हाम्रो प्रहरीले बोक्ने बन्दुग फिल्ममा देखाए जस्तो सजिलै पट्किदैन । त्यो सामान्य मानिसलाई पनि थाहा हुन पर्ने हो ।
सुब्बाले बनाएको फिल्म हेर्दा कागको कथाको याद आउँछ । कुनै बेला काग राम्ररी आफ्नै तालमा सुरु सुरु हिड्थ्यो । एक दिन उसलाई हाँसको हिडाई मन प¥यो । कागलाई लाग्यो मेरो तालले हिडेर हुदैन म पनि हाँस ढलक ढलक ढल्किएर हिड्नु पर्छ । कागले हाँसको हिडाइ कपि गरे जानेनन् । आफ्नो पनि बिर्सियो । त्यही भएर काग फुत्रुक्क फुत्रुक्क उफ्रिने भयो । सुब्बा साहेवले पनि युवाका कथा लिए । दोस्तको छोरालाई हिरो बनाए । चोक चोकमा केही छ भन्ने पोष्टर डिजाइन गरे । तर उनले हाँसका कुरा देखाउन हाँसको तौर तरिका सिकेनन् । त्यसैले उनको शायद काग बन्यो फुत्रुक्क फुत्रुक्क उफ्रिने ।
पात्रहरु नयाँ र युवा छन् । संयम पुरीलाई निर्माता साहेवले खासै रोल दिएका होइनन् । पुरीले केही ठाउँमा राम्रै अभिनय गरेका छन् । पुराना कलाकार करिष्मा, युवराज, कबिता, बाबु, झरनाको अभिनय दमदार छैन । बरु फिल्म भरि जमेका भने वीलसन राई छन् । उनले पुरै फिल्म धानेका छन् भन्दा फरक पर्दैन । सञ्जय लामाको खिचाइ काम चलाउ छ । स्याडोजको संगीत चर्का छन् । जस्लाई निर्देशकले बिनाप्रसंगै बजाइ दिन्छन् ।
अरु कलाकारलाई नयाँ छन् । राम्रो अभिनय सिक्दै होलान् । एकै स्किनमा एकै फिल दुखीत मुडमा हुन पर्ने भए पनि अरु मुडमै देखिन्छन् । अभिनय मन छुने छैन ।



Tuesday, May 15, 2012

लेख्न डराउँछु

लेख्न डराउँछु 

मन अतालिन्छ
र लेख्नै लागेको कलममा बिर्को लगाउँछु
किनभने लेख्न डराउँछु । 

कलमका निभहरु
कलमका मसिहरु
छापिन खोज्छन
खाली पानामा
नलेखिएको पानामा
धेरै कुरा लेख्न सकिन्छ  ।

कुनै एक पाना
कथाको प्लट नमिलेको झोकमा
कबितामा स्वाद नआएको झोकमा
लेखिएको कुरा नमिलेको झोकमा
धेरै थान अरु पानाहरुमा
गाडिन्छन् निभहरु
च्यातिन्छन निर्दोष पानाहरु
पोखिन्छ मसीहरु ।

जहाँ लेखिन सक्थ्यो
केही थान पे्रम पत्रहरु
निक्लिन सक्थे लैलामजनू
मुनामदन या अरु कोही ।
जहाँ लेखिन सक्थ्यो
केही थान सत्य वचन
र जन्मन सक्थ्यो बुद्ध, क्राइस्ट,अल्लाह या अरु कोही ।

यहाँ मनका कुरा
लेखिन्छन् देखाउका लागि
यहाँ बोल्छन शब्द भन्नका लागि ।

त्यसैले म लेख्न डराउँछु ।

छतालिन्छ शब्दहरु
कोरिन चाहन्छन् अक्षरहरु
बन्न चाहान्छन् वाक्यहरु
बन्न चाहान्छ उएटा सिङगो काब्य
तै पनि म लेख्दिन
यी अक्षरहरुको बेकामे वाहियात भए भने
काम नलाग्दो र भद्दा भए भने
पढ्नेहरुले गाली गरे भने
त्यसैले म लेख्न डराउँछु ।


Saturday, May 12, 2012

सामाजिक सञ्जालमा देशका कुरा

सामाजिक सञ्जालमा देशका कुरा
गोकुल ध्वर्जे तामाङ

फेसबुकमा अचेल निक्कै चल्ने गर्छ संघियताको कुरा । धेरै जस्तो खस र बाहुन साथीहरुले यसको प्रयोग जातिय आधारमा बन्ने भनिएको राज्य पुर्नसंरचनासंग जोडेको देख्छु । उनीहरुले जातिय संघियता माग्नेलाई कतै सुंगुरसँग जोडेका छन् भने कतै बिदेशबाट ल्याएको डलरले कराएको आवाज भनेको छन् । उनीहरुले सके सम्म तल्लो सस्तको शब्द र फोटोलाई प्रयोग गरेका छन् । अनि धेरैले चाही यो देश टुक्राउने अराष्ट्रिय तत्वको रुपमा जोडेका छन् ।
धेरैलाई सचेत नेपालीलाई थाहा हुन पर्ने हो यस्तो कार्य आफैमा बेठीक हो । अनि यसरी बेढंगले बेलज्जा पुर्बक इन्फमेसन सेयर देशको माया देखाउँदैमा अढाइ सय बर्ष भन्दा लामो समय देखि पेलिएको आदिबासी जनजाति, दलित, मधेसीका कुरालाई कम आक्न सकिन्नन । ती पेलिएका थिएनन् भन्ने पनि होइन ।
मलाई आज सम्म कुनै आदिबासी जनजातिले देश टुक्राउछौ भनेको सुनेको छैन । ती धादिङका तामाङ होस या कास्कीको गुरुङ अथवा पुर्बका राई लिम्वु नै किन नहोस । त्यसो नभनेकै अबस्थामा खस र बाहुन साथीहरुलाई कस्ले भन्दो रैछ देश टुक्राउने कुरा ?
इतिहास हेर्ने हो भने आदिबासी जनजातिको इतिहास खस र क्षेत्रीको भन्दा पुरानो छ । धर्ती या देशको माया खस र क्षेत्रीलाई जति लाग्छ त्यो भन्दा कम जनजातिलाई लाग्छ भन्ने मलाई लाग्दैन । के यो देश खस र क्षेत्रीको देश भक्ति भाबले मात्रै नटुक्रिएको हो ? अनि देशको जिम्मा खस क्षेत्री र बाहुनलाई मात्रै छ ? 
देश टुक्राउँछ भन्ने एक तर्फी भनाइले ढोङ्गी देश भक्त आफैले आफैलाई बनाउने भन्दा अरु बनाउदैन । बरु बहस हुन पर्छ हिजो देशको शासन बिरुद्ध बोलेकैले झन्डै अढाइ सय बर्ष पहिले देखि पिपा बन्ने तामाङका अनि कुरा हुन पर्छ जागिर खानैका लागि पुरै आफ्नो परिबेश जात बदल्न बाध्य तामाङ गुरुङका । मधेसमा जन्मेकैले जहिल्यै दोस्रो दर्जाको नागरिक भएर बाँच्न बाध्य मधेसीका । किन उनीहरुलाई पटक पटक दबाइयो ? किन उनीहरु मूलधारमा आएर काम गर्न सकेनन् ? अनि तिनलाई मुलधारमा कसरी ल्याउने ?
जातिय आधारमै बर्गका बिभेद छ । त्यसलाई कम गर्नका लागि बहस, छलफल, अन्तरक्रिया हुन आवश्यक छ । नेपाली  मिडियाको प्रयोग हुन पर्छ । जस्ले जति जानको छ त्यो सिप दिमाग देश बनाउन लगाउने हो कि बिर्गान बेला र मौका आहिले आएको छ । बनाउने हो भने खस बाहुनले हिजो हेपिएका चेपिएकालाई माथि उठाउनु पर्छ । अधिकार माग्नेलाई बिखन्डनकारी , देशघाती भनेर भन्ने होइन । समान अधिकार दिनका लागि सहयोग गर्नु पर्छ । यसरी सहयोग गरे समाजमा अमन चैन हुन्छ । समान समाबशी र दीगो रुपमा स्थायी शान्ति आउँछ ।
जनजातिले भनेका देश टुक्राउने होइन । मूलधारका बाहुन, खस जतिकै हुन भनेको हो । शासन ब्यबस्थामा भाग लिन पाउँ भनेको हो । नेपाली भएकैले जति खस र बाहुन समुदायले पाएका छन् हामी पनि त्यही बराबर हुन चाहान्छौ भनेको हो । यसो भन्दा देश टुक्राउन खोज्दैछ भन्नु कतिको जायज हो ? के जानजाति दलित मधेशी फेरी पनि राणा दरबारिया वा पञ्चायत ब्यबस्थाको बेलामा भए जस्तै शासनमा शासित भएर चुप लागे चाहि देशमा हिन्दू धर्मले मान्ने राम राज्य नै हुन्छ ?
हिजो देखि चलि आएकै चलन हो अधिकार खोज्ने जो कोही शासन सत्तामा बस्नेहरुका आँखामा पापी, अधर्र्मी हुन् । राणा कालमा अधिकार माग्नेलाई देशद्रोह र राजगाथ ताकेको अभियोग लागेकै हो अनि पञ्चायत कालमा अराष्ट्रिय तत्व भएकै हो । अहिले लोकतान्त्रिक गणतन्त्र आएको बेलामा शासन सत्ताका छेउछाउमा बस्नेहरु अधिकार माग्ने जनजातिलाई देश टुक्राउने बिखण्डनकारीका रुपमा देखाउँदैछन् । प्रस्तुत गर्दैछन् ।
देशको उन्नत रेखा कोर्ने काममा एउटै घरको परिवार सबै समान भए घर राम्रो होला कि नराम्रो । सबै मिलेर पिछडी परेका आदिबासी जनजाति, मधेसी, दलितलाई अग्रअधिकार दिएर सबै समान होऔ भनिएको हो । अनि देशको उन्नत भबिष्यका लागि सहकार्य गरौ भनिएको हो ।
हाम्रो देश बहु भाषा संस्कृति र संस्कार बोकेको भनेर भनिए पनि अहिले देश एउटै बनाउनु पर्छ भन्नेहरु एउटै भाषा एउटै भेष भनेर उफ्रिदै छन् । हिजो राजा महेन्द्रका राष्ट्रयता भन्दा चर्को यो राष्ट्रयता आफै कतिको जायज होला ?
खुकुरी, तरबार र भाला प्रर्दशन गरेर देशमा एकता आउँदैन । न त त्यस्ता फोटा अरुलाई टयाग गर्दैमा । त्यो दुनिया सबैलाई जगजाहेर छ । हिजो हिजो भएका देशका क्रान्ति समाजलाई राम्रो बनाउनकै लागि भएका हुन् । अहिले हामी जनताले जनतालाई जनताद्धारा गरिने भनिएको शासन पद्धतीमा छौ । त्यसैले आआफ्नो बेली राख्न पाउनु सबैको अधिकार हो ।
सामाजिक सञ्जाल अहिलेको आफ्नो बिचार पोख्न सकिने एउटा सजिलो माध्यम हो । यसमा जायज तर्क गरेर समाजलाई देशलाई केही राम्रो पनि गर्न सकिन्छ । अनि अरुलाई बिखण्डनकारी भनेर अफै बिखण्डन गर्न पनि सकिन्छ । यो समय हामी मिलेर केही गर्ने बेला हो । त्यो केही गर्न नसके पनि सामाजिक सञ्जाल मार्फत गलत इन्फरमेसन र समाजलाई उत्तेजित पार्न खालको काम नगरेकै राम्रो । होइन भने यो दोहोरो होला ।
अरु कुरा पछिल्ला भेटमा गरौला । तंपाईको असल प्रतिक्रियाको अपेक्षा । जय होस ।