Tuesday, May 1, 2012

लोपउन्मुख जाती सोनाहा



लोपउन्मुख जाती सोनाहा 

प्रशस्त धान फल्ने राजापुरको पाताभारमा छ कमला सोनाहाको घर । अरु मानिसले अन्न भण्डार मान्ने बर्दियामै बसेपनि कमलाको खेतीपाती छैन । आठ जनाको परिवार पाल्न उनी घर छेउबाट बग्ने कर्णाली नदीमा भर पर्छिन ।

कमला सोनाहा
घरमा केही हुदैन । खेती किसानी छैन । एक कठ्ठामा कहाँ पुग्छ खान । आठ परियार ।

कमला जस्तै १२ सय जति मानिसहरुको जीविका खोलाको वालुवामा सुन खोजेरै चल्छ । खोलामा सुन खोज्ने भएकैले उनीहरुलाई सोनाहा भन्ने गरिएको हो । अहिले सोनाहा जाति अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । खोलाको बालुवामा सुन खोज्ने बाहेक माछा मार्नु उनीहरुको परिवार पाल्ने अर्को उपाय हो ।

कुनै समय सोनाहाहरु धेरै माछा र सुन पाइने खोलामा घुम्दै हिंड्थे । अनि खोलाकै छउेछाउ बस्ने ठाँउ बनाउँथे । माछा र सुन पाइने खोला नै उनीहरुको जीवन थियो । तर अहिले समय फेरिएको छ । दिनरात बिना रोकावट हिंडडुल गर्न पाइने ठाँउमा तारबार लागेको छ । खोला र वनक्षेत्र कतै निकुञ्ज बनेको छ, कतै सामुदायिक वन । सबैका आफ्नै सिमाना छन, अनि त्यही अनुसारका नियम बनेका छन् । वन र खोलालाई आफ्नो जीवन ठान्ने सोनाहाहरु अहिले तीनै ठाउँमा छिर्न नपाउने भएका छन । बर्षौ देखि घर ठानेको खोला पराइ भएको छ । साथिजस्तो वनक्षेत्र डरलाग्दो भएको छ ।

कमला सोनाहा ।
पहिले त दिन्थ्यो केही भन्दैनथ्यो । अहिले त निकुञ्ज लागि गयो । गाएर आफूलाई पनि डरलाग्छ ।

महेन्द्र सोनाहा
कोही धम्कि देखाउने कोही हप्काएर पनि गर्न नदिने । कोही अलिकता तरकारी माछा नख्वाए धम्क्याउने । सानो जाति भएपछि हेप्ने गरेका छन् ।
समिती पनि ठूला मान्छे पनि भन्छन् माछा साछा खुवाउ । लागि पछि ख्वाउने हो नलागे पछि । आफू खान सामस्या हुन्छ कहिले कही ।

हुनेखानेका लागि एक छाक माछा नै खुवाएको हो । तर सोनाहाका लागि भने त्यही माछा नै रुपैयाँ हो अन्न हो । यसरी परिवारको जीविकोपार्जन साधन नै सित्तैमा खुवाएर सकिएपछि उनीहरु संकटमा पर्दैछन ।

समयसँगै बनेका नियमले सोनाहाको जीवन फेरिंदैछ । खोलाकिनारमा घुमी हिंड्ने उनीहरु एकै ठाउँमा बसोबास गर्ने भएका छन । तर खानलाउन भने उनीहरु अझै पनि खोलामै निर्भर छन ।

महेन्द्र सोनाहा
हाम्रा पुर्बजहरु नदीको छेउछाउमा हुर्केको हौ । त्यही भएर नदीको छेउछाउ हुन्छौ । हाम्रो खेती नै हो । त्यही भएर हामी त खेतीको छेउछाउमा बस्ने प¥योनी । अरु खेतीबारी त छैन हाम्रो । हाम्रो खेती भनेकै यही हो माछा र सुन । यसैको आधारमा हामी बाँचेका छौ ।

कमला सोेनाहाको घरमा चार जना राम्रैसँग काम गर्ने उमेरका छन् । परिवारै मिलेर तीन दिनभरि वालुवा चाल्दा तीन सय रुपैयाँ बराबरको एकलाल सुन जम्मा हुन्छ । पुरै परिवारले महिना भरि काम गर्दा बढीमा तीन हजार रुपैयाँ सम्म कमाइ हुन्छ । यति पैसाले घरको सबै काम चलाउनु पर्छ ।

घरछउबाट बग्ने कर्णाली भन्दा बढी सुन र माछा पाइने खोला पनि छन् । तर त्यहाँ जान पाईदैन । कहिले काँही पुगी हाले निकुञ्जले समात्छ । गएको बर्ष कमलाको भाइ संरक्षित क्षेत्रको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज भित्र माछा मार्दै गर्दा समातिए । निकुञ्जले उनलाई झन्डै एक महिना थुनामा राख्यो । उनीहरुले अहिले सम्म एकमुष्ट नेदेखेको पाँच हजार रुपैयाँ तिर्नु प¥यो ।

कमला सोनाहा ।
तिनीहरुले त भयङ्कर पैसा तिरे । पाँचहजार हो क्यारे । दुई जानाले पाँचहजार तिरे ।

उनीहरु सुन खोज्दा बालुवा चाल्छन् र त्यही छाडिदिन्छन् । यसरी चालिएको बालुवा केही समय पछि पहिले कै अवस्थामा बस्छ । यसले खोलालाई कुनै क्षति पुर्याउँदैन । तर सोनाहाका यस्ता कुरा निकुञ्ज र सामुदायिक वनले पत्याउँदैन ।

महेन्द्र सोनाहा
वालुवा पनि लाग्दैनौ ढुङ्गा पनि लग्दैनौ लाने त त्यति न हो । अरु त त्यतै छाडि दिने हो ।

सुन खोज्ने कुरामा आपसी झगडा नहोस भनेर सोनाहाहरुले खोलाको बालुवा भएको गाउँ भागबन्डा गरेका छन । सबैले आफ्नो भागको खोलामा मात्र बालुवा चाल्न पाउँछन् । राजापुरमा बस्नेहरुका धान फल्ने मलिला खेत छन तर सोनाहाहरुका भने खेत होइन आफैंले भाग लगाएको खोलाको बगर छ ।

खुमलाल सोनाहा ।
त्यति खेर फिरी थियो । हाम्रो पुर्खाहरुले त्यही निर हामी बसेकै ठाँउमा सानो सानो झुप्रा पारेर बस्थे । गाउँमा नजानेबरु । नजिकै गाउँ भएपनि नदिमै डेरा पारेर बसने । जंगलमा पनि त्यसस्तो कटानी नगर्ने । बगरमा पानीले बगाउर ल्याएको रुखको हाँगा काटेर स्यानो स्यानो झुप्रो बनाउने । सुन चल्ने माछा मार्ने पहिले देखि । खेती तिर त्यति ध्यान दिएनन् । पहिला बासिन्दा पनि कम थियो भन्थे हाम्रा पुर्खाहरु । सबै भन्दा पहिला सोनाहाहरुले नै बस्थे ।

सुन खोजेरै .... बर्ष बिताएकी कमला आफैले भने जम्मा अढाई लालको फूली लगाएकी छिन् । उनले चालेको सुनबाट धेरैले आफ्नो शरीर सजाएका छन । कहिलेकाहीँ उनलाई पनि आफैले निकालेको सुन लाउने रहर लाग्छ ।

कमला सोनाहा ।
रहर लाग्दैन ? सुन बनाउने सुन बनाएपछि त पेटमा के हाल्ने । बच्चा पनि देख्नु प¥यो पेट पनि देख्नु प¥यो ।
मन त हुन्छ नी लाउने । रहर लाग्छ अब आफैले धोएको आफैले लाउने पाए राम्रो हुन्छ । मन त कति लाग्छ कति होइन ।
सुनै हो यो ढाइलाल । कानको होइन ।
पेटै त ठूलो हो । पेट नभरौ भने पेटले मान्दैन । हामी त एक दिन दुई दिन बसि हाल्छौ । बच्चाहरु कहाँ मान्छन् । बच्चा त ल्याउ ल्याउ भनेर भात आभा भन्छन् ।

सधैँ खान लाउनकै समस्या पर्ने सोनाहा थारुहरुसँग मिल्दाजुल्दा छन । उनीहरुको संस्कार र संस्कृति केही नजिक भएपनि सोनाहाहरुको इतिहास थारुको भन्दा पुरानो छ । भाषा र जीवनशैली फरक छ । फरक भाषा, संस्कृति र संस्कार भएकैले उनीहरु छुट्टै जनजातिमा गनिनु पर्ने हो । तर अहिलेसम्म उनीहरुलाई छुट्टै जनजातिको सुचिमा राखिएको छैन । राज्यले उनीहरुलाई बेग्लै पहिचान दिन सकेको छैन ।

खुमलाल सोनाहा ।
हाम्रो जाति पनि सुचिकृत पनि भाको छैन । थारु हो भन्छन् । थारुसँग हाम्रो भाषा मिल्दैन । पेशा मिल्दैन । रहनसहन पनि मिल्दैन । धेरै फरक छ थारुसँग तर थारुमा राख्नु भाछ उहाँहरुले ।

सोनाहामा आदिवासी जनजातिका धेरै गुण छन । त्यही गुण मध्ये एउटा हो, चाडवाडमा रमाइलो गर्ने । अरुबेला मनभरि दुःख बोके पनि चाडवाडमा उनीहरु सके सम्म रमाइलो गर्छन । आज फागु पुर्णिमा हो । यहाँ होलीको तयारी हुदैछ । यस चाडलाई उनीहरु बिशेष रुपले मनाउँछन् । रातभर नाचगान गर्दै गाउँ घुम्छन । यसरी होलीको दिन घरघरमा आउने टोलीलाई सकेको दक्षिणा दिने चलन छ ।

बर्दियाको राजापुर क्षेत्र सोनाहाहरुको बसोबास भएको क्षेत्र हो । यसबाहेक कन्चनपुरमा पनि सोनाहाको सानो बस्ती छ । तर कन्चनपुरका सोनाहा माछा मार्दैनन् र सुन पनि चाल्दैनन् ।

कुनै बेला निर्बाध रुपमा घुम्न पाइने खोला र जंगलमा बनेका नियमले सुन खोज्न र माछा मार्न नपाए पछि सोनाहालाई निक्कै समस्या परेको छ ।

सुदिप जान
बिगत चारपाँच बर्ष देखिको अनुभव सोनाहाहरुसँग हेर्दा चाही निकुञ्जसँगको द्धन्द्ध चाही हामीले बाहिरबाट हेर्दा चाही माछा मार्न दिएन सुन चाल्न दिएन भन्ने मात्रै छ । तर निकुञ्जको सामाजिक प्रभाव यसको ठूलो संस्कृति नै नास हुने एउटा पक्ष निकुञ्जको सामाजिक प्रभाव यसको एउटा पक्ष निकुञ्जको नीति अभ्यास पनि रैछ । किनभने जवजव सोनाहा खोला र सुन चाल्ने पेशा र माछा मार्ने पेशा हराउँदै उहाँहरुको संस्कृति पनि हराउँदै जान्छ । कति इन्डिया जानु पर्ने बाध्यता छ । इन्डिया प्रिपेशा गर्नु पर्ने अबस्था छ । उहाँहरुको पराम्परागत पेशामा रोक लाग्ने बितिक्कै महत्वपूर्ण कुराचाही पराम्परागत ज्ञान र अभ्यास पनि हराउँदैछ । त्यसैले सोनाहामा ठूलो चासो छ किनभने हाम्रो अस्तित्व पहिचान चाही खतारा छ भन्ने कुरा ।

नेपालले २०६४ सालमा आदिवासी जनजातीको हक अधिकारको सुरक्षा गर्ने आइएलओ महासन्धिमा हस्तक्षर गरेको छ । यो महासन्धी कार्यान्वयन गर्नु नेपाल सरकारको दायित्व हो । यसमा परापुर्व कालदेखि जल, जंगल र जमिनमा निर्भर आदिबासीलाई विस्थापित  गर्न नहुने कुरा प्रष्ट रुपमा लेखिएको छ । तर सरकारी नियमकै कारण अहिले सोनाहाहरुले निर्वाध रुपमा माछा मार्न र सुन चाल्न पाएका छैनन् ।

राजकुमार चौधरी
उहाँको जिबिकापार्जनको एउटा मात्र वय भनेको सुन चाल्न र माछा मार्न बाहेक केह िपनि भएको छैन । उहाँहरु भन्नु हुन्छ । हामीले कहिल्यै पनि जंगल फडानी गरेनौ । हाम्रो जिविका पार्जनको एक मात्र यही हो । यसमा हामीले पाउनु पर्छ । भन्ने एक मात्र माग हो । मलाइृ चाही आइएलओ १६९ ले पनि दिनै पर्छ । जस्को उहाँको अग्रधिकार छ । जल जमिन जंगलसँग प्रत्यक्ष सरोकार भएकोलाई बन्चित गर्न पाईदैन ।

हामीलाई यो महासन्धिले यो यो अधिकार दिएको छ भन्दा पनि हामीलाई थाहा छैन भन्ने कुराहरु निकुञ्जका प्रतिनिधिबाट सामुदायिक उपभोक्ताबाट आउँछ । त्यो चाही राम्रो हाइने जस्तो लाग्छ ।
अप्रत्यक्ष रुपमा सबै निकुञ्जकै बिकासको निम्ति वाताबरणको कुरा सामाजिक कुरा हुन्छन् कसरी निकुञ्जलाई फाइदा हुन्छ लागु त्यसरी नै लागु गरेको देखिन्छ । कुनै पनि पुर्बधार बनको छैन ।

आफ्नो जीवन धान्ने पेशामा अवरोध आएपछि सोनाहाहरुले पटकपटक बिरोध गरे । बिरोध साम्य पार्न उनीहरुलाई बिनारोकतोक माछा मार्न र सुन खोज्न दिइने भनियो । तर निकुञ्ज भित्र खोलामा माछा मार्ने लाइसेन्स दिदा भने थुप्रै सर्त राखियो ।

सोनाहालाई माछा मार्ने लाइसेन्स दिएको केही महिनामा निकुञ्जमा गैडा मारियो । गैंडा मारेको अभियोगमा दुई जना सोनाहा पक्राउ परे । त्यसपछि माछा मार्ने सबै लाइसेन्स नबिकरण नै गरिएन ।
खुमलाल सोनाहा ः
यो निकुञ्जले पनि माछा मान देको छैन । २०६४ सालमा लाइसेन्स दियो । बिचमा आएर गैडाको आरोप लगाएर आर्मीहरु पनि थिए मार्ने गिरोहमा । त्यसमा दुईवटा सोनाहा थिए । त्यसैले सबे सोनाहाको लाइसेन्स खोस्दे । त्यसपछि लाइसेन्स देको छैन । एकदम अप्ठ्यारो छ। जाल नाउहरु फुटाइदिन्छ । अनि यता तिर सामुदायिक जंगल पनि छन् । सामुदायिक जंगल पनि सुन चाल्न दिदैनन् ।

खोलासँग जीवन जोडिएका सोनाहाहरुको अस्तित्व संकटमा पर्दैछ । पुस्तौं पुस्ता देखिको सोनाहा र प्रकृतिसँगको समन्ध राज्यले टुटाउँदैछ ।

सुदिप जान
निकुञ्जले माछा मार्न नदिने यो पराम्परागत पेशालाई खोस्दिएको छ । अहिले भर्खर हेर्दा पनि सुन चाल्न पनि निकुञ्जले खोस्दिए । यो जिबिकाको मात्रै कुरा पनि होइन । जिबिका र संस्कृति एकदमै जोडिदिएको छ । सोनाहाको दृष्टिकोणबाट हेर्दा प्रकिति भनेको बाहिर उता निकुञ्ज र यो बाहिर बस्ति भन्ने नै होइन । मैले बुझेको ।
सोनाहाले प्रकृति बुझ्दाखेरी खोला जंगल आफ्नो जिबिका संस्कृति सबै जोडिएर हेर्छ । जीवनशैली रहनसहन उहाँहरुको दृष्टिकोण हेर्दाखेरी संस्कृति र प्रकृति चाही एउटै रैछ कुरा ।

सोनाहाहरु अहिले जीवन धान्ने विकल्पको खोजीमा छन् । आफुले बोल्दा कसैले नसुन्ने र आफ्नो पक्षमा बोलिदिने कोही नहुदा उनीहरु निरास छन् ।

राजकुमार चौधरी
निकुञ्जै भएपनि त्यहाँहरुको पेशाको जर्गेना हुनुपर्छ । हिजो देखि जुन उहाँहरुले परापुर्बक काल देखि जनजिबिकाको बाटो छ त्यसबाट चाही बन्चित गरिनु हुदैन ।

आर्थिक अबस्था निक्कै कमजोर भएका सोनाहाहरुसँग सम्पतीका नाममा टुडी भनिने सुन चाल्ने काठ, वालुवा छान्ने छबना र पानी हाल्ने ओदाना हुन्छ । अनि माछा मार्न चाहिने चौदी भनिने जाल उनीहरुको मुख्य सम्पत्ति हो । अलि धनिमानिसँग भने खोला वारपार गर्न चाहिने काठको लाउ अर्थात डुङ्गा पनि हुन्छ ।
माछा मारेर हाल्ने चोयाको जाडी बोकेर सोनाहाका बालबालिकाहरु खोलामै घुमिरहेका हुन्छन । उनीहरु बिद्यालय भर्ना त भएका छन् तर पढ्न भने जाँदैनन्् । बाबुआमासँगै माछा नमारे उनीहरुले भोकै बस्नुपर्ने हुन्छ ।

घुमीघुमी माछा मार्न र सुन खोज्न नपाउँदा घरछेको कर्णालीमा माछा र सुन दुवै घटिरहेको छ ।

कमला सोनाहा ।
नाउ समाएर लागि हाल्छन् । चौदी समाएर लगि हाल्छन् । नाउ र चौदी लगेपछि कस्मा माछा मार्ने ? सबै भन्दा हाम्रो ठूलो त्यही हो हो कि होइन । हाम्रो सबै भन्दा ठूलो त्यही हो ।

खोलामा पस्नै नपाएपछि उनीहरुको संस्कार मासिंदैछ, पहिचान हराउँदैछ । यस्तै अवस्था रहे केही बर्षमै सोनाहाको संस्कृति मेटिनेछ । अनि सोनाहाहरु पनि लोप हुनेछन् । आफ्नो छुट्टै परम्परा भएको यो जाति नै हराउने छ कहिल्यै नभेटिने गरि  ।

No comments:

Post a Comment