Wednesday, January 1, 2014

कसम

कसम

कसमको मौसम झै
थरि थरिका भाषा र शैली
यो गर्ने त्यो नगर्ने
यो हुने त्यो नहुने
नयाँ वर्ष नयाँ तरिकाका कसमहरु ।

जोडी, थान, दर्जन
असंख्य कसमहरु
दुःखी नहुन दुःखी नबनाउने शर्तका कसमहरु
कसमका लागि वनेका थप नयाँ कसमहरु ।

पुरा नभएका पोहोरका कसमहरु
खुइलिएर बसेको राजधानीको मुटु घन्टाघर जस्तो
अलि अलि चुनले पोतिएर
नयाँ र बैशालु छु भन्ने भ्रममा परेको धरहरा जस्तो
ढिङ्ग उभिएको छ
जस्ताको तस्तै ।

मनभरि अर्कै कुरा राखेर
खर्चन्छन् तरिका तरिकाका नयाँ कसमका परिकारहरु
थाहा हुदा हुदै सत्य होइन भन्ने
मान्छेलाई लागेको छ रोग
एक छिन कसम खाने
अम्मलीले बेफाइदाको गीत गाउँदै
रित्याएको गिलास झै
खाली बनाएका सिसी झै ।

कसम साट्नका लागि
डिस्कोथेक, चोक, रेष्टुरेन्ट, वार, भट्टी, पार्क वा अन्तै कतै
झोक्किएर वा झोक्रिएर
खर्चिएकै छन् कसमका परिकारहरु
विक्री भएकै छ सबै तिर
मालामाल भएकै छन् कसमवाजहरु ।

ठाउँ र परिवेश न हो फरक
न वर्ग छ न जात
न तल छ न माथी
सबै एकै छन्
खाली भाषा फरक होला
बोली फरक होला ।

जेहोस नयाँ वर्षमा
फेरी कहिल्यै पुरा नहुने
कसम खानेहरुका बिच
म पनि उभिएको छु
अर्को कसम खान
पोहोरको फोहोर कसमलाई विर्सदै
फेरी खाँदैछु नयाँ कसम नयाँ सालमा ।

थोकरवस्ती डेराटोल ।

No comments:

Post a Comment