Saturday, January 15, 2011

जाडो कबिता

जाडो हुनेलाई मात्र
हुन्छ कि के हो
नत्र त कसरी सुत्न सक्थे त
सडकमै मस्तराम ।



जाडोको बेला
न्यानो घामको स्पर्श
कुनै प्रेमीलाई
प्रेमिकाको स्पर्श भन्दा कम हुन्छ र ?



दुई फुई रुई
केही नभएको यो बेला
प्रत्येक पलमा
छोइरहन्छ जोडोले
र त तिमीलाई
झन मिस गरिरहन्छु ।



बाक्लो कपास उडे झै
सुरुरु आउँछ र छोप्छ
यो घरैघरको शहरलाई
तिमीलाई कस्तो लाग्छ
कुन्नि मलाई त खुब
मन पर्छ हुस्सु ।


सिसा जमेको पानीमा
तिम्रो तस्बिरको
कल्पनिक तस्बिर बन्दैथ्यो
घाम आयो र पग्लियो सिसा
बाँकी रहयो
फगत पानी मात्र ।


जाडो एउटा बाहना
थपिएको छ
र म तिम्रोमा
हरेक बेलुका धाइ रहेको छु नि
कान्छी साहुनी ।


अचम्म पर्छु म
कुनै पार्टीमा नाङगै पाखुरी
देखाउनेहरु देखि
जाडोले डल्ल्याएको साँझमा ।

No comments:

Post a Comment