Wednesday, August 8, 2012

निकटता




पत्रकारितामा बढि सुनिने शब्दमा प्रोक्सिमिटी अर्थात निकटता पनि एउटा हो । समाचारको महत्व घटना भएको नजिकका मानिसलाई जति बढि हुन्छ त्यति टाढाकोलाई नहुन सक्छ । त्यसैले नजिकका मिडियाले घटनाका बारेमा सके सम्म डिटेलमा भन्छ । लेख्छ । छाप्छ । अनि पाठक, स्रोता, दर्शकलाई पनि त्यो कुराले छुन्छ । असर पार्छ । चासो जगाउँछ । त्यसैले समाचार बनाउँदा निकटताका कुरा हेरिन्छ । यो चलन विश्व भरिनै प्रयोगमा छ । निकटता समाचारमा मात्र सिमित छैन । यो जनजीवनमा पनि छ ।
म मेरो समुदायको मानिसलाई भेटेँ भने जति नजिकका कुरा गर्न सक्छु अर्को समुदायको बारेमा नभन्न सक्छु । वा सोधे पनि के हुदो रहेछ भन्ने जान्नका लागि सोधेको हुन सक्छु । गएको शनिबार मेरो कामको लिस्ट केही थिएन । हुनत अरु बेला पनि मेरो शनिबार पुरै फुर्सदमा बित्ने दिन हो पुरा छुट्टि ।
तामाङ पत्रकारको भेटघाट र छलफल छ । शुक्रवार फोन गरेर साथीले सुनाए । मिले आउनु । केही कुरा बुझिएला । नयाँ कुरा सिकिएला । नयाँ साथीसँग चिनजान होला । हो सुत्नु भन्दा यो बेश । मलाई पनि लाग्यो । निकटताले काम गर्यो ।
कार्यक्रम गर्ने हल झन्डै भरिएको थियो । पचास देखि पचहत्तरजना अड्थ्यो होला हलमा । ओहो कति धेरै काठमाडौ भित्रै काम गर्ने तामाङ पत्रकार । हुन त काठमाडौ भित्र झन्डै तीन दर्जन रेडियो घन्किएका छन् । एक दर्जन पुग नपुग टेलीभिजन छन् । ठूला र झोलामा अफिस भएका पत्रिकाको संख्या झन ठूलो छ । जे भए पनि तामाङ पत्रकार धेरै थिए ।
बुझ्दै जाँदा थाहा भयो । त्यहाँ धेरै ठूला मिडियोका ठूला तामाङ पत्रकार थिएनन् । त्यसो भनेर उपस्थित भएकाहरुको मान मर्दन गर्न खोजेको चाहि होइन । उपस्थित भएका धेरै तन्नेरी थिए । शायद ती पत्रकारिताका उल्टो पिरामिड र फाइभ डब्लु वान एचको प्रक्टिस भर्खर सुरु गर्दै थिए । एबिसीका बारेमा सिक्दै थिए । जेहोस ठूला मिडियाका ठूला तामाङ पत्रकार थिएनन् ।
तीनलाई लागेको हुदो हो । कहाँको म प्रमोशन भैसकेको पत्रकार अनि कहाँको भर्खर न्युज भनेको न्युको बहुवचन वा चारै तिर पुर्ब पश्चिम उतर दक्षिणमा भएका घटनालाई लिएर लेखेने कुरा अर्थात न्युज भन्ने कुरा सिक्दै गरेको तामाङ पत्रकार । कतिले अनुभवकै आधारमा जात नै फरक अनुभव गरेको पनि हुँदो हो । यो कार्यक्रम हेरेपछि मलाई धेरै पहिले सुनेको कथाको याद आयो ।
कुनै जंगलको कथा । जंगलमा बाघको परिवार थियो । के भएर हो कुन्नी बाघनीले बच्चा जन्माउने बितिकै बिछोडिन पुग्यो । कतैबाट चर्दै त्यही ठाउँमा बाख्राका बथान आइपुगे । पहिले त बाघको बच्चा डमरुलाई देखेर ती डराए । फेरी बिचारा डमरु भोक र हतासीले झन्नै सास जाने अबस्था देखेर बाख्राहरुले सहयोग गरे । बिस्तारै डमरु हुर्कियो । उसले शिकार गर्न सिकेन घाँस खान सिक्यो । बाँख्रा जसरी जान्छ खान्छ हिड्छ त्यही सिक्यो । डमरु बाघ बन्दै गए पनि उसले आफु बाँघ हुँ भन्ने बिर्सियो ।
धेरै पछि कतैबाट अर्को हुल बाघ बाख्राको छेउमा आइपुग्यो । बाख्राको बथानमा भएको बाघ पनि बाख्रासँगै भाग्यो । त्यो देखेर बाघहरु छक्क परे । अनि कुनै छिटो दौडिने बाघले उसलाई समात्यो । बाख्रे बाघ डरायो । अतालियो । तर समाउने बाघले उसलाई भन्यो उ बाख्रा होइन बाघ हो । तर बाख्रे बाघलाई यो कुरा पत्यार लागेन । अनि नजिकैको सफा पानीमा लगेर दुबैले अनुहार हेरे । हो ठ्याक्कै अनुहार उस्तै देखियो । बल्ल बाख्रे बाघलाई लाग्यो उ साँच्चैको बाघ हो । अनि उ गर्जियो ।
मुलधारमा पत्रकारिता गर्ने धेरै जनजाति पत्रकारले पनि आफ्नो समुदायका कुरा लेख्न, भन्न र बोल्न अहिले सम्म सिकेका छैनन् । तिनलाई मुलधारको धङघङी छ । जस्तो बाघलाई बाख्रा हुँ भन्नेथ्यो । त्यसैले तिनलाई आफ्नो समुदायका कुरा भन्न पर्यो भने लाज लाग्छ । आफ्नो समुदायका मानिससँग भेट गर्यो भने मान घटेको अनुभव गर्छन् ।
बहुलबादी समाज र पत्रकारिताका कुरा हामीले गरेको धेरै भयो । तर त्यसको स्वाभाबिक प्राक्टिस भएको छैन । अहिले सम्म बिभिन्न बिटका कुरा गरे पनि जनजातिका बिट भर्खर सुरु भएको होला । कतिमा त त्यो छैन पनि होला । भएकामा दिइएका बिटबाट कति समाचार, फिचर, बिचार आउँदो हो ?
दोलखाको तामाङको बारेमा म जति जान्छु अर्को समुदायका मानिसले जान्ने संभावना कम हुन्छ । त्यसैले दोलखाको समुदायका बारेमा मैले जति लेखुला, भनुला, अनुभव गरौला वा खोजौला त्यो अरु समुदायकाले नगर्न सक्छ । त्यसैले यस्तो बिषयमा लेख्न, भन्न, खोज्न पर्यो भने म उपयुक्त हुन सक्छु । त्यसैले आफ्नो जात र जातिका बारेमा लेख्ने, भन्ने, खोज्ने जिम्मा त्यही समुदायका पत्रकारलाई दिए राम्रो हुने पक्का छ । तर अहिले सम्म ठूला मिडियाले त्यसरी जिम्मेवारी दिने आँट पनि गरेका छैनन् । यदि कसैले ब्यतिगत प्रयास नै त्यस्तो प्रयास गर्यो भने पनि त्यो पत्रकार बिग्रियो । त्यो जातिय भयो । त्यसको मान मनितो मुलधारबाट छुट्यिो । अनि पाखे भो । त्यसैले पनि मुलधारका धेरैलाई मनमा केही गरौ भन्ने भएर पनि लेख्ने बोल्ने र भन्ने साहस नभएको हुनु पर्छ ।
हाम्रो समाज धेरै जातजाती, धर्म संस्कृति बोकेको छ भनिन्छ । तर कुनै पनि जनजातिका समाचार फिचर भएर आएको देखिन्न । कतिले लेखे पनि होलान् डेक्सबाट काटिएर पाँच सय शब्द पचासमा झरेको हुनसक्छ । जनजाति पत्रकारले लेख्दा हाति हुने छापिदा, भनिदा, देखाइदा मुसा भएर आउने पनि हुँदो हो । अनि अलि चुस्त दुरुस्त आकर्षक बनाउन नसकिएको पनि हुँदो हो । अरु जातिले नै राम्रो स्टोरी बनाउने भए किन अहिले सम्म आएका छैनन् ? फ्रिमा भोलिन्टियर काम गर्ने यत्रा धेरै पत्रकार मोफेसल र काठमाडौमा छन् । तीनलाई पैसा नदिए पनि हिसाव दिए चित बुझाउँछन् । अनि किन गर्न नसकेको त संस्कृति र संस्कारको साँच्चैको डेप्थ रिपोर्टिङ । किन निस्किन नसकेको इस्यु नै इस्यु भएर पनि कुनै दमदार स्टोरी ?
तामाङ पत्रकारको जमात देखेर मलाई लागेको हो धेरै त खल्तिका पैसाले चिया खाएर रिर्पोटिङ गर्दा हुन् । पेटलाई पेटीले कसेर भोक नलागेको अनुभुति गरेर हिड्दा हुन् । तीनलाई आफ्नो समाजका केही लेख्न, बोल्न, देखाउन मन  हुँदो हो । त्यो गर्ने सिप कति होला ? त्यस्ता सिपलाई तिर्खान जान्ने आफ्ना समुदायका ठूला पत्रकारले केही सिकाए राम्रै गर्दा हुन् । राम्रै स्टोरी बोक्दा हुन् । राम्रै इस्यु बनाउँदा हुन् । त्यसो भए साँच्चैको बहुआयमिक समाजको झल्को देखिदो हो । समाबेशी पत्रकारिता पनि सुरु हुदो हो । अनि मुलधार र फरक धारको सिमाना मेटिदो हो । हिजो सम्म चेलीबेटी मात्रै बेचेर बस्छ भन्ने तामाङ गाउँको डम्फुको कथा आउँदो हो । ताम्वाको जिन्दगीको गतिलो स्टोरी बन्दो हो ।
तर अहिले सम्म भएको छैन । जान्ने तामाङ पत्रकार आफुलाई बाख्रा नै सम्झि बसेका छन् । तर समाज सधै उस्तै पाराको हुदैन । धेरै थोरै त परिवर्तन भैरहेकै हुन्छ । हिजो सम्म बिचारा भनिने समुदाय अहिले हामी बिचारा मात्र होइनौ भन्ने भएका छन् । उदाहरण तामाङ समुदाय आफै हो ।
अहिले तामाङ पत्रकारको संख्या निक्कै छ । संख्यात्मकसंगै गुणात्मक संख्या पनि बढ्ने नै भयो । आफ्नो समुदायका कुरा अरु समुदायमा बुझाउने शैली पनि बिस्तारै बिकास हुन्छ नै । त्यसका लागि सबैले सहयोग र होस्टेमा हैसे गर्नु पर्छ । बिशेष गरेर जो तामाङ समुदायबाट मुलधारे पत्रकारिता गरेका छन् । जस्को लेखाई दमदार छ वर्ड इकोनोमी राम्रो छ । जस्ले अरु समुदायकालाई तामाङ र तामाङ दुनिया बुझाउन सक्छन् । त्यसो गरे सार्थक निकटता पनि देखिदो हो ।

No comments:

Post a Comment