Tuesday, November 22, 2011

नसुनेको आवाज

नसुनेको आवाज

खरले छाएको झुप्रेबस्ती । अरुले सुर्खेतको झुप्रा भने पनि उनीहरु आफैले भने शान्तिपुर नाम राखेका छन् । भेरी नदीको किनारमा छ पुरै बस्ति । बर्षाको बेला उर्लिएर आउने भेरीले घरबास उठाउछ । हिउँदमा त्यही खोलाले छोडेको ठाउँ उनीहरुका लागि जिवन धान्ने अवसर बनेको छ । भेरीको यही बगरले दिलाएको अवसरका भरमा लगभग ६० घर बादीहरु आफ्नो दैनिकी चलाइरहेका छन् ।

यहाँका ६० घर बादीको आफ्m्नो सम्पति भन्नु नै हरेक घरका लागि भागबण्डा गरेको बालुवा भएको भेरीको बगर हो ।

कुनै बेला धनिमानिका घरमा नाच्ने र गाउने पेशा गर्थे बादीहरु । धनिमानी खुसि भएर दिएको अनाज र पैसाबाट गुजरा चलाउँथे । गाउन बजाउन सिपालु भएकैले उनीहरुलाइ बादी भनियो । नाचगान गर्दा महिलाहरु नाच्ने गाउने गर्थे भने पुरुषहरु मादल बनाउने र कहिलेकाँही सँगै गाउने गर्थे ।

समयसँगै नाचगान र मादल बनाएर जिवन धान्न मुस्किल भयो । खेतीपातिका लागि खेतबारी थिएन । विकल्पमा बादी महिलाहरुले यौन ब्यबसाय सुरु गरे । अनि कुनै बेला धनिमानीका घरमा नाच्दै गाउँदै बैठक सम्म पुग्ने बादीहरु पानी नचल्ने जातका रुपमा दरिए ।

एक्सनएड नेपालले दस बर्ष अगाडि गरेको अध्ययनमा ८ सय वादी महिलाहरु मध्ये झण्डै एक तिहाईले खुल्ला रुपमै आफू यौन ब्यबसाय गर्ने बताएका थिए । अहिले यसरी खुल्ला रुपमा यौनब्याबसाय गर्नेको संख्या निक्कै कम भैसकेको छ । उनीहरु सिप अनुसार अरु नै पेशा गरिरहेका छन् ।

दस बर्ष अघि लिइएको जनगणनामा बादीको संख्या चार हजारको हाराहारीमा थियो । त्यस भन्दा अगाडिको जनगणनामा भने ७ बादी रहेको पाइएको थियो । यसरी संख्या कम हुनुको कारण भने बादीहरुले आफूलाई समाजले हेप्ने डरले अन्य थर लेख्न थालेकाले हो । तर बादीका लागि काम गर्ने संघसंस्था भने नेपाल भर ७० हजारको हाराहरीमा वादीको जनसंख्या रहेको बताउँछन । उनीहरु विभिन्न ठाउँमा छरिएर बसोवास गरिरहेका छन ।

जताजता बसेपनि बादीहरुको अबस्था भेरी किनारको जस्तै छ । उनीहरुसँग बस्नको लागि न त राम्रो घर छ, न खान पुग्ने खेतबारी नै छ । बिहान उठेदेखि बेलुकी नसुतेसम्म काममा नखटे छाक टार्न मुस्किल छ । तर यहाँ बस्ने सबैका सपना भने उस्तै छन् ।

बादी जाति भारतबाट १४ औ शताब्दी तिर नेपाल छिरेका थिए । पश्चिम नेपालको चौध जिल्लामा उनीहरुको बसोबास छ । सल्यान, रुकुम, रोल्पा, जाजरकोट हुदै २००७ साल पछि भने तराइका जिल्लाहरु कैलाली, कन्चनपुर र दाङ तथा सुर्खेत तिर उनीहरु बसोबासका लागि झरेका हुन् ।

सरकारले सबै बालबालबालिकालाई अनिवार्य बिद्यालय भर्ना गराउँने भनको पनि धेरै भयो । यही लक्ष्य सहित अहिले देशमा तीन बर्षे शैक्षिक योजना लागु भैरहेको छ । यतिबेला भर्ना अभियानका लागि घरघरमा जाने भनेर सरकारले सबै विद्यालय बन्द गरेको छ । कागजमा ९३ प्रतिशत बालकालिका विद्यालय भर्ना भएको तथ्याङ्क सरकारसँग छ । बाँकी बालबालिकालाई अबको दुई बर्षमा भर्ना गराउने योजना बनेको छ । सरकारले बालबालिकालाई कक्षा दश सम्मको शिक्षा निशुल्क गरेको छ । अनि दलित र बिपन्नका लागि शैक्षिक छात्रबृत्ति समेतको ब्यास्था छ । तर यो बस्तिका बालबालिका पढाउने बिद्यालय स्थापनाको काममा यहाँका मानिसहरुले निकै झञ्जट व्यहोरेका छन ।

यो बस्तीका सबै अभिभावक मिलेर आफूले पढ्न नपाए पनि छोराछोरीलाई राम्रो शिक्षा दिने सपना साँचेर यो बिद्यालय बनाउने योजना बनाए । तर बिद्यालय बनाउने काम त्यति सजिलो भएन । आर्थिक सङ्कलनका लागि बिभिन्न संघ संस्थासँग धाउनु पर्यो । आधारभूत आवश्यकता र बालबालिकाले शिक्षा पाउने अधिकार कागजमै रह्यो । जिम्मेवार निकायले यो काम सुरु नै गरेन । अनि आफैले भने खोलामा बालुवा बोक्न आउने गाडीसँग थोरै चन्दा उठाए । यसरी राम्रै कामका लागि चन्दा मागेपनि नियम विपरित भनेर उनीहरुलाई प्रशासनले दुःख दियो ।

बाइटः

गरिबलाई मात्रै लाग्ने कानून यहाँ पनि लाग्यो । तैपनि उनीहरुले हरेस खाएनन् ।

अहिले यहाँ राज्यको उपस्थिती जनाउने एक मात्र कुरा स्थानीय वासिन्दाले बनाएको बिद्यालय मात्र छ । तीन कोठा भएको यो बिद्यालयमा ५ कक्षा सम्म पढाइ हुन्छ । पढाउने शिक्षकको थोरै छन, अनि बिद्यार्थीको संख्या चाहिँ निक्कै बढी छ ।

पाँच कक्षा पास भएपछि यहाँका बिद्यार्थीले अर्को समस्या झेल्नु पर्छ ।

धेरै समय यौनब्यापारमा लागेका बादी महिलाहरु समयसँगै परिवर्तन हुदैछन् । सानासाना बालिकाहरु बिद्यालय धाउदैछन् ।

दाङको कालाखोला क्षेत्र कुनै बेला निक्कै बदनाम थियो । राजमार्गसँगै जोडिएको यो गाउँमा बादी महिलाहरु योनब्याबसाय गर्थे । यहाँ बस्ने तर यौनब्याबसाय नगर्नेहरुलाई पनि आफ्नो घर कालाखोला भन्ने हिम्मत आउँदैनथ्यो ।

तर समय फेरिएको छ । अहिले यहाँका बालबालिका नियमित बिद्यालय जान्छन । अनि कुनै बेला यौनब्याबसाय गरेरै केही गर्छु भन्ने महिलाहरु अरुनै काममा लागेका छन् ।

अरु काममा लाग्ने भन्दैमा समस्या सकिएको छैन । अहिले पनि धेरै बादी पुरुषहरु बेरोजगार छन् । उनीहरुले महिलालाई गर्ने ब्याबहार राम्रो छैन ।

पहिले यौनब्याबसायमा लाग्नेहरुलाई बाँझोपनको समस्या छ । बच्चा बच्ची भएका छैनन । घरझगडा सुरु भएको छ ।

समस्या त्यतिमै सकिदैन । ठूलै सख्याका बादी महिलाहरु एचआइभी संक्रमित भएको अध्ययनले देखाएको छ । तर उनीहरु अस्पताल सम्म नजाने भएकाले यस्तो संख्या एकिन भएको छैन ।

आफूले भोगेका समस्यालाई लिएर बादीहरुले चार बर्ष अघि काठमाडौमा लामै आन्दोलन गरे । देशभरीबाट आएका महिलाहरु कठमाडौं आए । यो आन्दोलन एक महिना १८ दिन चल्यो । सिंहदरवरमा बस्नेले कहिल्यै बादीको कुरा नसुनेको भनेर उनीहरु सिंहदरबारको गेटमा चढे । आन्दोलनमा खपिनसक्नु दुःख पाए ।

आन्दोलनलाई मथ्थर पार्न सरकारले निक्कै राम्रा कुरा गर्यो । घरबासको ब्यबस्था दिने बचन दियो । बादीका बालकालिकालाई निशुल्क पढ्न पाउने घोषणा गर्यो । तर यतिका समय सकिदा पनि उनीहरुको जीवन जस्ताको तस्तै छ । उनीहरुले आफ्ना लागि आफैं स्कुल बनाउनु परिरहेको छ ।

चौध जिल्लाका बादीहरुले सरकारबाट घर बिकास कार्यक्रमका नाममा १५ हजार रुपैयाँ पाए, अन्य ठाउँकाले त्यही पनि पाएनन ।

समस्यै समस्यामा रहेका बादीहरुले आशा भने मारेका छैनन् । कुनै दिन राज्यले आफ्ना कुरा सुनिदियो भने उनीहरुसँग आफ्नै सानो चिटिक्क परेको घर र परिवार पाल्न पुग्ने घरखेत हुनेछ । तर त्यो दिन कहिले आउने हो भन्ने चाहीँ उनीहरु कसैलाई थाहा छैन ।

No comments:

Post a Comment