Tuesday, April 29, 2014

आमा र मोवाइल


मेरी आमाले चलाउने सबै भन्दा लेटेस्ट टेक्नोलोजी भनेको मोवाइल होला । आमा मोवाइलको अंक चिन्दिनन् । अक्षर चिन्ने कुरै भएन ।

खाली फोन उठायो कुरा गर्यो । कसैको फोन आएन भने त्यतिकै राख्यो । फोन गर्न मनलाग्यो अक्षर चिन्नेलाई गुहार्नु पर्ने । जान्नेकोमा धाउनु पर्ने । चिठ्ठीपत्रको जमनामा चिठ्ठी वोकेर ठूलावडाको धाए जसरी ।

आमालाई जंग चलेछ । म आफै फोन गर्न सक्ने वन्छु । अनि त्यो बेलामा सम्म उनलाई रिसिभकलको कि मात्रै थाहा थियोे । त्यस पछि उनले डायल कि चिनिन । फोन उठाउन मन लागेन भने नउठाउने फान व्यस्त छ भन्ने कि पनि चिनिन । लामो लामो नम्वर सिक्न भने असजिलो भयो ।

हामीले उपाय निकाल्यौ । मोवाइलमा भएको सेम्वोल चित्रहरु राखेर नम्वर सेभ गर्ने । अनि त कुरै सकियो ।
हामीले मिलाएर नम्वर सेभ गरिदियौ । जेठो छोरा अलि पुड्के छ नम्वर भकुन्डो । माइला कता जान्छ के गर्छ आमालाई थाहा छैन त्यसैले पात । साइला अलि फटाहा छ सर्प । कान्छा अलि कुरा दोहोरो गर्छ दोहोरो धर्का । दिदीको नम्वर पनि सेभ गर्नु पर्यो । दिदी विवाहित त्यसैले भिनाजुको समेत गरि दुईटा टाउको । मामा, हजुआमा सबै गरि झन्डै १५ जना भन्दा बढिको नम्वर सेभ भो ।

अव जस्ले फोन गर पनि चित्र आए पछि चिन्थिन लौ फलनाको फोन आयो । आमालाई दुःख दिन मिसकल मार्छौ । आमा थाहा पाउनु हुन्छ । ग्याद आरे ? काम छैन केटा ?

अव अर्को उपाय पनि सिकिन फोन गर्ने । हामीले उपाय निकाल्यौ एउटै मात्र अंक हानेर फोन गर्ने । स्पिड डायल भन्छ क्यारे । आठ जनाको स्पिड डायलले धान्यो । अर्को उपाय पनि सिकायौ । नम्वर सेभ भएको चित्र हेर्ने अनि डायल गर्ने । त्यो पनि उनले सिकिन् ।

जहाँ इच्छा त्यहाँ उपाय भनेको त्यस्सै होइन रहेछ । । अव आमाले सजिलै थाहा पाउँछिन दुई टाउका आयो भने दिदीको फोन । पात आयो भने माइला ।

आमाको मुख हेर्ने औशी । विहानै उठेर फोन गरेँ । परदेशी भैखाको छोरोले गर्ने त्यति न होला ? फोन उठेन । शायद आमा काली भैसीको दूध दुदै थिइन कि ?

एक पछि गरुला भनेर फोन दोहोर्याइन । के के काममा व्यस्त भएर आमालाई फोन गर्न विर्सेछु । खाना खाने बेलामा फोन आयो ।
तिला लावन मुला? के गर्दैछस ?
घइमा खावा घिम्री ? घर कहिले आउँछस् ?

म सनै छदा आमा मलाई सधै पढ भन्नु हुन्थ्यो । दाजुभाइ दिदी वहिनी मिलेर पढ्थ्यौ । पढ्नु के थियो गीत गाउँथ्यो । आमा अक्षर नचिन्ने तर कखराको गीत भन्न सक्ने । आमाले भन्थिन । हामी कपिमा अक्षर हेर्थ्यौ । क हामी सबैको आँखा क मा हुन्थ्यो । ख हामी सबैको आँखा ख मा ।

हामी विस्तारै अरु धेरै कुरा सिक्यो । पढ्नका लागि सदरमुकाम हुदै राजधानी छिर्यौ । दिदीको विहे भो । अरु दाइभाइको कथा मेरो भन्दा फरक छैन । हामी आफैमा व्यस्त भै टपल्यौ । अव हामीले चिन्ने अक्षर धेरै भयो । नेपाली मात्रै होइन अंग्रजी पनि चिन्ने भयौ । छोराछोरी बढे पछि आमाले कसैलाई कखराको गीत सुनाउन परेन । आजकाल विर्सिइन जस्तो छ ।

हामी सहर छिरेर केके सिक्यौ । कम्प्युटर, फोटोग्राफी, भिडियोग्राफी के के हो के के ? सिक्नु पनि त्यस्तै छ । आमाको जिन्दगीमा धेरै फेरवदल छैन । जति सन्तानको छ । अँ सँच्ची मेरो त फेसवुक पनि छ । मेरी आमा फेसवुक चलाउने त कुरै भएन । आमालाई सम्झिएर फोटो अपलोड गर्ने कति भए कति । तर स्टाटस लेख्ने पनि धेरै भए । जति घन्टा फेसवुकमा आमालाई सम्झेर विताइयो । त्यति घन्टा आमालाई कुनै कुरा सम्झाइएको छैन होला ।

जे होस आमाहरु आफूलाई नआए पनि सन्तानलाई सिकाउँछन् । सन्तानले जानेको कुरा आमालाई सिकाउने फुर्सत थोरैसँग मात्रै छ । म अपवाद होइन । जेहोस आमाले कुनै बेला अक्षर नजानीकनै  गीतको शैलीमा सिकाको कखरा नै अहिले म कम्प्युटरमा टाइप गरिरहेछु ।

Tuesday, April 15, 2014

चिसापानी ।

‘उकालो नभए के हुन्थ्यो ?’
सुन्दरीजलको उकालो चढ्दै गर्दा सोधिएको प्रश्न ।
‘के हुनु कि त सम्म नी ।’
सुन्दरीजलबाट चिसापानी जानको लागि उकालो चढ्दै थियौ । औपचारिक अनौपचारिक गफगाफले यात्रा बढ्दै गयो ।
काठमाडौ धुँवाधुलोको सहर । जतागयो त्यतै धुलो छ । प्रदुषण केमा छैन ? स्वास फेर्दा हावा र धुलोको मात्रा बरावर हुन्छ । त्यसैले एक दिन भए पनि स्वच्छ हावामा स्वास फेर्न निस्किएका छौ ।
सुन्दरीजलमा गाडीवाट ओर्लने वितिकै नक्सा राखिएको छ । पर्यटकलाई सजिलो होस भनेर । जान सकिने संभावित गन्तव्य लेखिएको छ । अनि पैदल हिडेर पुग्न सकिने संभावित समय पनि ।
हामी पुग्नु पर्ने चिसोपानी । झन्डैे २२ किलोमिटर । संभावित लाग्ने समय लेखिएको पाँच घन्टा छ । तर सुन्दरीजलबाट हिडेर चिसोपानी पुग्नेहरुको अनुभवले भन्छ त्यति सजिलै यात्रा सकिदैन । ‘कस्सिएर हिड्ने मानिसलाई लाग्ने समय हो त्यो । अरुलाई त धेरै लाग्छ । पैदल हिड्न वानी छुटेकोले छ सात आठ घन्टा हिडे पछि मात्र चिसोपानी पुगिन्छ ।’ हामीसँगै हिडेका मोहोन केसीले भने । उनी पहिले पनि चिसापानी पुगेसकेका थिए ।
सुन्दरीजलवाट आधा घन्टा उकालो चढे पछि शिवपुरीनागार्जुन राष्ट्रिय निकुञ्जको गेट आउँछ । नेपालीले १० रुपैया र विदेशीले भने २५० रुपैया तिरे पछि निकुञ्ज छिर्न पाइन्छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज १५९ वर्ग किलोमिटर फैलिएको छ । ‘राजधानीसँगै जोडिएको निकुञ्ज विश्वमै छैनन् । सन् १९७५ देखि वन्यजन्तु आरक्षको रुपमा संरक्षित क्षेत्र हो शिवपुरी । सन् २००२ देखि भने राष्ट्रिय निकुञ्ज वन्यो ।’ सहायक वार्डेन नारायण रुपाखेतीले निकुञ्जको इतिहास भने ।
निकुञ्ज भित्र प्रत्येक वर्ष ८ लाख भन्दा बढि मानिस पुग्छन् । विदेशीको संख्या थोरै छ । ‘धेरै स्वदेशी नै निकुञ्ज घुमेका छन् । राजधानीमा ४० लाख भन्दा बढि मानिसको वसोवास भएको अनुमान गरिन्छ । यी मध्ये धेरै मानिस वनभोज खानकै लागि भएपनि शिवपुरी निकुञ्ज पुगेकै छन् ।’ रुपाखेतीले थपे ।
शिवपुरी नागार्जुन निकुञ्जको सबै भन्दा अग्लो ठाउँ २७ सय ३२ मिटर अग्लो शिवपुरी डाँडो हो । चिसोपानी पुग्नलाई भने २४ सय ५१ मिटरको भञ्ज्याङ काटे पुग्छ । हामी उकालो चढ्दैछौ ।
निकुञ्ज भित्र छिरे पछि देखिन्छ काठमाडौ वासीका लागि पानी ल्याउन वनाइको ड्याम । वागमतीमा वग्नु पर्ने पानी काठमाडौमा पिउनेको लागि लगे पछि ड्याम भन्दा तल चुहिएर वग्ने थोरै पानी मात्र छ । वग्नु पर्ने पानी नवगे पछि वागमतीमा ढल वग्ने नै भयो ।
निकुञ्ज भित्रको पानीले उपत्यकाको आधा माग धान्छ । दैनिक ३० लाख लिटर पानी काठमाडौलाई पु¥याउदै आएको छ । पानी मात्र होइन वनवनस्पतिका लागि पनि निकुञ्ज राम्रो छ । १२ सय ५० थरिका वनस्पति, २२ थरिको स्थनधारी जनावार, ३११ थरिका चराचुरुङ्गी, १०२ थरिको पुतली, १२९ थरिका च्याउ पाइन्छ ।
सुन्दरीजल चिसापानी गाडी गुड्ने कच्चिवाटो वनेको छ । नियमित गाडी नचले पनि सामान ओर्सानको लागि निकुञ्ज भित्रैबाट बाटो वनाइको छ । तर पैदल यात्रीहरुका लागि भने खुटकिला वनाईका वाटा छन् । मोटरसाइकलमै चिसापानी हुइकिनेको संख्या पनि राम्रै छ ।
‘भोक लाग्यो । उकालो कसरी चढ्नु ?’
ड्याम नपुग्दै कराउन थाले । सिधै उकालो नचढेको धेरै भएछ । हे¥यो सबै जना पसिना पसिना भएर भिजेका छन् ।
‘अव माथिल्लो गाउँ पुग्ने वितिकै खाने हो ।’ फेरी अनुभवी मोहोन वोले ।
‘खाना खाने हो । वरु पाइन्छ कि पाइदैन ?’
‘यत्रो ट्रेकिङ रुट पनि खान नपाइने ? त्यस्तो त हुदैन नी ।’ गफिदै उकालो लाग्दैछौ ।
निकुञ्ज भित्रको गाउँ हो मुलखर्क । वाटोमा पर्ने प्राय सवै घरमा सानातिना होटेल छन् । धेरै थरिका परिकार नवने पनि नेपाली खाना जता पनि पाक्छ ।
खाना खाने होटेलका साहु नारायण श्रेष्ठले भने ‘यो गाउँ सके पछि चिसोपानी नपुग्दासम्म कुनै पसल छैन । विचमा चाहिने सामान यतै किन्नु होला ।’ घुमाउरो आफ्नो विज्ञापन भए पनि हाम्रा लागि राम्रो जानकारी थियो । पानी र केही विच बाटोमा खान मिल्ने समान किन्यौ ।
जंगलमा गुराँस कतै फुलेका थिए । गाउँ छोडे पछिको वाटो वन भित्र छ । रुखै रुख । खसु्रक, गुराँस, उतिस, सल्लाका  । कुनै वेला शिवपुरीको वनको रुख काठमाडौका वासिन्दाको दाउरा पाइने ठाउको रुपमा चिनिन्थ्यो । ‘त्यसरी रुख काटिए पछि वन सकिनै लागेको थियो । सुन्दरीजलवाट माथि हेरे वन कतै कतै मात्र देखिन्थ्यो ।’ नारायणले सम्झिए ।
वन्यजन्तु आरक्षको स्थापना भए पछि भने वनको स्वरुप फेरियो । हेर्दाहेर्दै घना वन भयो । हामी घना वनको वाटोमा हिड्दैछौ ।
‘फोन त टिप्दै टिप्दैन रैछनी ।’
‘मज्जा भो त्यसो भए ।’
समूहमा भएका साथीहरुको गुनासा थिए ।
झन्डै ६ घन्टामा भन्ज्याङ पुग्यो । सबैले झै हामीले पनि भन्ज्याङको देवीलाई ढुङगा र स्याला चढायौ । पुरानो मान्यता अनुसार यसो गरे आएको दशाग्रह देवीले हाटाइदिन्छिन रे । साथीहरुले भने यत्रो हिडेर थाकिएको छ देवीहामीलाई हिड्ने शक्ति देउ ।
देउराली कटे पछि ओरालो । अनि हिमालका लाइन देखिए ।
‘कुन कुन हिमाल हो ?’
थाहा भए पो वाल्नु । चुप ।
पछि जान्नेले भने अन्नपुर्ण, मनास्लु, गणेश, लाङटाङ, जुगल राम्रैसँग दखिन्छन् । अरु पनि धेरै हिमालहरु छन् ।
देवीले शक्ति नदिए पनि पाइला आफै लम्किए । सात घन्टामा चिसापानी पुग्यो ।
नुवाकोटमा पर्ने चिसापनी काठमाडौ र सिन्धुपाल्चोकको सिमानामा छ । ‘चिसापानीकै बाटो भएर कुनै वेला तिव्वतसम्मको व्यापार हुन्थ्यो । अहिले गोसाइकुन्ड, हेलम्वु, लाङटाङ राष्ट्रिय निकुञ्ज पदलै जान प¥यो भने सुन्दरीजल चिसापानी हुदै जाने हो । चिसापानीबाट नगरकोट, धुलिखेल हुदै पनौती निस्कने ट्रेकिङ रुट चलेको छ ।’ चिसापानीमा होटल चलाउदै आएका साधुरामले भने ।
चिसापानीमा होटलहरु छन् । सुविधायुक्त देखि सामान्यसम्म । हिमालका रेञ्ज देखिन्छन् । देउरालीबाट देखिने भन्दा अझ बढि । प्राय चिसो भैरहेने भएकोले भएकोले चिसापानी नाम रहेको भनाई स्थानीयको छ ।
भोलिपल्ट हामी वागमतीको सुरु भएको नागमती भएर फर्कने भयौ । स्थानीयहरु ठूलो धाप र सानो धाप भन्छन् । अहिले विभिन्न संघसंस्थाको सहयोगमा धापलाई ठूलो पोखरी वनाइने योजना छ । यदि योजना अनुसारको काम भए छिट्टै काठमाडौको वासिन्दाले बोटिङ गर्न पोखरासम्म धाउनु पर्ने छैन । पोखराको विकल्प वन्न सक्छ धाप ।
दुई दिन स्वच्छ ठाउँमा स्वास फेरेपछि काठमाडौ फर्कदा मनमा कता कता नरमाइलो लागे पनि यात्रा रमाइलो भयो । फर्कने क्रममा मुलखर्क गाउँमा तामाङ भाषा राम्रो गीत लेखिएको थियो । आफू तामाङ नै भएकोले भावानुवाद गरेर साथीहरुलाई सुनाएँ ।
गाउँ पनि राम्रो वन राम्रो
तंपाई आउनु भो झन राम्रो
हरियाली वचाउछौ
स्वच्छ हावा पठाउँछौ ।
प्राकृतिक सुन्दरता हेर्नलाई
स्वच्छ हावा फेर्नलाई
माया हामीलाई लाउनु है
फेरी फेरी पनि आउनु है । ।