Friday, September 14, 2012

स्मलकाजी




पाँच कक्षाको परिक्षा जिल्ला स्तरिय हुन्थ्यो । जिल्लाबाटै परिक्षा केन्द्र तोकिन्थ्यो । मेरो स्कुलको परिक्षा केन्द्र झन्डै तीन घन्टाको पैदलमा पुग्नु पेर्ने पवटीको स्कुलमा पर्यो । म कक्षाको तेस्रो थिएँ तर तीन जनामा ।
पढाइमा म त्यति राम्रो थिइन । नेपालीमा लेख्दा म आफ्नो तरिकाले लेख्थे । पाँच कक्षा पास हुनु भनेको अहिलेको एसएलसी जतिकै थियो मेरा लागि । ठूलो मान मनितो र इज्जतको कुरा । मलाई त खासै मतलव थिएन । तर मेरा बाको लागि । मेरो स्कुलको लागि । अनि मेरो शिक्षकको लागि । म पास हुनुले धेरै अर्थ राख्थ्यो ।
तर उनीहरुले गरेको गेसमा म सजिलै पास हुने बिद्यार्थीमा थिइन । मैले पाँच पास गर्न भयंकर कायापलट गरेर पढ्नु थियो । खास समस्या मेरो अग्रेजीको थियो । कति भने म एम र एन उस्तै मान्थे । कुनमा के लेख्ने थाहा पाउँदैनथे । हुँदा हुँदा मलाई आफ्नै नाम अग्रजीमा लेख्दा पनि कहिले आउने कहिले बिर्सिने हुन्थ्यो ।
हामीलाई अंग्रजी पढाउने सर थिए बासुदेव कार्की । उनी बिद्यालयको हेड मास्टर थिए । अनि अग्रेजी पढाउथे । उनले जसो भन्यो त्यस्तै भनेर भाका हालेर गाउनु पथ्र्यो । पाठहरु गीत हुन्थे । गाउन आउने । लेख्न नआउने । त्यो कितापको कुन पेजको, के भनेको थाहा नहुने । पहिलो रोलनम्वर भएको साथीको भने अलि राम्रो अग्रजी थियो । उ अंग्रजीमा आफ्नो नाम सmरर लेख्न सक्थ्यो । अझ वाआमा, स्कुल र हेडमास्टरको नाम लेख्न सक्थ्यो ।
स्कुलले पास हुने आस गरेको कोही थियो भने उही थियो । उ हिसाव बिषयमा पनि राम्रो थियो । जोड घटाउ भाग सबै गर्ने । पक्का पास हुने बिद्यार्थीमा उही थियो । दास्रोमा भएको साथी म जस्तै थियो । तर केही केहीमा अलि राम्रो ।
जाँचको पहिलो दिन वाले मलाई पवटी पुर्याउने भए । जाँच बिहानको ११ वजे देखि थियो । हामी बिहानै सात वजे भात खाएर ओरालो लाग्यौ ।
आज के को जाँच?
नेपाली ।
भोली ?
अग्रजी ।
तंले नेपाली कतिको पढेको छस् ?
अलि अलि ।
अंग्रजी नी ?
अलि अलि ।
हिसावको कहिले हुन्छ नी ।
पर्सी ।
अनि हिसाव तंलाई कस्तो आउँछ नी ?
अलि अलि ।
तंलाई सबै कुरा अलि अलि आउँछ खान चाही किन टन्ने खाको ?
पवटीमा पुग्नु मेरो गाउँबाट ओरालो, ओरालो अनि फेरी ओरालो बाटो झर्नु थियो । बाटोमा बा अघि अघि मेरो इन्टरभ्यु लिदै थिए । म पछि पछि एन्सर दिदै थिएँ । कहिले कही त बाको प्रश्न सुनेर बिचैमा घरतिर फर्केउ कि जस्तो पनि लाग्थ्यो । फेरी त्यो राम्रो समाधान पनि थिएन ।
ठूलो स्कुल धेरै बिद्यार्थी । बल्ल बल्ल परिक्षा कोठा थाहा पाइयो । त्यत्रो संख्यामा बिद्यार्थी । हेर्दै अचम्म । हामी पढ्ने कक्षा कोठामा तीन जना । त्यसमा पनि कहिले कही साथीहरु नआउँदा दुई जना मात्रै । जाँचको कक्षाको बिद्यार्थी त कति हो कति । मलाई लाग्यो यति धेरै बिद्यार्थी पनि रैछन् । मेरो पुरै गाउँमा यति धेरै बिद्यार्थी छैनन् कि ?
यति धेरै बिद्यार्थी । बल्ल बल्ल थाहा पाएको कोठामा पस्ने बित्तिकै केही असजिलो भो । बाले ढोका सम्म छाडेर बाहिर बसे । त्यसो नभएको हुदो हो त म भाग्थे कि ?
 बसेर कहिल्यै जाँच दिएको थिइन । पहिलो दिन अचम्मै लाग्यो । जता हेर्यो त्यतै मान्छे । स्कुल बिल्डिङ नै १२ वटा । म पढेको स्कुलमा एउटा मात्र माटोले बनाएको जस्तापाताले छाएको छाप्रो थियो । बस्नको लागि मेच टेबल थिएन । बिकल्पमा घरैबाट सानो पिर्का बोकेर जानु पथ्र्यो । पछि पछि भने कक्षा कोठाको झ्याललाई ओछ्याएर राम्रो बस्ने ब्यबस्था गर्यो । अझ राम्रो बनाउन दुई छेउमा ढुङ्गाको खुट्टा बनायौ । अनि हाम्रो ब्यबस्थित तरिकाको झ्याले बेन्च बन्यो । तर पवटीमा त्यसतो थिएन । मज्जाको फलामको मेच थियो ।
को काँ बस्ने भन्ने ब्यबस्था पहिले नै भित्तामा कागजमा लेखेर टाँसिएको थियो । मसँग पवटी स्कुल भन्दा पनि अझ तल दियालेखर्कको बिद्यालयको केटी परिन् । पहिलो दिन नेपाली जसो तसो चल्यो । तर मलाई लाग्यो म नजान्ने भनेको म भन्दा पनि नजान्ने त तिनी पो परिछन् । जे कुरा पनि थाहा नभएको सोधि रहने । बल्ल बल्ल जाँच सकियो । बा ढोका अघि नै थिए ।
तिनले सोधे कस्तो भो ?
राम्रो । मेरो एक शब्दको उत्तर ।
राम्रै त लेखिस् ?
बालाई मेरो जवाफमा शंका लागेछ । हो राम्रो भो । सोधेको सबैको उत्तर लेखेको छु ?
भोक लाग्यो ?
बल्ल बाले सही कुरा सोधे झै भो । आफुलाई यत्रो धेरै मान्छेको बिचमा पस्दा पस्दै के भाको भाको जस्तो लागेकोथ्यो । प्रश्न आए पछि थाहा भो भोक लागेको रैछ । अनि यत्रो बेर खेपेर बल्ल निस्किदै गर्दा बाले गरेको कुरा मज्जा लागेर आयो ।
लाग्यो ।
लु हिन उता पसल छ चिउरा खालास् ।
अरु बेला बाले खालास भनेको चिउराको अर्थ अर्कै हुन्थ्यो । आज राम्रै हो । त्यसैले बाको पछि पछि हिडियो । बेलुकी मात्रै घर आइ पुगियो । बिहान हिडेको मान्छे । बेलुकी झन्डै मान्छे नचिन्ने भए पछि मात्रै पुगिने । चिउरा चपाएर लागेको उकालो घरैमा आए पछि मात्रै सकिने । उकालोको उकालै ।
अर्को दिनको हिजो झै । बिहान उठ्यो । पढ्नु चिट बनाउनु त्यस्तै हो । कुद्नुको हतारो छ । खाना खाएर बा अघि अघि लम्किए । म फुच्चे पछि पछि ।
उनि आफ्नो तालमा हिडका छन् । केही नसोधुन भन्ने आफुलाई लागेको छ । आज संसारकै गार्यो बिषय अग्रेजीको जाँच हो । आफुलाई फुट्टो आउँदैन । न हेडमास्टरको नाम लेख्न आउँछ न प्यारेन्टको नाम लेख्न आउँछ । स्कुलको नाम आउने कुरै भएन । हुँदा हुँदा काजी मात्रै लेख्न आउँछ सानो लेख्न आउँदैन ।
पाँच कक्षामा फेल हुनु भन्दा पहिले मेरो नाम सानोकाजी थियो । किन त्यस्तो नाम राखेका हुन् मलाई थाहा भएन । म जे थिएँ त्यही सानोकाजी थिए । सायद काजीको राम्रै हैकम चल्ने भएकोले बाले राखेका हुन् कि ? तर त्यसो नहुनु पर्ने हो ती बा काजीलाई साह्रै मान्दैनथे । सामान्ती भन्थे । त्यसैले म कसरी सानोकाजी भएँ त्यो थाहा भएन । जे हास् म सानो काजी थिएँ ।
मलाई तामाङ अग्रेजीमा लेख्न आउँथ्यो । काजी पनि लेख्न आउँथ्यो । तर सानो लेख्न आउँदैनथ्यो । कसरी लेख्ने लेख्ने ।
तेरो आज केको जाँच रे ?
अग्रेजीको ।
तंलाई कतिको आउँछ ?
..................
भने पछि तंलाई आउँदैन ?
खै अलि अलि आउँछ ।
के आउँछ ?
ए बि सि डि............ जेड ।
अनि अरु ?
ओएनई वान, वान माने एक । टीडब्लुओ टु, टु माने दुई ।
ए राम्रै छ कि के हो ?
मलाई गीत गाउन मात्र आउँथ्यो । लेख्नेमा भुत्तो भाङ्गो नआउने । बाले सम्झेछन् राम्रै रैछ केटोको अग्रेजी ।
जाँच हलमा छिर्न मन थिएन । मलाई थाहा थियो लेख्न आउने कुरा थोरै थियो । अरु त अरु आफ्नै नाम लेख्न नसक्नेलाई अरु के थाहा हुने र ? पस्नु पर्यो । कपि आयो । अरुले के लेखे जेहोस् लेखे । मैले त केही पनि लेखिन । चुपचापै बसि रहेँ । कोइसन आयो । कोइसन पढेको जस्तो गरेँ । आउने केही होइन । के कुन कता लेख्ने पत्तो छैन ।
अघि पछि सबै तिर हेरेँ । छेउमा बस्ने केटीले साधि तिमी कति नम्वरको कोइसन गर्छौ ?
तिमी चाही कतिको गर्छौ नी ? उल्टो प्रश्न पल्टाइदिएँ । अलि हल्का भो । अनि बल्ल नाम लेख्ने प्रयास गरेँ । काजी तामाङ मात्रै आउँछ अरु मरि गए आउँदैन । गर्ने के हो ? काजीको पाजी दिमाग चल्यो । कता कताबाट एउटा कुरा सम्झेँ । हामीले एउटा कथा पढ्नु पथ्र्यो । स्मल हाउस र क्रो भनेर । बासु मास्टरले एसएमएएलएल स्मल, स्मल माने सानो भनेर पढाएको कता कताबाट सम्झिएँ ।
सोचे स्मल माने पनि सानो अनि म यसै उसै सानो । स्मलै लेखे के हुदो हो ? ठीकै हुदो हो स्मलकाजी लेखे त आखिर माने पढ्यो भने त सानो काजी न हो । एक घन्टा जति टाइम लागाएर काइते जुक्ति निक्लियो । मैले गार्हो मानेर लेखे नेम लेखेको ठाउँमा स्मलकाजी । अरु त केही लेखिन ।
छेउकी केटीसँग सोध्ने मन पनि भएन । यो थाहा पाएपछि बाले के गर्ने हुन् डर भो । अनि खाली कपि बोकेर बुझाएँ । बालाई केही सोधेनन् । चिउरा ख्याए । उकालो हिडाए ।
रिजेन्ट आयो फेल भाको । बालाई मदेखेर भन्दा पढाउने मास्ट रिस उठेछ । गएर सोधेछन् केमा फेल भो ? नाम डवल लेखेछ । मास्टरले उत्तर दिएछन् । के लेखेछ ? स्मल काजी ।


Tuesday, September 4, 2012

Bird photos Exhibition in Nepal

नेपालमा अहिले सम्म आठ सय एकहत्तर थरि चरा पाइन्छन् । त्यस मध्ये झन्डै डेढ सय जति चरा खतरामा छन् । यसलाई बचाई राख्नको लागि समयमै जनचेतना बढाउनु पर्छ । यस्तै जनचेतनाको प्रयास भने सुरु भएको छ । यो भिडियो त्यसैको प्रयास मध्ये एउटा हो । 

Hyai song a cultural documentary

A cultural documentary coming soon......................