Saturday, April 2, 2011

हेरिदिने कोही नभएको गुराँसे

म त लाली गुराँस भएछु
मनै भरी फूली दिन्छु
वनै भरि फूली दिन्छु ।
क्षेत्रप्रताप अधिकारीले लेखेको र नारायणगोपालले गाएको चर्चित गुरासे गीत त्यस्सै लेखेको होइन रहेछ भन्ने लाग्छ सुर्खेत र दैलेखको सिमनामा पर्ने गुरासे पुगेपछि । यो ठाँउमा लालीगुरास फुलेर ढपक्कै भएको छ । त्यसैले स्थानिय मानिसले धेरै गुराँस भएकोले ठाँउ नाम नै राखे गुराँसे । तर यो ठाउँको चर्चा कहिल्यै र कतै सुनिन्न ।

यहाँबाट गुराँस मात्र होइन गुराँससँगै देखिने हिमालका दृश्यले पनि मन लोभ्याउँछ । यति धेरै गुरास यी दुबै जिल्लामा फुल्दैनन् । काम बिषेशले काठमाडौबाट आएका सञ्चारकर्मी भिम आत्रेय पनि गुराँसेको सुन्दरताले लठ्ठ परेको बताउँछन् । राजधानी वा अन्य बजारको छेउमै भएको भए यो ठाँउको चर्चा र कुरा धेरै हुने थियो तर यहाँ कसैले यति रमाइलो ठाँउको बारेमा चर्चा गर्दैनन् । अनि सुर्खेत आइ पुगेकै बेलामा पनि कसैले लौ गुरासे घुम्न जाऔ नत भन्दैनन् । म पनि पहिलो पटक यहाँ आइपुग्दा पो छक्क परे जता हे¥यो त्यतै गुराँस ।

स्थानिय मानिस पनि अरु ठाँउको गुराँसको कुरा सुनेर अचम्म पर्छन तर आफ्नो ठाँउको बारेमा केही कतै कुरा नसुन्दा अचम्म लाग्छ रे । गुराँसेमै होटेल चलाएर बसेका राम बोहोरालाई । कति धेरै ठाँउमा एक दुई वटा गुराँसका रुख हुदैमा हल्ला गरेरै भएपनि मानिसहरुको मनमा गुरासै गुराँस होला भन्ने बनाउँछन् तर हाम्रोमा झण्डै तीन वटा गाबिस भरि नै फैलिएको गुरासे जंगलको चर्चा हुदैन । गुराँस पुर्बमा मात्र धेरै हुन्छ भन्ने भएर पनि यस्तो भएको हुन सक्छ । उनले गुनासो पोखे ।

पातिकान्ला सामुदायिक वनमा सबै भन्दा धेरै गुराँस फूल्छ । वन सञ्चालक समितीकी सदस्य हरिमाया सारु जंगलमा फूल्ने गुराँसबाट स्थानिय मानिसले केही फाइदा नगरेको सुनाउँछिन । अरु धेरै ठाँउमा गुराँसको जुस बनाएको पनि सुनिन्छ । गुरास फूलेकै हेर्न आउनेको पनि घुइचो हुने सुनेका छौ तर हाम्रोमा फूल्ने गुराँस फूल्छ र झर्छ । यसको सुन्दरता हेर्ने पनि कोही छैन । उनलाई सिप जाने जुस बनाउने सोच भने आउँदो रहेछ । जुस बनाइन्छ स्वास्थ्यको लागि राम्रो हो भनेको सुनेको छु कसरी बनाउने भन्ने थाछैन । जाने बनाउनु हुन्थ्यो ।

विश्व भरि सात सयको हाराहारीमा गुराँसका प्रजाति पाइन्छन् । नेपालमा भने ३२ प्रजाति मात्र पाइन्छ । यस मध्ये गुरासको राजधानी भनिने तीनजुरे मिल्के जलजले क्षेत्रमा सबै भन्दा बढि २८ प्रजातिको पाइन्छ । पहाडि क्षेत्रमा पाइने गुराँस १२ सय मिटर देखि ३ हजारको हाराहरीमा गुराँसका प्रजाति पाइन्छन् ।

धेरै बर्षमा थोरै बड्ने गुरासका रुखहरु १५ मिटर सम्म अग्लो हुन सक्छ । यस्ता अग्ला रुख यो ठाँउमा पनि धेरै छन् । गाइबाध्ने गुरासेकी झप्पी पुनलाई भने गुरासको प्रयोग धेरै कुरामा हुन सक्छ भन्ने हेक्का छैन । हामीले त दाउरा र पतकर लिने हो । अरु कुरा के के हुन्छ हामी जान्दैनौ । अझ आज भोली त सामुदायिक वन भएपछि समितीले भनेको समयमा मात्र घरयासी प्रयोगका लागि गुराँसको प्रयोग गर्न सकिन्छ ।

अधिकारीकै गीतको अंश सापट लिने हो भर्ने हेरि देने कोही भैदिए आँखा भरि फूली दिन्छु । लाइ दिने कोही भइदिए सिउँदो भरि फूली दिन्छु ।’ तर यहाँको गुराँसलाई भने नत हेरि दिने कोही छन् न त लाई दिने नै । बिदेशी पर्यटक मात्र होइन पश्चिम अञ्चलको क्षेत्रीय सदरमुकाम सुर्खेत पुगेका नै मात्र केही समयको लगि गुराँस हेर्न गुरासे पुग्ने हो भने पनि स्थानिय मानिसको जीवनमा गुराँसले केही परिवर्तन गर्न सक्थ्यो । अनि एउटा रमाइलो ठाउँ बन्न सक्थ्यो गुरासे ।