Monday, September 13, 2010

मोबाइल भावना

मोबाइल भावना

न फाल्न मिल्छ
न बाल्न मिल्छ
भएर पनि बेखुशी
नभएर पनि बेखुशी
मोबाइल फोन ।

राती बिउँझेछु
तिम्रै सपना थियो
यसो मोबाइल हेरे
तर केही थिएन खाली थियो
कति निष्ठुरी है तिमी
मैले खोजेको
जाबो मिस कल न हो
त्यो पनि दिएनछौ ।

हर चोटी उस्तै धुनको
मोबाइल बज्दा
सधै मलाई तिम्रै मिसकल हो कि
झै किन लाग्छ हँ ।

जब म तिमीलाई
कल गर्छु तिम्रो
फोन ब्यस्त छ भन्छ
त्यसमा मलाई
एउटा भाला रोपेझै हुन्छ
बेकार मै ।

एउटा कुरा सुनिनु पर्ने
अर्कै कुरा सुनिन र
नसुनिन पनि सक्छ
वा सम्पर्क हुन सकेन
वा अरु केही
जेहोस गर्न खोजेको कुरा हुन्न
अरु कुरा हुन्छ नेपाली फोनको बिशेषता ।

सेतो बादल

सेतो बादल

म बादलको एक भाग
सेतो रंगको
सुर्यको प्रकाशसँगै परिबर्तन भैरहन्छु
कहिले रातो, निलो,प्याजी वा त्यस्तै बैजनी रंगमा
बिहान, दिउसो र बेलुकी ।

लाग्छ यो सबै रंगमा मैहुँ
फरिएको त मेरो जवानी हो
मान्छेका जातिमा बच्चा,युवा र बृद्धा भए झै

जव छाड्छ सुर्यको प्रकाशले
मेरो रङ्गीन समय सकिन्छ
फेरी म त्यही सेतो बादल बन्छु ।

मेरो रङ्गीन समय
सकिन्छ
एकै छिनमा भनौ १२ घन्टैमा ।

फेरी म त्यही
एक भाग सेतो बादल
फेरी रङ्गीन बन्ने सपना बुन्दै
प्रतिक्षा उदाउने सुर्यको ।

Sunday, September 12, 2010

छोटो कबिता

मौसम नभएको बेलैमा
फूल्नु हुन्न नत्र
दुनियाले भन्छन देखाउदै हेर बेमौसमी ।

भमराहरु झुमिन्छन्
कोपिला मै
तेरो भाग र मेरो भागको हिसाबकिताबमा ।

धेरै भयो कुरा
चौतरी र दोबाटोमा
फुल्न नपाई नै झर्न थालेका
फूलका ।

गजल

छेक बार चाहिदैन हराउनलाई मान्छे
केही चिहुँ चाहिदैन कराउनलाई मान्छे ।

देउता भुत कहाँ हुन्छ युग कम्प्युटरमा
रातको रुख काफी हुन्छ डराउनलाई मान्छे ।

छिटोछिटो छरितो त कुरा मात्रै कामको
मुखमै शब्दकोष हुन्छ अराउनलाई मान्छे ।

मोबाइल छ ल्यापटप छ बोकी राको सधै
भनिदिन्छ कनेक्ट छैन हराउनलाई मान्छे ।